+
+

हुम्लामा वार्षिक परीक्षा सकियो, विद्यालयमा हिउँदे बिदा

रासस रासस
२०८० पुष २९ गते १०:४५

२९ पुस, सिमकोट (हुम्ला) । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।

जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताए ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस-माघमा बिदा दिने चलन छ । तर, यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उनले बताए ।

जिल्लाभरि १५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा १४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् ।

एकाइका निमित्त प्रमुख खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् । तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक-एक आधारभूत विद्यालय छन् ।

जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?