+
+
ब्लग :

ग्रीन हाइड्रोजनबाट समृद्ध बन्न सक्छ नेपाल

भविष्यको ऊर्जा ग्रीन हाइड्रोजन नेपालको आर्थिक समृद्धिका लागि वरदान हुनेछ । त्यसका लागि नेपाल सरकारले ग्रीन हाइड्रोजन कार्यालय स्थापना गरी काम थाल्न ढिला गर्नुहुन्न । 

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०८० माघ ३ गते १४:५२

मानव जातिले जब आगोको प्रयोग गर्न जान्यो, पशु जगतबाट मानिस माथि उक्लियो । विद्युत्को आविष्कार अर्को खुट्किलो थियो, जसले मानव सभ्यतालाई आजको अवस्थामा पुर्‍यायो । अब पालो ग्रीन हाइड्रोजनको हो ।

कुनै पनि देशको आर्थिक समृद्धि, त्यस देशको ऊर्जा उपयोगमा निर्भर गर्छ । नेपाल गरिब छ किनकि नेपालले ऊर्जाको उपयोग कम गर्छ । अझै पनि नेपालको कुल ऊर्जा खपतको दुई तिहाइ हिस्सा दाउरा, कृषि अवशेष र गोबरगुइँठा जस्ता परम्परागत स्रोतबाट काम चल्दै आएको छ ।

जल तथा ऊर्जा आयोग (२०२१) को तथ्यांक अनुसार खनिज इन्धन (तेल, ग्याँस र कोइला) को हिस्सा करिब २६ प्रतिशत रहेको छ । विद्युत्को हिस्सा भने लगभग ५ प्रतिशत मात्र छ । नेपालमा ऊर्जा क्षेत्रको यस परिदृश्य बीच भविष्यको ऊर्जा ग्रीन हाइड्रोजन आउँदैछ ।

के हो ग्रीन हाइड्रोजन ?

हाइड्रोजन अत्यन्त ज्वलनशील ग्याँस हो । हाइड्रोजन उत्पादन गर्ने विभिन्न तरिका छन् । जसमध्ये पानीलाई रासायनिक विच्छेदन (इलेक्ट्रोलाइसिस) गरी हाइड्रोजन प्राप्त गर्ने विधि सरल र वातावरणमैत्री छ । जसको लागि विद्युत्को आवश्यकता पर्छ । नवीकरणीय (सौर्य, वायु र जल) स्रोतको विद्युत् प्रयोग गरिन्छ भने, त्यसलाई ग्रीन हाइड्रोजन भनिन्छ ।

अन्य स्रोतको विद्युत् प्रयोग गरिएमा, स्रोतको आधारमा उत्पादित हाइड्रोजनलाई ब्लू, ब्ल्याक, पिन्क, येल्लो आदि भनिन्छ । यद्यपि हाइड्रोजनको कुनै प्राकृतिक रंग भने हुँदैन । ग्रीन बाहेक अन्य हाइड्रोजन बारे नेपालमा हामीलाई सरोकारको विषय भएन ।

खनिज इन्धनलाई क्रमशः निरुत्साहित गर्दै लैजाने विश्वव्यापी दबाब छ । आणविक ऊर्जामा जटिलता छ । त्यसैले हाइड्रोजन उत्पादनमा नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्ने एकप्रकारको बाध्यता छ ।

अर्कोतर्फ सौर्य र वायु ऊर्जाबाट उत्पादित विद्युत्लाई सञ्चय गर्न ब्याट्री प्रविधि खर्चिलो छ । पम्प स्टोरेज जलविद्युत् आयोजना पनि निर्माण समय, लागत र वातावरणीय क्षतिको हिसाबले सजिलो छैन । त्यसैले सौर्य, वायु वा जलबाट उत्पादित विद्युत् सञ्चयका लागि ग्रीन हाइड्रोजन उपयुक्त विकल्प हो ।

विश्व बजारमा ग्रीन हाइड्रोजन

ऊर्जाको रूपमा तरल हाइड्रोजन रकेट इन्जिनमा धेरै पहिले प्रयोगमा आइसकेको हो । हाइड्रोजनको विभिन्न औद्योगिक प्रयोजन पनि रहिआएको छ । जलवायु परिवर्तनका असर टड्कारो रूपमा देखा पर्दै जाँदा खनिज इन्धनको विकल्प खोजी हुन थाल्यो । जसले गर्दा नयाँ सम्भावनाका ढोकाहरू खुलेका छन् ।

