+
+

बल्छी धुर्बेले अष्ट्रेलियामा ‘हल्का रमाइलो’ र नयाँ सिरिज छायांकन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १३:५१

काठमाडौं । टेलिभिजन सिरिजका चर्चित अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर उनी ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरिजको लेखन, निर्देशनमा व्यस्त छन् भने अर्कोतिर विदेशका कार्यक्रममा भाग लिने चटारो ।

यसैसाता बल्छी धुर्बेले कतारमा आयोजित कार्यक्रममा दर्शक तताए । ‘हल्का रमाइलो’ फेम्ड कलाकार पुजन घिमिरे ‘टुकु’ र गायिका सदीक्षा कटट्लसहित उनले दोहामा आयोजित कार्यक्रममा मनोरञ्जन दिए ।

अर्मानी लाउण्जले दोहामा गरेको कार्यक्रममा बल्छी धुर्बे आकर्षणका केन्द्र थिए । उनी आफ्नो परिचित बल्छी धुर्बेको पोशाकमा मञ्चमा प्रस्तुत हुँदा उनले व्यापक हुटिङ पाए भने दर्शकको माया । ‘हामीलाई माया गर्ने मान्छे कतारमा प्रशस्तै पाएँ,’ अनलाइनखबरसँग उनले भने ।

बल्छी धुर्बेका लागि विदेश दौडाहाको तालिका अझै लम्बिने निश्चित छ । माघ २१ गते उनी अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाको एक महिने बसाइमा उनले कार्यक्रममा प्रस्तुति दिने त भइहाल्यो, यसबाहेक ‘हल्का रमाइलो’ र अर्को एक नयाँ सिरिज पनि छायांकन गर्ने उनको तयारी छ ।

बल्छी धुर्बेसँगै टुकु पनि त्यता जाँदैछिन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी आउँदा-जाँदादेखि त्यहाँ अध्ययन र कामका लागि गर्ने संघर्ष र जीवनशैलीलाई उनले एक घण्टाको नयाँ सिरिजमा समावेश गर्ने भएका छन् ।

‘अष्ट्रेलियामा रहेका विद्यार्थीको राम्रो र नराम्रो दुवै पक्षलाई केलाएर एउटा कार्यक्रम बनाउँछु । यसपटक सिरिज नै बनाउने हो । यससँगै हल्का रमाइलोका केही एपिसोड सुट गर्ने तयारी छ,’ उनले भने ।

यीबाहेक सिड्नी, मेलबर्न र क्यानबेरा युटीसी नामक संस्थाले बल्छी धुर्बेलाई लिएर कार्यक्रम गर्दैछ । विदेश जाने भएपछि अहिले हल्का रमाइलोको केही स्टक एपिसोड छायांकन र लेखन गर्नमा उनी व्यस्त छन् । माघ ९ गते ‘जुठे’ खिच्न लमजुङ जाँदैछन् ।

विदेशमा रहेका नेपालीको संघर्ष र जीवनबारे कार्यक्रम बनाउँदा उनीहरुसँग जोडिन सक्ने र डायस्पोरा बजारमा पनि अझै बृहत हुने बल्छी धुर्बेको विश्लेषण छ । ‘हामीले बनाएको चीजले उहाँहरुलाई छुनुपर्‍यो । हामी आफैं जाँदा पनि दुई-पाँच हजार जनासँग भेट हुन्छ । यो निकै राम्रो पक्ष हो,’ कतारबाट फर्किएका बल्छी धुर्बेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?