+
+
एक इनिङमा दुई शतक :

अनिलसँग आज भीम थिए

‘हरेक बलमा कसरी फोकस लिएर आउने भनेर भीमले कुरा गरिराखेको थियो । त्यसले गर्दा एकदमै सहयोग मिल्यो । आज मेरो हरेक बलमा फोकस थियो’, अनिलले खेलपछि भने ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ २९ गते २१:३५

२९ माघ, काठमाडौं । घरेलु क्रिकेट होस् वा अन्तर्राष्ट्रिय, राम्रो सुरुवात पाइसकेपछि पनि विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साह आउट भइहाल्छन् ।

दुई वर्षपछि नेपालको सिनियर टिममा पुनरागमन गरेका अनिलले शनिबार पनि क्यानडाविरुद्ध दोस्रो एकदिवसीयमा १९ बलमै अर्धशतक पूरा गरेका थिए । तर समस्या फेरि त्यही, अर्धशतक प्रहार गरेको अर्को बलमा नै फ्रन्ट फुटमा आएर खेल्न खोज्दा एलबीडब्लू आउट हुँदै ठूलो इनिङ खेल्ने अवसर गुमाए ।

प्रधानमन्त्री कपमा पनि मधेश प्रदेशबाट खेलेका उनी ३८६ रनका साथ सर्वाधिक रन बनाउने ब्याटर बने । तर उनको नाममा एउटा मात्र शतक रह्यो । गण्डकीसँग १२७ रनको शतकीय इनिङ खेले । कोशी प्रदेशविरुद्ध ८८, सुदूरपश्चिमविरुद्ध ६९ र कर्णाली प्रदेशविरुद्ध ४४ रनमा आउट भए । उनका अनुसार प्रधानमन्त्री कपदेखि नै बीच–बीचमा फोकस आउट हुने समस्या देखिएको थियो ।

तर सोमबार त्यो समस्या देखिएन । नेपालले पाएको २३३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अनिलले भीम सार्कीसँग १८९ रनको अविजित साझेदारी गरे । यो कुनै पनि विकेटका लागि ओडीआईमा नेपालबाट बनेको उच्च साझेदारी थियो ।

अनि, दुबैले शतक पूरा गरे । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक एकै इनिङमा दुई शतक बन्यो । भीम १२९ बलमा ११ चौका र एक छक्कासहित १०१ रनमा अविजित रहँदा अनिलले अविजित ११२ रन बनाए । १२४ बलको सामना गरेका उनले १२ चौका र २ छक्का समेत हानेका थिए ।

धेरै खेलमा ५० पछि आउट हुने गर्नुभएको थियो, आज चाहिँ के थियो भन्ने प्रश्नमा अनिलले सहज जवाफ लिए, ‘५० पछि मसँग भीम थियो, अरु केही थिएन ।’

अनिल सिनियर भएपनि भीम पछिल्लो समय राष्ट्रिय टिमका नियमित सदस्य थिए । उनका अनुसार भीमले उनलाई निरन्तर एउटै कुरा भनिरहेका थिए, बलको मेरिटमा खेलौं, जे हुन्छ, हुनदिनू ।

‘हरेक बलमा कसरी फोकस लिएर आउने भनेर भीमले कुरा गरिराखेको थियो । त्यसले गर्दा एकदमै सहयोग मिल्यो । आज मेरो हरेक बलमा फोकस थियो’, अनिलले खेलपछि भने ।

भीमले बदलेको गति

सोमबार नेपालले नियमित ओपनर आसिफ शेखलाई विश्राम दिएको थियो भने कुशल भुर्तेल टिममा फर्किएका थिए । तर उनी १३ रनमा हेलिगरको बलमा बोल्ड आउट भए । त्यो समय नेपाल ४.५ ओभरमा ४५–१ को अवस्थामा थियो ।

