+
+

स्टार जन्माउने यू-१९ क्रिकेट विश्वकप

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १५:३६
दक्षिण अफ्रिकामा हुन लागेको यू-१९ विश्वकपमा सहभागी टिमका कप्तानहरू ।

४ माघ, काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण भोलि शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । जहाँ  नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।

यू-१९ क्रिकेट विश्वकप सन् १९८८ मा सुरु भएको थियो । अहिलेसम्म १४ संस्करण आयोजना भइसकेको छ । जसमा सबैभन्दा सफल टोली भारले सर्वाधिक ५ पटक उपाधि जितेको छ । अष्ट्रेलियाले ३, पाकिस्तानले २, बंगलादेश, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र इंग्ल्याण्डले समान १ पटक उपाधि जितेका छन् ।

यू-१९ विश्वकपले धेरै सुपर स्टारका लागि आधार तयार गरेको छ । यो प्रतियोगिता खेलेका खेलाडी भविष्यमा स्टार बनेका उदाहरणहरु पनि छन् ।

यू-१९ विश्वकले सधैं उदीयमान क्रिकेटरहरूलाई लाइमलाइटमा ल्याउने प्लेटफर्मको रूपमा काम गरेको छ ।

२०२४ को यू-१९ विश्वकप सुरु हुन लाग्दा यसअघि भएका १४ संस्करणको समृद्ध इतिहास यस्तो छ ।

१९८८ : विजेता अष्ट्रेलिया

यूथ विश्वकबाट चिनिने यू-१९ विश्वकपको पहिलो संस्करण अष्ट्रेलियाको द्विशतवार्षिकी मनाउने क्रममा आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा सात टेष्ट राष्ट्र र आईसीसीको एसोसिएट सदस्यका खेलाडी सम्मिलित आईसीसी एसोसिएट ११ गरी ८ टिम सहभागी थिए ।

आयोजक अष्ट्रेलियाले पाकिस्तानलाई फाइनलमा ५ विकेटले पराजित गर्दै पहिलो विजेता बनेको थियो ।

उक्त प्रतियोगिता खेलेका नासिर हुसेन, माइकल अथर्टन, क्रिस काइर्न्स, मुस्ताक अहमद, सनथ जयासूर्या, ब्रायन लारा जस्ता खेलाडी अन्तर्राष्ट्रिय स्टारको रुपमा उदाएका थिए ।

१० वर्षपछि सन्  १९९८ मा दोस्रो संस्करण

पहिलो संस्करण पछि दोस्रो संस्करण आयोजना हुन १० वर्ष लाग्यो । दोस्रो संस्करण सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक आईसीसीको टुर्नामेन्ट आयोजना गरेको थियो ।

पहिलो संस्करणभन्दा दोस्रो संस्करणमा दोब्बर बढी टिम अर्थात १६ टोली सहभागी थिए ।

यसै संस्करणबाट युनिभर्स बोर्स उपनामले चर्चित क्रिस गेलले आफ्नो छवी देखाएका थिए । उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

गेलकै वेष्ट इन्डिजका टिममेट रामनरेश सरवन जो पछि वेष्ट इन्डिजका लागि भरपर्दा ब्याटर बने, उनले जिम्बाव्वेका एलुलेकी एनकालासँगै सर्वाधिक १६ विकेट लिएका थिए ।

इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । इंग्ल्याण्डले जितेको त्यो नै पहिलो र एक मात्र यू-१९ विश्वकप उपाधि हो ।

यस विश्वकपबाट ग्रेज स्वान, विरेन्द्र सेहवाग, हरभजन सिंह, कोलिन्स ओबुया, कायल मिल्स, इमरान ताहिर, सोयब मलिक, क्रिस गेल, रामनरेश सरवन जस्ता खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा स्टारको रुपमा उदाएका थिए ।

२००० को संस्करणमा नेपालको डेब्यू

तेस्रो संस्करणको यू-१९ विश्वकप श्रीलंकाले आयोजना गर्दा छिमेकी भारतले पहिलो पटक उरपाधि जित्यो । त्यसपछि भारतले थप चार पटक यू-१९ विश्वकप उपाधि जितिसकेको छ ।

