 
																			१ माघ, काठमाडौं । सडकले विकासका धेरै सम्भावना खोल्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा सोमबार आयोजित बृहत गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो भेगबाट मध्यपहाडी लोकमार्ग लैजाने प्रस्ताव आफूले गरेको बताए ।
सुरुमा पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना रहेको भन्दै उनले काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर आफूले प्रस्ताव गरेको दाबी गरे ।
‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपुर उपयोग गर्नुपर्छ,’ उनले भने ।
मन्त्री डा. महतले शिवपुरी गाउँपालिका पिछडिएको अवस्थामा रहेको स्मरण गर्दै बिजुली र यातायातको सुविधा नभएको समेत उनले बताए ।
उनले भने, ‘धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरण भएको हो,०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’
महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्दै मन्त्री डा. महतले भने, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’
‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्छु,’ मन्त्री महतले भने ।
नुवाकोट जिल्लामा बजेट राम्रोसँग नपरेको भन्दै उनले डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएको समेत स्मरण गरे । पछिल्लो समय जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।
उनले ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4