+
+

त्रिविमा विद्यार्थीलाई प्रमाणपत्र लिनै सास्ती

‘काठमाडौं आएको मौकामा बहिनीको ट्रान्सक्रिप्ट पनि लिइदिऊँ भनेर यहाँ आएको तर यहाँको अवस्था देखेर दिक्दार लाग्यो’, बाँकेका राकेश चन्दले भने । दस्तुर बुझाउने ठाउँमा एक घण्टा र फारम बुझाउने ठाउँमा ४५ मिनेट उभिनुपरेको उनले सुनाए । प्रमाणपत्र लिन आएका धेरैले अनलाइन प्रणाली सुरु गरेको भए धेरै सहज हुने बताए ।

नुनुता राई नुनुता राई
२०८० मंसिर ११ गते १७:०९

११ मंसिर, काठमाडौं । आइतबार दिउँसो साढे २ बजे परीक्षा नियन्त्रण कार्यालय, बल्खुको गेटमा भेटिएका दिनेश कार्की स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्नका लागि हतारिंदै फारम भर्न आइपुगेका थिए ।

ट्रान्सक्रिप्ट लिनका लागि दस्तुर बुझाउने बैंक काउन्टर ३ बजे बन्द हुने सुनेका उनले हतारकै बीच भने, ‘कम्तीमा अनलाइनबाट काम हुने भए यति सास्ती त हुँदैनथ्यो !’

त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर पास गरेका देशभरका विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसन, रजिष्ट्रेशन कार्ड लगायत प्रमाणपत्र लिन काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्छ । बैंकमा रकम बुझाउन सम्बन्धित कामका लागि भरेको फारम पनि भौचरसँगै बुझाउनुपर्छ । त्यसपछि उक्त फारम र बैंकमा रकम जम्मा गरेको भौचर तोकिएको कोठा नम्बरमा बुझाउनुपर्छ ।

सम्बन्धित प्रमाणपत्रको लागि फारम भर्न, बुझाउन, बैंकमा दस्तुर बुझाउन पटक–पटक लाइन लाग्नुपर्छ । त्यसपछि प्रमाणपत्र पाउन एक हप्तादेखि १५ दिनसम्म पर्खनुपर्छ । त्रिविको यस्तो झञ्झटिलो प्रक्रियाका कारण विद्यार्थीले सास्ती भोगिरहेको बताउँछन् ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडका एक्सटेन्सन काउन्टर छन् । बैंक दस्तुर तीमध्ये जुन बैंकमा बुझाए पनि हुन्छ । विद्यार्थीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरको नेपाल बैंक लिमिटेडको शाखामा पनि रकम जम्मा गर्न सक्छन् । दस्तुर बुझाउने ठाउँमा मात्रै एकदेखि डेढ घण्टासम्म लाइन लाग्नुपर्ने विद्यार्थीहरू बताउँछन् ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुमै भेटिएकी भक्तपुरकी एलिसा साखः तेस्रो पटक प्रमाणपत्रको लागि बल्खु आएको बताउँछिन् । पहिलो पटकमा ट्रान्सक्रिप्टको फारम बुझाउन, दोस्रो पटकमा ट्रान्सक्रिप्ट लिन र तेस्रो पटक माइग्रेसनको लागि फारम बुझाउन उनी बल्खु आएकी थिइन् । एलिसाले एउटा पत्र देखाउँदै भनिन्, ‘यसमा क्याम्पसको छाप र क्याम्पस प्रमुखको हस्ताक्षर गराएर बुझाएपछि मात्रै माइग्रेसन पाउने मिति तय हुन्छ रे !’

