+
+

बेलायतबाट श्रीमानको पुर्ख्यौली घर आएकी सञ्जिता प्याङ्खोलामै अस्ताइन्

रासस रासस
२०८० पुष २९ गते ११:३७

२९ पुस, बलेवा (बागलुङ) । सञ्जिता अधिकारी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।

सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन्  तर त्यो बाटो अब कहिल्यै नफर्किने गरी अस्ताइन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताको निधन भयो । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागे । दीपक पहिलेदेखि नै बेलायत बस्थे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लागे ।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो ।

लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्यो । ‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई’, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन् ।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका-५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन-४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो ।

सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए ।

घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?