भारतले त्यस संस्करणको फाइनलमा आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । भारतका युवराज सिंह प्लेअर अफ द टुर्नामेन्ट बनेका थिए । जसले ११ वर्षपछि आईसीसी वान डे विश्वकपमा पनि सोही अवार्ड जितेका थिए । दक्षिण अफ्रिकाका ग्रेम स्मिथले यस संस्करणमा सर्वाधिक रन बनाए ।

यसै संस्करणमा नेपालसहित नेदरल्याण्ड्सले डेब्यु गरेका थिए ।

माइकल क्लार्क, मिचेल जोनसन, शेन वाट्सन, इयान बेल, युवराज सिंह, नायल ओ’ब्रायन, ब्रेन्डन म्याकुलम, ग्रेम स्मिथ, जोनाथन ट्रोट, तातेन्द ताइबु जस्ता स्टार यसै विश्वकपबाट उदाएका थिए ।

२००२ : विजेता अष्ट्रेलिया

ट्रान्स तास्मान राइभल न्युजिल्याण्डले आयोजनजा गरेको यस संस्करण जित्दै अष्ट्रेलिया दुई पटक यू-१९ विश्वकप जित्ने पहिलो टोली बन्यो ।

आफ्नो प्रभुत्व कायम गर्ने क्रममा अष्ट्रेलिया प्रतियोगिताभर अपराजित रहेको थियो र फाइनलमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

तातेन्द्र ताइबु प्लेअर अफ दी टुर्नामेन्ट बन्दा अष्ट्रेलियाका कप्तान क्यामरुन ह्वाइटले सर्वाधिक रन बनाएका थिए । क्यानडाले यस संस्करणमा डेब्यु गरेको थियो ।

क्यामरुन ह्वाइटसहित, जर्ज वेली, मासरफे मोर्ताजा, सुरेश रैना, रोस टेलर, उमर गुल, काएल कोएत्जर, हासिम अमला, उपुल थरंगा, ड्वाने ब्राभो, डारेन सामी जस्ता खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा स्टारको रुपमा उदाए ।

२००४ : पाकिस्तान विजेता

पाँचौ संस्करणको यू-१९ विश्वकप बंगलादेशले आयोजना गरेको थियो जहाँ युगान्डाले डेब्यु गर्‍यो ।

पाकिस्तान र वेष्ट इन्डिज फाइनल पुगेपछि नयाँ विजेता बन्ने पक्का थियो । जहाँ वेष्ट इन्डिजलाई फाइनलमा २५ रनले हराएर पाकिस्तानले पहिलो पटक उपाधि जित्यो ।

भारतका शिखर धवनले सर्वाधिक रन बनाउँदै प्लेअर अफ द टुर्नामेन्ट समेत बने ।

धवनसँगै भारतका दिनेश कार्तिक, एलेस्टर कुक, आयोन मोर्गन, वाहव रियाज, भर्नोन फिलान्डर, एन्जेलो म्याथ्युज, क्रेग इर्भिन जस्ता खेलाडी यस विश्वकपबाट उदाएका थिए ।

२००६ : विजेता पाकिस्तान

पाकिस्तानको लागि यो विश्वकप ऐतिहासिक रह्यो । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई ३८ रनले पराजित गर्दै पाकिस्तान लगातार दुई पटक यू-१९ विश्वकप जित्ने पहिलो टोली बन्यो ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै भारतलाई जम्मा ११० रनको लक्ष्य दिएको दिँदा भारतले सहजै जित्ने अनुमान थियो । तर उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पाकिस्तानले भारतलाई ७१ रनमै अलआउट गर्‍यो ।

भारतले पहिलो ६ विकेट जम्मा ९ रन बनाउँदा गुमाएको थियो । भारतको ब्याटिङ ध्वस्त पार्न पाकिस्तानका अनवर अलीले ५ विकेट लिएका थिए । भारतका चेतेश्वर पुजारा सर्वाधिक रन बनाउँदै प्लेअर अफ द टुर्नामेन्ट समेत बने ।

यसै विश्वकपमा अमेरिकाले डेब्यु गरेको थियो ।

यस विश्वकपबाट आरोन फिन्च, उस्मान खवाजा, डेविड वार्नर, मुस्फिकर रहिम, शकिब अल हशन, तमिम इकवाल, मोइन अली, चेतेश्वर पुजारा, रोहित शर्मा, रविन्द्र जडेजा, टिम साउथी, सरफराज अहमद, डिन इलगर, सुनिल नारिन, किरन पोलार्ड जस्ता खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा स्टार बनेर उदाएका थिए ।