खासगरी, हाइड्रोजनबाट चल्ने यातायातका साधनहरू कारदेखि रेल, हवाईजहाजसम्म विकास गरी सफल परीक्षण भइसकेका छन् । विभिन्न देशहरूको साथै भारतमा व्यावसायिक रूपमा हाइड्रोजन कार, बस सञ्चालन भइसकेको छ । केही महँगो भए पनि प्रदूषण मुक्त (धुवाँ र ध्वनि रहित) भएकाले हाइड्रोजन सवारी साधनमा आकर्षण छ ।

हाइड्रोजन चालित सवारी साधनको सुरुआतसँगै हाइड्रोजन इन्धनको बजार सिर्जना भएको छ । सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न विश्व बजारमा ग्रीन हाइड्रोजन विशाल मात्रामा चाहिन्छ ।

इन्धनको रूपमा हाइड्रोजन व्यापक प्रयोगमा आउन मुख्य दुई वटा समस्याहरू सुन्दै आएका छौं । पहिलो, पेट्रोलको तुलनामा महँगो पर्नु र दोस्रो, भण्डारण गरी ओसारपसार गर्न गाह्रो हुनु । तर यो एक वर्ष अघिको कुरा पुरानो भइसकेको छ । परिष्कृत प्रविधिले गर्दा अहिले हाइड्रोजन आर्थिक रूपमा निकै सस्तो साथै भण्डारण, ओसारपसार र प्रयोगमा सुरक्षित भइसकेको छ ।

हालै, दुबईमा सम्पन्न कोप—२८ मा इनर्जी थिमको पेभेलियनमा ग्रीन हाइड्रोजन कम्पनीहरूको सहभागिता थियो । कोप—२८ लगत्तै ओमनको मस्कटमा ग्रीन हाइड्रोजन समिट थियो । त्यस समिटमा खाडी मुलुकका तेल उत्पादक कम्पनीहरूदेखि ब्रिटिश पेट्रोलियम (बीपी) लगायत संसारका प्रमुख तेल तथा ग्याँस कम्पनीहरू, युरोपका प्रख्यात प्रविधि कम्पनीहरू सहभागी थिए ।

कोरियन हुन्डाई कम्पनीको स्टलमा हाइड्रोजन कार र हेभी ट्रक बिक्रीका लागि राखिएका थिए । त्यसैगरी, चाइनिज कम्पनीका हाइड्रोजन उत्पादन गर्ने इलेक्ट्रोलाइजर र हाइड्रोजन फ्युल सेल (विद्युत् जेनेरेटर) पनि बिक्रीका लागि प्रदर्शनीमा राखिएका थिए । समिटमा अनुसन्धानकर्ताहरू आफ्ना प्रस्तुति दिइरहेका थिए ।

तेल उत्पादक कम्पनीहरू ग्रीन हाइड्रोजनको बजारतर्फ सर्दैछन् । विश्वका अग्रणी कम्पनीहरू ग्रीन हाइड्रोजनको दौडमा पछि परिएला कि भनेर तीव्र प्रतिस्पर्धामा छन् । समिट आयोजक ओमन सरकार आफैं ग्रीन हाइड्रोजनमा महत्वाकांक्षी योजना सहित अघि बढेको छ ।

त्यस हाइड्रोजन समिटमा सहभागी भएपछि मेरो निष्कर्ष रह्यो– तेलको विश्व बजार आगामी केही वर्षहरूमा ग्रीन हाइड्रोजनले लिनेछ, सायद चाँडै नै ५÷७ वर्षभित्र ।

कोप सम्मेलनको विश्वव्यापी दबाबको फलस्वरुप ऊर्जा रूपान्तरणले आगामी दिनहरूमा गति लिनेछ । ऊर्जा रूपान्तरणका लागि ग्रीन हाइड्रोजनको प्रयोग आवश्यक छ । बेल्जियममा मुख्यालय रहेको वल्र्ड हाइड्रोजन काउन्सिलको अनुमान अनुसार सन् २०३० सम्ममा ग्रीन हाइड्रोजनको विश्व बजारमा माग प्रति वर्ष ४ करोड टन पुग्नेछ ।

ग्रीन हाइड्रोजनमा नेपाल के गर्दैछ ?

