+
+

उद्योगमा बिजुली जोडिदिएसँगै दैनिक ८ देखि ११ घण्टासम्म अघोषित लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:४७

२९ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गर्न सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ वटा ठूला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो ।

हरेक दिन पिक समय अर्थात् बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका पनि ५ बजेदेखि १० बजेसम्मको समयमा लोडसेडिङ गरिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

लाइन काट्नुअघि चाहिँ दैनिक चार घण्टाका दरले लोडसेडिङ भइरहेको थियो । तर, २४ वटा उद्योगहरुमा लाइन काटेपछि विद्युत् उपभोग घटेका कारण प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाएको थियो ।

लाइन काटिएका उद्योगहरुमा पुनः लाइन जोडिदिएलगत्तै लामो समय लोडसेडिङ सुरु भएको हो । ‘एकपटक बन्द भएपछि सिमेन्ट उद्योग पुनः तताउनै २–३ घण्टा लाग्छ, त्यसो हुँदा बिहान–बेलुका नै लोडसेडिङ हुन थालेपछि उत्पादन नराम्रोसँग प्रभावित भएको छ,’ अध्यक्ष थापाले भने ।

गत वर्ष अधिकतम् ७–८ घण्टा लोडसेडिङ हुने गरेकोमा यो वर्ष सुरुवातमै त्यसभन्दा बढी विद्युत् कटौती हुन थालेको हो ।

‘सुरुमै यति लोडसेडिङ गर्न थालेपछि यो बढ्दै गएर १४–१५ घण्टा पुग्ने हो कि भन्ने डर छ,’ नेपाल रोलिङ मिल्स एसोसियसनका अध्यक्ष शाहिल अग्रवालले भने ।

प्राधिकरणले मौखिक रुपमा जानकारी दिएर लोडसेडिङ गरिरहेको उनले बताए । ‘नियमित लोडसेडिङ हुने गरेको छ, त्यसो गर्दा प्राधिकरणले तालिका नै निकाल्नुपर्ने हो, तर निकालेको छैन,’ उनले भने ।

आफ्नो उद्योगमा दैनिक आठ घण्टा लोडसेडिङ भइरहेको रिलायन्स स्पिनिङ मिलका सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए । ‘हिजो बेलुका ७ बजेदेखि ११ बजेसम्म लाइन काटिएको थियो, आज बिहान पनि ५ बजेदेखि ९ बजेसम्म काटियो, बेलुका पनि ७ बजेदेखि ११ बजेसम्म नै लाइन काटिने जानकारी दिइएको छ,’ उनले भने ।

लोडसेडिङ नै गर्ने हो भने पनि तालिका दिएर गर्नुपर्ने उनले बताए । ‘लोडसेडिङ तालिका दिने हो भने कतिबेला उद्योग सञ्चालन गर्ने भनेर हामीले योजना बनाउन पाउँछौं, जतिबेला मन लाग्यो, त्यतिबेला लाइन काटिदिएर उद्योगीहरुलाई अप्ठ्यारोमा पारिएको छ,’ उनले भने ।

मुलुकको आन्तरिक उत्पादनले अहिलेको माग नधान्ने तर प्राधिकरणले भारतबाट आयात गरेर विद्युत् आपूर्ति गर्न नचाहेकाले लोडसेडिङ भइरहेको हो ।

अहिले पिक समयमा १७ सय ११ मेगावाट विद्युतको माग रहेको प्राधिकरणले जनाएको छ । तर, त्यसअनुसारको आपूर्ति भने मुलुकभित्र छैन ।

निजी क्षेत्रले ५३६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरणले २ सय ७२ र प्राधिकरणअन्तर्गतका कम्पनीबाट १ सय ४४ मेगावाट मात्रै विद्युत् उत्पादन हुन्छ । प्राधिरकणले भारतबाट ३२४ मेगावाट विद्युत् आयात गर्छ । यस हिसाबले अहिले प्राधिकरणले १२ सय ७७ मेवागाट मात्रै विद्युत् आपूर्ति गर्ने गरेको छ । ३ सय ३४ मेगावाट विद्युत् कम भएकाले प्राधिरकणले उद्योगहरुमा लोडसेडिङ गरिरहेको हो ।

नेपाल विद्युत् प्राधिकरणका एक उच्च कर्मचारीले उद्योगहरुमा लोडसेडिङ गर्न लागिएको स्वीकार गरे । तर, उनले यस विषयमा आफूहरुलाई बोल्ने अख्तियारी भने नरहेको बताए ।

भारतबाट विद्युत् आयात गर्दा महँगो शुल्क तिर्नुपर्ने र बिक्रीदर भने कम रहेकाले नेपाल विद्युत् प्राधिकरणले आयात गरेर बिजुली आपूर्ति गर्ने पक्षमा नरहेको उनले बताए । भारतबाट विद्युत् आदान प्रदान सम्झौताअन्तर्गत आयात गर्दा प्रति युनिट ७ रुपैयाँ २१ पैसा भारतीय रुपैयाँ अर्थात् ११ रुपैयाँ ५४ पैसा दर तय गरेको छ । त्यस्तै, भारतको खुलाबजारबाट पनि प्राधिकरणले विद्युत् आयात गर्ने गर्छ । त्यसको दर भने आयात गर्नुभन्दा एक दिन अघि मात्रै थाहा हुन्छ ।

तर, प्राधिकरणले औसत ९ देखि १० रुपैयाँका दरले नेपालमा विद्युत् विक्री गर्ने गरेको छ । भारतबाट महँगोमा किनेको बिजुली सस्तोमा बेच्नुभन्दा आयात नै नगर्ने रणनीतिमा प्राधिकरण लागेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?