२००८ : विजेता भारत

२००६ मा भारतको दु:ख २००८ मा गौरवमा परिणत भयो । विराट कोहलीको कप्तानीमा रहेको भारतले दोस्रो पटक यू-१९ विश्वकपको उपाधि जित्यो ।

वर्षाले प्रभावित खेलमा भारतले दक्षिण अफ्रिकालाई डीएल मेथडमा १२ रनले पराजित गर्दै अपराजित रहेर च्याम्पियन बनेको हो ।

२००८ को यू-१९ विश्वकपले आधुनिक क्रिकेटको ‘फ्या फोर’ मध्ये तीन खेलाडीलाई जन्मायो । भारतका विराट कोहलीसँगै न्युजिल्याण्डका केन विलियमसन र अष्ट्रेलियाका स्टिभ स्मिथको अन्तर्राष्ट्रिय क्रिकेटमा आगमन भयो । स्मिथले त्यतिबेला बल र ब्याट दुवैमा अलराउण्ड प्रदर्शन गरेका थिए ।

यसै विश्वकपबाट बर्मुडा र मलेसियाले यू-१९ विश्वकपमा डेब्यु गरे ।

कोहली, स्मिथ र विलियम्सनसँगै जोस हेजलउड, क्रिस कोएक्स, पउल स्टरलिङ, शान मशुद, कुशल परेरा, डारेन ब्राभो जस्ता खेलाडीको आगमन यसै विश्वकपबाट भयो ।

२०१० : विजेता अष्ट्रेलिया

२००२ को पुनरावृत्ति जस्तै यसपटक पनि न्युजिल्याण्डले आयोजना गरेको यू-१९ विश्वकप अष्ट्रेलियाले जित्यो ।

जोस हेजलउडले ४ विकेट लिएपछि मिच मार्शको नेतृत्वमा रहेको अष्ट्रेलियाले फाइनलमा पाकिस्तानलाई २५ रनले पराजित गरेको थियो । यसै विश्वकपबाट अफगानिस्तानले यू-१९ विश्वकपमा डेब्यु गर्‍यो । यस्तै हङकङले पनि पहिलो पटक यू_१९ विश्वकप खेल्यो ।

जोस बटलर, जोए रुट, बेन स्टोक्स, मिचेल मार्श, आडम जाम्पा, बाबर आजम, जासो होल्डर, टम लाथम, हश्मतुल्लाह शाहिदी जस्ता खेलाडी यही विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटमा स्टार बनेर उदाए ।

२०१२ : विजेता भारत

पहिलो संस्करण आयोजना पछि पहिलो पटक सन् २०१२ मा यू-१९ विश्वकप अष्ट्रेलियामा आयोजना भयो ।

जहाँ भारतले घरेलु टोलीलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्यो र सर्वाधिक ३ पटक उपाधि जित्ने अष्ट्रेलियाकै कीर्तिमान बराबरी गर्‍यो ।

यस विश्वकपबाट ट्रेभिस हेड, इमाम उल हक, इश सोधी, अकिल होसेन, राएन बर्ल, लिट्टन दास, तस्किन अहमद, जेर्हार्ड एरासमस जस्ता खेलाडी स्टारको रुपमा उदाए ।

२०१४ : विजेता दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले अपराजित रहँदै पहिलो पटक यू-१९ विश्वकपको उपाधि जित्यो । दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले हराएर च्याम्पियन बनेको हो ।

अइडन मारक्रमले अफ्रिकाकालाई च्याम्पियन बनाउन फाइनलमा महत्वपूर्ण भुमिका खेल्दै अविजित ६६ रन बनाएका थिए । उनी प्लेअर अफ द टुर्नामेन्ट समेत बने ।

यसै विश्वकप फास्ट बलर कागिसो रबाडाको उदयको रुपमा समेत चिनिन्छ । उनले सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदा ६/२५ विकेट लिएका थिए । यूएईले यस पटक डेब्युको अवसर पाएको थियो ।

श्रेयास अयेर, कुलदीप यादव, मुस्ताफिजुर रहमान, अइडन मारक्राम, कागिसो रबाडा, निकोलस पुरन, काएल जेमिसन, कुशल मेन्डिस, शिमरोन हेतमायर जस्ता खेलाडी यसै विश्वकपबाट स्टारको रुपमा उदाए ।

