+
+

भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँमाथि हातपात

माओवादीले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई सोध्यो स्पष्टीकरण

माओवादी नेता गोरखबहादुर केसीले भने आफूले नभई आफ्नो निर्माण कम्पनीमा काम गर्ने भान्सेले हातपात गरेको बताए ।

दिपेश शाही दिपेश शाही
२०८० माघ २ गते २२:०८
कुटपिटको सांकेतिक तस्वीर

२ माघ, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोली प्रमुखमाथि हातपात भएको पाइएको छ ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको हो ।

भूकम्प गएको तीन दिनपछि सोउ नेतृत्वको चिनियाँ टोली राहत सामग्री वितरणका लागि जाजरकोट र रुकुमपश्चिम पुगेको थियो । ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो भने ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका वडा १ रिम्नास्थित स्टोर बनाएर राखिएको थियो ।

त्यो राहत सामग्री वितरण गर्न चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ आफैं पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राहत वितरण गरेर स्टोर गरिएको स्थानमा सामग्रीको अनुगमनमा गएका बेलामा उनीमाथि हातपात भएको हो ।

‘के कति सामान बाँकी रहेको छ ? अझै के कति सामान पठाउने भनी स्टोर गरिएको ठाउँमा सो संस्थाकी निर्देशक सोउ सिच्याङलगायत टोली पुगेको बेलामा हातापाइ गरी लछारपछार भएको थियो’, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले भने ।

घटनाबारे उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । ‘उजुरी परेपछि हामीले अनुसन्धान गरी तीनजनाको खोजी गरेका थियौं । त्यसमध्येका एक जनालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थियौं । उनी धरौटीमा छुटेका छन्’ उनले भने, ‘दुई जना फरार नै छन् ।’

प्रति परिवार २३ हजार मूल्यको राहत सामग्री दिने भनिए पनि १० हजार मूल्यको सामान नदेखिएपछि आफूले प्रश्न उठाएको माओवादी नेता गोरखबहादुर केसीको भनाइ छ । तर चिनियाँ टोलीको नेतृत्व गरेकी महिलाले ‘मलाई यस्तो भन्ने तँ को होस्, बाहिर जा’ भन्दै धकेलेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोरखबहादुर केसी विरुद्ध उजुरी दिएको थियो । उनीहरुमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नताको आरोप लागेका केसी माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य हुन् । यस्तै खत्री केसीकै निर्माण कम्पनीमा कार्यरत भान्से हुन् भने रावल सोही कम्पनीमा काम गर्ने ड्राइभर हुन् ।

कसरी भयो घटना ?

जाजरकोट र रुकुमपश्चिममा भूकम्प गएको दिनदेखि नै दुईवटा छिमेकी मुलुक चीन र भारतले एकपछि अर्को सहयोगको घोषणा गरेका थिए । सोही क्रममा सत्तारुढ दलका नेताहरू पनि छिमेकी मुलुकले दिएको राहत सामग्रीसँगै भूकम्प प्रभावित क्षेत्रमा पुग्ने गरेका थिए ।

भूकम्प गएको पर्सिपल्ट माओवादी केन्द्रका महासचिव देव गुरुङ सोही चिनियाँ टोली र उसले ल्याएको राहत सामग्रीसँगै जाजरकोट र रुकुमपश्चिम पुगेका थिए । चिनियाँ टोलीले राहत सामग्री जाजरकोटस्थित रिम्नामा माओवादी केन्द्रका नेता केसीकै घरमा स्टोर बनाएर राखेको थियो ।

मंसिर २० गते दिउँसो साढे १२ बजेतिर चिनियाँ टोली केही स्थानमा राहत वितरण गरेर स्टोर गरेको ठाउँमा अनुगमनका लागि पुगेको थियो ।