पटक–पटक कार्यालयमै धाउनुपर्दा हैरान भएको उनले बताइन् । फारम भर्न, दस्तुर बुझाउन मात्रै अनलाइन सिस्टम बनाउने हो भने विद्यार्थीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ । भन्छिन्, ‘सबै कुरा अहिले नै अनलाइनमा जान नसकिए पनि फारम भर्न र दस्तुर बुझाउने त बनाउन सकिन्छ नि ! त्यति मात्रैले पनि धेरै हल्का हुन्छ । सबै कामका लागि यहीं आउनैपर्दा हैरान हुन्छ ।’

ट्रान्सक्रिप्ट निकाल्नको लागि रजिष्ट्रेसन कार्ड अनिवार्य हुनुपर्ने नियम हुँदा दुःख पाएको गुनासो गर्दै रजिष्ट्रेसन कार्डका लागि फारम भरिरहेका थिए, लक्ष्मण विष्ट । मार्कशिटमा भएको रजिष्ट्रेसन नम्बरले हुनुपर्ने उनको तर्क छ । सवा १२ बजेदेखि ट्रान्सक्रिप्टको लागि फारम बुझाउने लाइनमा उभिए । उनको पालो आउँदा १ बज्यो । कर्मचारीहरू खाजा खान गए । सवा दुई बजे कर्मचारी आइपुगे । फारम लगायतको कागजात बुझाउँदा रजिष्ट्रेसन कार्ड पनि अनिवार्य भनियो ।

जबकि ट्रान्सक्रिप्ट निकाल्न मार्कशिटको फोटोकपी बुझाउनुपर्ने नियम छ । मार्कशिटमै रजिष्ट्रेसन नम्बर उल्लेख भए पनि रजिष्ट्रेसन कार्ड नभई नहुने नियम छ । रजिष्ट्रेसन कार्डको प्रतिलिपि निकाल्नका लागि फारम भरिरहेका लक्ष्मण विष्ट भन्दैथिए, ‘त्यो नम्बर अनुसार विद्यार्थीको रेकर्ड हुने भएपछि किन कार्ड नै चाहिने हो अचम्म छ ! ३ बजेसम्म मात्रै हो रे, फारम बुझाउने यत्रो लाइन छ, आज भ्याइएला जस्तो छैन !’

सामान्यतया विद्यार्थीलाई रजिष्ट्रेसन कार्ड सम्बन्धित क्याम्पसले नै दिने गरेको छ । तर कतिपय क्याम्पसले भने सिफारिस पत्र दिएर बल्खु नै पठाउने गरेको पाइन्छ ।

मोरङ, पथरीकी सन्जया तामाङ क्याम्पसको सिफारिस पत्र लिएर रजिष्ट्रेसन कार्ड, माइग्रेसन प्रमाणपत्र, ट्रान्सक्रिप्ट लिन बल्खु पुगेकी थिइन् । रजिष्ट्रेसन कार्डको लागि फारम भरिरहेकी सन्जयाले भनिन्, ‘सरले यो लिएर बल्खु जानू त्यहीं सबै दिन्छ भन्नुभएको थियो । यहाँ आएर यो सिफारिस पत्र देखाएपछि यो फारम भरेर बुझाउनु भन्नुभएको छ ।’
बल्खुको भीडभाड, जताततै लाइन देखेर आत्तिइरहेकी सन्जया साथीलाई सोध्दै थिइन्, ‘कति वटा फारम भर्नुपर्ने हो ? माइग्रेसन र ट्रान्सक्रिप्टको लागि पनि भर्नुपर्छ भन्दैछन् त !’

कोहलपुरदेखि काठमाडौं घुम्न आएको बेला बहिनीको ट्रान्सक्रिप्ट झिक्न भनेर बल्खु पुगेका राकेश चन्दले त्रिविको झन्झटिलो प्रक्रियादेखि दिक्दार भएको सुनाए । ‘काठमाडौं आएको मौकामा बहिनीको ट्रान्सक्रिप्ट पनि लिइदिऊँ भनेर यहाँ आएको तर यहाँको अवस्था देखेर दिक्दार लाग्यो ।’ दस्तुर बुझाउने ठाउँमा एक घण्टा, फारम बुझाउने ठाउँमा ४५ मिनेट उभिनुपरेको सुनाए । उनलाई ट्रान्सक्रिप्ट लिन १५ दिनपछि बोलाइएको छ ।

वीरगञ्जकी अश्मि तामाङ कक्षा १२ को माइग्रेसन प्रमाणपत्रको लागि फारम बुझाउने झ्याल बाहिर लाइनमा उभिएकी थिइन् । १५ दिनअघि अश्मि माइग्रेसन प्रमाणपत्र निकाल्न आएकी थिइन् । बल्खु पुगेपछि रजिष्ट्रेसन कार्ड विना माइग्रेसन निकाल्न नपाउने थाहा पाइन् । उनी तत्काल फर्केर वीरगञ्ज पुगिन् र रजिष्ट्रेसन लिएर आइन् ।