काठमाडौं विश्वविद्यालयले ‘नेपाल हाइड्रोजन इनिसिएटिभ’ परियोजना सञ्चालन गर्दै आएको छ । धुलिखेलस्थित ग्रीन हाइड्रोजन ल्याब पनि छ । कोप–२८ अघि ल्याब अवलोकन गर्न यो पंक्तिकार पुगेको थियो । अवलोकनबाट उत्साहित भएको यो पंक्तिकार ओमन समिटमा सहभागी भएर फर्किएपछि खस्रक्क परेको छ । किनकि ग्रीन हाइड्रोजनमा संसार कहाँ दौडिरहेको छ, हामी हाइड्रोजन ग्याँसमा चिया पकाउँदैछौं । इलेक्ट्रोलाइजर जडान गरी उत्पादित इन्धन, भर्खर आइपुगेको हाइड्रोजन कारमा हालेर दौडेला पनि । तर, यत्ति चाहिं एउटा प्राविधिक बोलाएर गर्न सकिएला ।

सो परियोजनाले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी लक्ष्यहरू तोकेको छ । पहिलो चरणमा गर्ने भनिएको हाइड्रोजन सम्बन्धी नीति, नियम बनाउने कार्य अघि बढ्न सकेको छैन । दोस्रो चरणमा सन् २०२५ देखि हाइड्रोजनको व्यवसायीकरण गर्ने भनिएकोमा नीति–नियम नहुँदा समस्या हुनेछ । तेस्रो चरणमा सन् २०३० अर्थात् अबको ६ वर्षपछि हाइड्रोजनको विश्व बजारमा प्रवेश गर्ने लक्ष्य छ, जुन यही पाराले असम्भव छ ।

ग्लोबल एनआरएन फाउण्डेशन तथा शेष घलेको एमआईटी ग्रुपले नेपाल सरकारका मन्त्रालयहरूको सहकार्यमा सन् २०२२ अक्टुबरमा ग्रीन हाइड्रोजन समिट भव्य रूपमा काठमाडौंमा सम्पन्न गरेको थियो । त्यो समिटका उद्देश्यहरू थिए– नेपालमा ग्रीन हाइड्रोजन उत्पादन, सञ्चय र वितरणको सम्भाव्यता अध्ययन, ग्रीन हाइड्रोजनमा निजी लगानी भित्र्याउने, राष्ट्रिय नीति बनाउन मार्गचित्र तयार गर्ने आदि । ती उद्देश्यहरू कति प्राप्त भए, कसले जवाफ दिने ?

जल तथा ऊर्जा आयोगको सहसचिवको नेतृत्वमा ७ सदस्यीय अध्ययन टोलीले हाइड्रोजन उत्पादन सम्बन्धी प्रतिवेदन तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई बुझाएको थियो । आव २०७८÷७९ को बजेट भाषणमा हाइड्रोजन उपयोगको विषय उल्लेख भएको थियो । तर त्यसपछि सरकारको तर्फबाट कुनै काम अघि बढेन ।

अपि पावर कम्पनीले एक भारतीय कम्पनीको साझेदारीमा नेपालमा ५० मेगावाट विद्युत् खपत गर्ने गरी ग्रीन हाइड्रोजन र एमोनिया कारखाना स्थापना गर्ने समाचार गत वर्ष पढिएको थियो ।

सवारी साधनको डिजल इन्जिनमा सामान्य परिवर्तन गरी हाइड्रोजन ३० प्रतिशत मिसाएर सवारी साधन चलाउने उद्देश्यका साथ उत्साही युवाहरूको समूहले काठमाडौंमा स्टार्टअप कम्पनी खोलेका छन् । यो विदेशमा प्रमाणित प्रविधि भएको र नेपालमा हस्तान्तरण गरी काम गर्न लागेको उक्त कम्पनीको दावी छ । त्यसैगरी, काठमाडौंको धापाखेलमा प्रविधिका सौखिन एक जना युवकले इलेक्ट्रोलाइजर मेसिन झिकाई हाइड्रोजन उत्पादन गरी प्रयोग गरिरहेको र केही मात्रामा बिक्री समेत गरिरहेको यो पंक्तिकारको जानकारीमा आएको छ ।