घटना भएको बेलामा माओवादी केन्द्रका नेता केसी भर्खरै मात्रै पुगेका थिए भने उनको निर्माण कम्पनीमा भान्सेको काम गर्ने अमर खत्री र ड्राइभर मुकेश रावल पहिलेदेखि नै त्यहाँ थिए ।

केसी राहत सामग्री वितरणप्रति असन्तुष्ट थिए । स्टोरमा केसीको घर रहेको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका लागि भनेर राहत सामग्री राखिएको थियो । तर आठबिसकोटको सामग्री सानीभेरीको जनप्रतिनिधिलाई भरपाई गरेर वितरणको तयारी भएको थियो । केसीका अनुसार घोषणा गरेजति मात्रामा राहत सामग्री नभएपछि आफूले प्रश्न उठाएको र सोही क्रममा भनाभन भएको थियो ।

‘आठबिसकोटका लागि भनेर सानीभेरीका मान्छेलाई भरपाई गराइएको थियो । त्यसरी लिएको सामान हाम्रो पालिका र वडालाई बुझाउन खोजेका थिए । मैले क्वान्टिटी पुर्‍याऊ, त्यसपछि मात्रै बुझिन्छ भनेको थिएँ’ केसीले अनलाइनखबरसँग भने, ‘चिनियाँ पक्षको उग्रताले घटना भयो ।’

केसीले आफूले नभई आफ्नो निर्माण कम्पनीमा काम गर्ने भान्सेले हातपात गरेको बताए । ‘हातपात भएको हो । तर मैले गरेको होइन, मेरो निर्माण कम्पनीमा काम गर्ने भान्से भाइबाट हातपात भएको हो’ केसीले भने, ‘ती महिलाले मलाई झम्टिन खोजेपछि म पछि हटेको हुँ । उनी आक्रामक भएर सुरुमा ममाथि हातपात गर्न खोजेपछि र पछि मलाई भोट नदिनू भनेर भाषण गरेपछि ती भाइले हातपात गरेका हुन् ।’

उनले आफ्नो घरको कम्पाउन्डमा राखिएको राहत सामग्री कहिलेसम्म त्यहाँ राख्ने ? के कसरी वितरण भइरहेको छ भन्नेबारे जिज्ञासा राख्न खोज्दा सोउ सिच्याङले उग्रता देखाएको दाबी गरे । राहत सामग्री पारदर्शी ढंगले वितरण नभएकाले त्यसबारेमा चासो राखेको केसीले बताए ।

प्रतिपरिवार २३ हजार मूल्यको राहत सामग्री दिने भनिए पनि १० हजार मूल्यको सामान नदेखिएपछि आफूले प्रश्न उठाएको उनको भनाइ छ । तर चिनियाँ टोलीको नेतृत्व गरेकी महिलाले ‘मलाई यस्तो भन्ने तँ को होस्, बाहिर जा’ भन्दै धकेलेको उनले बताए ।

‘उनले ‘गो आउट’ भन्दै मतिर आएर झम्टिन खोजिन् । म संयमित भएर पछि हटें । यति गर्दा पनि उनी रोकिइनन् । कुर्सीमा बसेको मलाई पनि उठ्, बाहिर जा भन्न थालिन्’, केसीले भने, ‘त्यसपछि मैले यो मेरो घर हो, म जान्नँ । तिमीहरू सामान तुरुन्त खाली गर भनें ।’

त्यसपछि चिनियाँ महिलाले आफूसँग आएका ड्राइभर र अरू कर्मचारीलाई पनि हप्काएको केसीले बताए । उनका अनुसार यो घटनापछि आफ्नो घर नजिकैको पुलिस चौकीमा लगेर राहत सामग्री राख्न लगाइएको थियो ।