त्यसपछि माइग्रेसनको लागि फारम भरेको बताउँछिन् । ‘अब फेरि एक हप्तापछि मात्रै हुन्छ रे भनेको सुन्छु । त्यतिञ्जेल यहाँ के खर्चले बस्नु ! त्यो झ्यालको सरहरूले के भन्नुहुन्छ अनि भोलि घर जान्छु । बोलाएको बेला आउने त होला ! ब्याचलर पढ्नको लागि बुझाउनैपर्छ’, उनले सुनाइन् । अनलाइन सुविधा भएको भए आफूले यो हदको दुःख नपाउने उनको भनाइ छ ।

प्रमाणपत्र निकाल्न ‘सहजीकरण’ गर्नेहरू

पछिल्लो समय बल्खु परिसरमा कागजात निकाल्न ‘सहजीकरण’ गर्ने व्यक्तिहरू पनि भेट्न सकिन्छ । उपत्यका बाहिरका अथवा कामकाजी विद्यार्थी, जो बल्खुमा घण्टौं लाइन लागेर प्रमाणपत्र निकाल्न सक्दैनन् त्यस्ता विद्यार्थीको प्रमाणपत्र निकालेर ‘सहजीकरण’ गरिरहेको उनीहरूको दाबी छ । त्यसरी विद्यार्थीको प्रमाणपत्र निकालिदिए बापत केही शुल्क लिन्छन् र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछन् ।

झापा, दमकका विशाल भण्डारी (नाम परिवर्तन) स्नातक पास गरेपछि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र लिन बल्खु पुगे । त्यसपछि थाहा पाए बाहिर जिल्लाका विद्यार्थीको दुःख । काठमाडौंमै डेरामा बसेर अध्ययन गरिरहेका विशालले दुई दिन धाएपछि प्रक्रिया पूरा गरेर फारम बुझाएको १५ दिनपछि प्रमाणपत्र पाए ।

लाइनमा भेटिएका उपत्यका बाहिर घर भएका, कामकाजी विद्यार्थीले त्रिविको प्रणालीप्रति गुनासो गरिरहेका थिए । पढ्न बाहेक अन्य काममा आवद्ध नरहेका विशालको मनमा काठमाडौं बाहिरका विद्यार्थीको समस्या समाधान गर्न सहजीकरण गर्न सकिन्छ कि भन्ने उपाय फुर्‍यो । उनले आफ्नो मनमा फुरेको उपाय परीक्षणका लागि सामाजिक सञ्जाल फेसबुकमा पेज बनाएर लेखे— ‘ब्याचलर र मास्टर पास गर्नुभएको छ र त्रिविबाट सर्टिफिकेट निकाल्न समय छैन, गाह्रो भइरहेको छ भने हामीलाई सम्झनुहोस् । इक्विभ्यालेन्टको लागि पनि !’

यसमा छोडिएको सम्पर्क नम्बरमा धमाधम फोन आउन थाल्यो । त्यसपछि उनले निश्चित पारिश्रमिक शुल्क लिएर ‘सहजीकरण’ गरिरहेको बताउँछन् । पछिल्लो दुई महिनामा मात्रै करिब ३५ जनाको प्रमाणपत्रहरू लिएर दिइसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘फोन त धेरैको आउँछ । किनभने देशभरबाट यहीं आउनुपर्छ । तर सबै कागजात मगाउँदा हराउने डर, अविश्वास लगायत कारण केहीले मात्रै पठाउँछन् ।’

उनी भन्छन्, ‘खै त्रिविले किन विद्यार्थीको समस्या बुझ्दैन । अझै पनि हामीले यहीं आएर ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट निकाल्नुपर्ने हो र ?’ ‘अनलाइन माध्यमबाट उपलब्ध गराए झन् सहज हुनेथियो नि है !’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यहाँ लाग्ने दस्तुर त लाइन लागेर बुझाउनुपर्छ, तपाईं डकुमेन्ट अनलाइन बनाउने कुरा गर्नुहुन्छ !’

