+
+

अनलाइन सेवाको गृहकार्यमा त्रिविको पनिका, प्रमाणपत्र घरमै पुर्‍याइदिने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते ११:०१
बल्खुस्थित त्रिविको पनिकामा प्रमाणपत्र लिन लाइन लागेका विद्यार्थी ।

२९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश काम घरमै बसीबसी अनलाइन माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाउँदै छ । ट्रान्सकृप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्ने, रिटोटलिङ गर्ने लगायतका अधिकांश काम अनलाइन माध्यमबाट गराउने तयारी छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यसका लागि सबै तयारी पूरा भएको छ र जनशक्ति व्यवस्थापनको काम बाँकी छ । ‘परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आएर लाइन लागेर गर्नुपर्ने अधिकांश काम अनलाइनमार्फत् गर्ने भनेर एक वर्षदेखिको तयारी थियो, अब त्यसको शुभ समाचार केही दिनमै दिन्छौं,’ उनले अनलाइनखबरसँग भने ।

हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैं उपस्थित भएर बैंकमा पैसा जम्मा गर्नेदेखि फारम भरेर बुझाउने गर्नुपर्ने बाध्यता छ । अन्य सरकारी र निजी संस्थाहरुमा अनलाइनबाटै सबै काम हुने व्यवस्था भए पनि परीक्षा नियन्त्रण कार्यालयमा पुरानो र झन्झटिलो पद्धती नहट्दा विद्यार्थीहरु आजित हुँदै आएका छन् । कतिपय यही कामका लागि बिचौलियाको भर पर्नुपर्ने बाध्यता समेत छ ।

विद्यार्थीलाई परेको मारबाट आफूहरु जानकार रहेको भन्दै परीक्षा नियन्त्रक जोशीले सूचना प्रविधिको उच्चतम उपयोग गरेर अनलाइन सुविधा सहितको सेवा प्रवाह गर्न जनशक्ति व्यवस्थापनको काम भइरहेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अनलाइनबाट सेवा प्रवाह गर्न हामीलाई २० जना जति प्राविधिक जनशक्ति चाहिएको छ, ७ जना हामीसँगै छन्, अरु बाँकी जुटाइदिनुस् भनेर विश्वविद्यालयलाई भनेको छु । त्यसका लागि काम भइरहेको छ ।’

अनलाइनको माध्यमबाट काम भए ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने र ती कामका लागि बैंकमा रकम जम्मा गर्ने लगायतका सबै काम विद्यार्थीहरुले घरमै बसीबसी गर्न सक्ने जोशीले बताए ।

यस का लागि अहिलेसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुले गरेका काम र गर्न बाँकी कामको बारेमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई आज ब्रिफिङ गर्न लागिएको बताए ।

सक्कली प्रमाणपत्रमा भने विद्यार्थी आफैं उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने विद्यमान व्यवस्था भएकाले त्रिविको कार्यकारी परिषदले त्यो गाँठो फुकाइदिनुपर्ने उनको भनाइ छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा कर्मचारीले प्रमाणपत्रमा टाँस्ने विकल्प आफूहरुसँग रहेको भन्दै जोशीले त्यसका लागि कार्यकारी परिषद्ले निर्णय गरिदिनुपर्ने बताए ।

विद्यार्थीको घरमै प्रमाणपत्र पुर्याइदिने लक्ष्य

परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले माग गरेका प्रमाणपत्र उनीहरुको घरसम्मै पुर्याइदिने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको जोशी बताउँछन् । त्यस कामका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु र यसअन्तर्गत नेपालगञ्ज, अत्तरिया, पोखरा, विराटनगर र जनकपुरस्थित कार्यालयमा पनि पूर्वतयारीका काम अघि बढेको जोशीले बताए ।

‘हाम्रो योजनाअनुसार काम भएमा विद्यार्थीको प्रमाणपत्र उनीहरूको घरसम्मै पुर्याइदिने व्यवस्था हुन्छ,’ जोशीले भने, ‘त्यो दीर्घकालीन लक्ष्यसहित काम गरिरहेका छौं ।’ त्यसका लागि हुलाक कार्यालयसँग पनि समन्वय गरेर काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?