त्यसपछि अनिल र भीमले गज्जबको ब्याटिङ गरे । अनिल आक्रामक ब्याटिङ गर्दा अर्कोतर्फ भीमले इनिङ विकासको खेल खेले । ३२ औं ओभरमा १५० रन पूरा नहुँदासम्म दुबै ब्याटरले सिंगल डबलमा ध्यान दिएका थिए । त्यो बेला अनिल ७७ र भीम ५२ रनमा अविजित थिए । त्यसपछि भीमले आफ्नो शैली परिवर्तन गरे ।

३४ औं ओभरमा स्वीपका साथ हर्ष ठाकेरलाई दुई चौका हाने । ३८ औं ओभरमा हर्ष ठाकेरलाई एक चौका र छक्का हानेपछि ८८ रनमा रहेका अनिललाई भेट्टाए ।

४० औं ओभरको तेस्रो बलमा निखिल दत्तलाई चौका हानेपछि अनिललाई ९२ रनमा छाड्दै भीम ९६ मा पुगे ।

४१ औं ओभरमा उदय भगवानको पहिलो बलमा एक रन जोडेपछि भीम शतकका लागि मात्र ३ रन टाढा रहे । तर त्यसपछि लगातार दुई चौका हान्दै अनिलले ११६ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हाने ।

भीमको शतकमा अनिलको साथ

त्यसपछि शतक हान्ने पालो भीमको आयो । तर शतकमा पुग्न उनले केहीबेर संघर्ष गर्नुपर्‍यो । त्यो बेला अर्को एण्डमा रहेका अनिलले चाहेको भए चौका र छक्का हानेर खेल अन्त्य गर्न सक्थे । लगातार तीन चौका हानेपछि नेपाललाई जितका लागि ११ रन चाहिएको थियो । तर अनिलले त्यसो गरेनन्, भीमलाई साथ दिए ।

लगातार दुई बल डटका साथ भीमलाई ४२औं ओभर खेल्न दिए । अनिलको त्यो निर्णयलाई समर्थकले तालीका साथ सम्मान गरे । तर त्यो ओभरमा भीमले रन जोड्न सकेनन् ।

त्यसपछि अनिलले एक रन लिंदै पुनः भीमलाई शतकको अवसर थिए । दुई खेलाडीको शतक हेर्न टिकट नकाटेका दर्शकलाई अन्तिम समयमा निःशुल्क प्रवेश दियो ।

४४ औं ओभरको अन्तिम बलमा १ रन बटुल्दै भीमले १२७ बलमा शतक पूरा गरेका थिए ।

भीमको यो करिअरको पहिलो शतक हो ।

२०२३ जुनमा जिम्बाब्बेको हरारेमा अमेरिकाविरुद्ध ७७ रन बनाएपछि भीमले नेपालबाट एकै खेलमा २५ रन पार गर्न सकेका थिएनन् । क्यानडासँगको सुरुवाती दुई खेलमा भीम १७ र २३ रनमा आउट भएका थिए । पछिल्लो पटक राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप आर्मीबाट खेलेका उनले १० खेलमा जम्मा १५६ रन बनाएका थिए ।

त्यसलाई बुझेर भीमलाई शतक पूरा गर्न दिएका अनिलले खेल सक्न समय लगाएनन् । उदयको ४५औं ओभरको तेस्रो बलमा डिप मिडविकेटमा सुन्दर छक्का हान्दै अनिलले खेल अन्त्य गरे ।

भीमका अनुसार ४० रन बनाएपछि अनिलसँग लामो इनिङ्स खेलेर दुवै जना नटआउट रहने सल्लाह भएको थियो । ‘उहाँको नेचुरल ब्याटिङका साथ सकारात्मक सोचले नै खेल्नुहुन्छ । त्यसैले दाइसँग खेल्दा एकदमै सहज भयो’ खेलपछि भीमले भने, ‘बोर्डमा रन पनि त्यति धेरै छैन । केही पनि दबाब थिएन ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?