करिब एक वर्षदेखि दोलखाका विकेश श्रेष्ठ (परिवर्तित नाम) ले पनि विभिन्न जिल्ला तथा कामकाजी विद्यार्थीको प्रमाणपत्र निकालेर ‘सहजीकरण’ गरिरहेको बताउँछन् ।

दोलखामा स्नातक पास गरेर स्नातकोत्तर पढ्न आएका विकेशको स्नातक तहको ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र दाइले निकालिदिएका कारण बल्खुमा लाग्नुपर्ने लाइन, भोग्नुपर्ने समस्याबारे साथीको ट्रान्सक्रिप्ट निकाल्न जाँदा मात्रै थाहा पाए । कमाउँदै, पढ्न काठमाडौं आएका विकेशलाई साथीभाइ, आफन्तहरूले विभिन्न प्रमाणपत्र निकालिदिन अनुरोध गर्थे ।

एक निजी संस्थामा काम सुरु गरेका विकेशलाई उता जिल्लाका साथीभाइ तथा आफन्तको अनुरोध नकार्न नसक्ने तर सहयोग गर्दा जागिर जाने अवस्था आयो । पटक–पटक बल्खु धाउँदा कतिपयले यसलाई रोजगारीको पेशा बनाएको थाहा पाए । त्यसपछि उनले पनि जागिर छाडेर यसैलाई पेशा बनाएको सुनाउँछन् ।

उनी भन्छन्, ‘ट्रान्सक्रिप्ट, हराएको रजिष्ट्रेशन कार्ड, प्रोभिजनल प्रमाणपत्र लिनको लागि बल्खु पुग्नुपर्छ । काठमाडौं बस्नेले पनि विदा नै लिनुपर्छ झन् जिल्लाबाट आउँदा, जाँदा, बस्दा लाग्ने समय र खर्चको कुरै नगरौं !’

उनले विद्यार्थीको प्रमाणपत्र निकालिदिने र सम्बन्धित व्यक्तिसम्म कुरियर गरेर पठाइदिने गरेको बताउँछन् । त्यसबाट सामान्य खान, बस्न र पढ्ने खर्च जुटाइरहेको बताउँछन् । त्रिवि प्रविधिको विकाससँग अगाडि नबढ्दा विद्यार्थीले दुःख पाइरहनु परेको उनको भनाइ छ । उनी भन्छन्, ‘बल्खु आयो भने थाहा हुन्छ त्रिवि कहाँ छ भनेर !’

त्रिविको झञ्झटिलो प्रक्रियाका कारण बिचौलियाहरूले विद्यार्थीलाई सहज भइरहेको झापाकी सुजाता ढुंगाना बताउँछिन् । उनी भन्छिन्, ‘त्रिविको प्राथमिकतामा विद्यार्थीलाई कसरी सहज सेवा दिने भन्ने छैन । त्यो नभएपछि यस्ता बिचौलियाको सहारा लिनुपरेको छ ।’ काठमाडौं जान, आउन, बस्न लाग्ने समय, खर्चको तुलनामा बिचौलियाले लिने शुल्क सस्तो पर्न जाने भएकोले धेरै विद्यार्थीले बिचौलिया मार्फत प्रमाणपत्रहरू लिने गरेको उनको बुझाइ छ ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाटै वितरण गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयले भने विद्यार्थीको प्रमाणपत्र वितरणलाई सहज बनाउनका लागि अनलाइन प्रणाली लागू गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालका अनुसार त्रिविले अनलाइन प्रणाली बनाउनका लागि ठेक्का लगाए पनि अझै केही समय लाग्ने भएको छ । उनले भने, ‘हामीले ठेक्का दिएको कम्पनीले तीन महीनाको समय मागेको थियो । हामीले फलोअप गर्दा काम गरिरहेको तर अझै केही समय लाग्ने देखिएको छ ।’

अनलाइन प्रणाली तयार भएपछि पहिलो चरणमा त्रिविको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा र त्यसपछि क्याम्पससम्म जाने तयारी भइरहेको उनले बताए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?