तर चिनियाँ टोलीको नेतृत्व गरेकी महिलाले आफूलाई भोट नहाल्न भन्दै भाषण गरेपछि हातपातको अवस्था सिर्जना भएको उनले बताए । ‘यो मान्छेलाई किन भोट हालेको, अब नहाल्नू भनेर भाषण गरिन् । उनकै सहयोगीले रोकिरहेकै थिए, तर उनी मानिरहेकी थिइनन्’ केसी भन्छन्, ‘हाम्रो भान्सेले दाइलाई भोट नहाल भन्ने तँ को होस् भनेर हात हालेका रहेछन् । धकेल्दा लडेकी होलिन् भन्ने लागेको थियो । चोटले ढलेकी रहिछन्, मैले सीसी क्यामेराको रेकर्ड हेर्दा थाहा पाएँ ।’

उनका अनुसार सुरुमा स्थानीय प्रहरी चौकीमा छलफल भएर मेलमिलाप भएको थियो । ‘प्रहरी चौकीमा छलफल भयो । उनले तँ मेरो छोरो जस्तो होस्, तैंले तेरो बोसका लागि हात हालिस्, अब यस्तो नगरेस् भनेर भान्से भाइलाई माफी दिएर मिलापत्र गरेर हिंडेकी थिइन्’, केसीले भने ।

तर चिनियाँ महिलाले राहत सामग्रीसँगै भूकम्प प्रभावित क्षेत्र पुगेका माओवादी केन्द्रका महासचिव देव गुरुङलाई घटनाबारे जानकारी गराइन् । त्यसपछि देव गुरुङलगायत नेताहरूले उचालेर मुद्दा मामिलामा पुगेको केसीको भनाइ छ ।

‘देव गुरुङलगायतले मलाई समात्न भनेर प्रहरीलाई भनेका रहेछन्’ उनीहरुकै जोडबलमा उजुरी परेको दाबी गर्दै केसीले भने, ‘भान्से केटोलाई पक्राउ गरेर लगे । कसैले मुद्दा हाल्न नमानेपछि पुलिसले नै सार्वजनिक अपराधको मुद्दा दर्ता गर्‍यो ।’

२४ दिनसम्म प्रहरीले हिरासतमा राखेर २५ औं दिनमा सिडिओ कार्यालयले ५ हजार धरौटीमा छोड्यो । केसीले भने, ‘मेरो पनि खोजी भएको रहेछ, म काठमाडौं आएको थिएँ ।’

केसीलाई माओवादी केन्द्रको स्पष्टीकरण

उक्त घटनालाई लिएर माओवादी केन्द्रले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य केसीसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही अगाडि बढाउने निर्णय गरेको छ । गत २८ पुसमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस विषयमा निर्णय गरी परिपत्र समेत जारी गरिसकेको छ ।

‘भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामग्री वितरण गर्ने क्रममा विवाद उत्पन्न भई वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीको उपस्थितिमा चिनियाँ टोलीका प्रमुख महिलामाथि कुटपिट भएको घटनाको बारेमा निजसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ’, माओवादीको आन्तरिक सर्कुलरमा उल्लेख छ ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा केसीले भने पार्टीलाई स्पष्टीकरण बुझाउन जरुरी नठानेको बताए । घोषणा गरेको मात्रामा सामग्री नपुर्‍याएको भन्दै पार्टी र जनतालाई उनीहरूले नै स्पष्टीकरण दिनुपर्ने जिकिर गरे ।

‘मैले कसैलाई स्पष्टीकरण दिन जरुरी ठानेको छैन, बरु देव गुरुङले पार्टीलाई स्पष्टीकरण दिनुपर्छ’ केसीले भने, ‘२३ हजारको सामग्री दिने भनिएको थियो, जनताले किन पाएनन् ? केन्द्रमा सामग्री बाँड्ने भनेर गएका नेताले यसको भर्पाइ दिनुपर्छ ।’

उनले माधव नेपाललगायत नेताहरूले उक्त क्षेत्रका लागि ९ करोड रुपैयाँ राहत आउने सार्वजनिक अभिव्यक्ति दिएको, तर आउँदा चार करोडको पनि नआएको भन्दै पाँच करोडभन्दा बढीको घोटाला भएको दाबी गरे ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?