ग्रीन हाइड्रोजनबाट मालामाल हुनसक्छ नेपाल

ग्रीन हाइड्रोजनबाट नेपाल मालामाल हुनसक्छ । ग्रीन हाइड्रोजनको लागि आवश्यक नवीकरणीय ऊर्जा (जलविद्युत्) र कच्चा पदार्थ पानी दुवै नेपालमा प्रशस्त छ ।

कोप—२८ देखि भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौतासम्म आइपुग्दा नेपाललाई जलविद्युत्मा अवसरको ढोका खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको सम्झौता अनुसार १० वर्षमा नेपालको १० हजार मेगावाट विद्युत्ले भारतको बजारमा पहुँच पाउने विश्वास जगाएको छ । बाँकी दशौं हजार मेगावाट जलविद्युत्को खपत ग्रीन हाइड्रोजन उत्पादनमा गर्न सकिन्छ । नेपालमा विद्युत्को आन्तरिक खपत बढाउन ग्रीन हाइड्रोजनले अर्को अवसरको ढोका खोल्नेछ ।

नेपाल हाइड्रोजन इनिसिएटिभका प्रमुख तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिराजसिंह थापाको अध्ययनले खेर जाने विद्युत् सहुलियत दरमा दिने हो भने, प्रतिकेजी हाइड्रोजनको उत्पादन लागत न्यूनतम अमेरिकी डलर १.१७ पर्ने देखिएको छ । १ केजी हाइड्रोजनले ३ लिटर पेट्रोल बराबर शक्ति दिन्छ ।

हाइड्रोजन उत्पादनमा नेपालको बढी भएको विद्युत् खपत गर्न सकिने भएपछि, नदीमा वर्षायामको सबै पानी उपयोग गर्ने डिजाइनमा जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ । यसले गर्दा नेपालको नदीनालाको पानी पूर्ण उपयोग गरी अधिकतम ऊर्जा प्राप्त हुन्छ ।

हाइड्रोजनलाई सवारी साधन, खाना पकाउन र उद्योगधन्दामा प्रयोग गर्न सकिने भएकाले खनिज इन्धन (तेल, ग्याँस र कोइला) विस्थापन गरी देशले वार्षिक ३ खर्ब रुपैयाँ जोगाउन सक्छ । त्यति मात्र होइन, भारत र बंगलादेशमा विद्युत् निर्यात गरे जस्तै हाइड्रोजन निर्यातको सम्भावना छ ।

जलवायु परिवर्तन, जलविद्युत् र ग्रीन हाइड्रोजन आपसमा सम्बन्धित छन् । त्यसैले एनआरएनको ग्रीन हाइड्रोजन समिटको नारा थियो– ‘पग्लिंदो हिमालयको लागि दबाई’ ।

नेपालमा ग्रीन हाइड्रोजनको विशाल सम्भावना, तर त्यसले विद्युत् खपत गर्ने भएकाले दक्षिणएशियाको ऊर्जा सुरक्षासँग जोडिन आउँछ । बीबीआईएन फ्रेमवर्कको आगामी बैठकहरूमा ग्रीन हाइड्रोजनको विषय उठेमा आश्चर्य मान्नुपर्दैन ।

भारतको ऊर्जा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा ग्रीन हाइड्रोजन नीति जारी ग¥यो । भारतले सन् २०३० सम्म वार्षिक ५० लाख टन ग्रीन हाइड्रोजन उत्पादन क्षमता पु¥याउने घोषणा गरेको छ । तर त्यसका लागि चाहिने पर्याप्त पानीको आपूर्ति कसरी गर्ने भन्ने भारतको चिन्ता छ ।

नेपालले भारतको ग्रीन हाइड्रोजन नीतिसँग तादात्म्य मिलाउँदै, भारतमा ग्रीन हाइड्रोजनको बजारलाई लक्षित गर्दै र हालै भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनलाई सँगसँगै अघि बढाउँदै जानुपर्छ ।

नेपालले हाइड्रोजन जस्तो नवीन विषयमा अबुधाबीको नेपाली दूतावास नजिकै मुख्यालय रहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) को सहयोग लिन सक्छ । भविष्यको ऊर्जा ग्रीन हाइड्रोजन नेपालको आर्थिक समृद्धिका लागि वरदान हुनेछ । त्यसका लागि नेपाल सरकारले ग्रीन हाइड्रोजन कार्यालय स्थापना गरी काम थाल्न ढिला गर्नुहुन्न ।

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?