+
+

‘सकस’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा, राजु मास्टर भन्छन्- पारिवारिक कथामा दर्शकको रुचि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १३:१५

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’ निर्देशित टेलिभिजन सिरिज ‘सकस’ युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा स्ट्रिमिङ भइरहेको छ ।

सिरिजको नवौं एपिसोड भारतीय फिल्म, चलेका नेपाली गीत र गेमिङ भिडियोलाई उछिनेर शीर्षस्थानमा पुगेको हो । यो एपिसोड चार दिनअघि मास्टर टिभी युट्युब च्यानलमा रिलिज भएको थियो ।

यो श्रृंखलामा दाजुभाइको कलहलाई चित्रण गरिएको छ । ‘नेपालको ९९ प्रतिशत घरमा भएको कलहलाई हामीले यसमा देखाएका छौं,’ राजु मास्टरले अनलाइनखबरसँग भने, ‘आमाहरु छुट्टिन नपाए हुन्थ्यो भन्ने तर बुहारीहरु छुट्टिन खोज्ने कथा यसमा छ ।’

उनले पारिवारिक कथावस्तुका सिरिजलाई दर्शकले रुचाउन थालेको र १० लाखभन्दा बढी भ्युज पनि आउन थालेको बताए । ‘मैले यसअघि बाँझोपनसम्बन्धी ६ एपिसोड गरें । त्यति भ्युज गएन । सम्बन्धित दर्शकले मात्र त्यो हेरे,’ राजु भन्छन्, ‘कथा चेन्ज गरेर घरघरको कथा देखाउँदा भ्युज नै मिलियन नाघ्न थाल्यो ।’

दर्शकको रुचिअनुसार ‘सकस’मा पारिवारिक कथावस्तु समेट्न थालिएको राजु मास्टर बताउँछन् । यसबाहेक राजु मास्टर अर्को सामाजिक टेलिभिजन श्रृंखला ‘जुठे’मा पनि व्यस्त छन् । यसमा उनी मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बेसँग’ सहकार्यमा छन् ।

पछिल्ला केही सातायता युट्युबमा ट्रेन्डिङको दबदबा देखिएको छ । ‘सकस’ हिमालय टिभी प्रिमियममा शनिबार बेलुका ७ बजे र ७ बजेर ३० मिनेटमा मास्टर टिभी युट्युब च्यानलमा आउँछ ।

सकसमा लक्ष्मीनाथ तिमल्सिना, तारा केसी, दीपक शर्मा, कमला रेग्मी, राजु पौडेल, विनोद श्रेष्ठ, प्रमिला खनाल, मुकेश हमाल, अमृता श्रेष्ठ, अशोक सिवाकोटी र सविना आचार्यको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?