२०१६ : विजेता वेष्ट इन्डिज

२००४ पछि बंगलादेशमा यू-१९ विश्वकप फेरि आयोजना भयो ।

घरेलु टोली बंगलादेश र नामिबयासँग हारपछि साविक विजेता दक्षिण अफ्रिका यस पटक समूह चरणबाटै बाहिरियो ।

फाइनलमा वेष्ट इन्डिजले भारतलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक यू-१९ विश्वकप उपाधि जित्यो ।

मेहदी हसन मिराज, राशिद खान, शदाब खान, वानिन्दु हसरंगा, साम करन, अल्जारी जोसेफ, रिसव पन्त, जोस लिटल, ग्लेन फिलिप्स, रचिन रविन्द्र जस्ता खेलाडी यसै विश्वकपबाट उदाएका थिए ।

२०१८ : विजेता भारत

न्युजिल्याण्डले फेरि एक पटक आयोजक बन्दै तेस्रो पटक यू-१९ विश्वकप आयोजक गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि २००२ र २०१० मा यू-१९ विश्वकप त्यहाँ आयोजना भएको थियो ।

लगातार दोस्रो साविक विजेता समूह चरणबाट बाहिरिने क्रममा वेष्ट इन्डिज चाँडै घर फर्कियो ।

फाइनलमा फेरि भारत र अष्ट्रेलिया पुगे । जहाँ भारतले अष्ट्रेलियालाई ८ विकेटले सहजै पराजित गर्दै चार पटक उपाधि जित्ने पहिलो टिम बन्यो ।

भारतका शुभमन गिल प्लेअर अफ द टुर्नामेन्ट बने ।

यस विश्वकपबाट गिलसहित भारतकै अर्शदिप सिंह अनी गेराल्ड कोत्जी, अलिक अथानाज, टोविद ह्रिदोए, ह्यारी ब्रुक, नविन उल हक, रहमानुल्लाह गुर्बाज, ह्यारी टेक्टर, शाहिन अफ्रिदी लगाता खेलाडी स्टारको रुपमा उदाए ।

२०२० : विजेता बंगलादेश

बंगलादेशले पहिलो पटक यु-१९ विश्वकपको च्याम्पियन बन्दै आईसीसीको कुनै पनि प्रतियोगिता पहिलो पटक उपाधि जित्यो ।

फाइनल पुगेको अर्को टोली भारतले प्रियम गार्गको नेतृत्वमा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो । जहाँ भारतले जापान विरुद्ध २७१ बल बाँकी हुँदै सानदार जित निकालेको थियो । जुन युथ ओडीआईमा दोस्रो धेरै बलको कीर्तिमान हो । यस्तै भारतले यसै विश्वकप दौरान यू-१९ लेभलमा २०० औं जित हात पारेको थियो ।

तर फाइनलमा भारतलाई डिएल मेथडमा ३ विकेटले पराजित गर्दै बंगलादेश च्याम्पियन बन्यो । यसै विश्वकपबाट नाइजेरिया र जापानले यू-१९ विश्वकपमा डेब्यु गरे । दुवै टोली रिजन क्वालिफायरबाट छनोट हुँदै विश्वकपमा पुगेका थिए ।

यस विश्वकपबाट नुर अहमद, फजलहक फारुकी, तनवीर सांघा, महमुदुल हसन जोए, यश्स्वी जैसवाल, रवि बिश्नोई, मोहम्मद वासिम, मथिशा पाथिराना, जयडेन सिएल्स स्टार बनेर उदाए ।

२०२२ : विजेता भारत

वेष्ट इन्डिजले पहिलो पटक यू-१९ विश्वकप आयोजना गर्दा भारतले कीर्तिमानी पाँचौ पटक उपाधि जित्यो । प्रतियोगिताकै मुख्य हाइटलाइट्सको रुपमा अफगानिसत्नको प्रदर्शन पनि रह्यो । जो पहिलो पटक सेमिफाइनलसम्म पुग्यो । तर सेमिफाइनलमा इंग्ल्याण्डसँग पराजित हुँदै बाहिरियो ।

पछिल्लो संस्करणमा फाइनलमा हारेको भारतले यस पटक इंग्ल्याण्डलाई फाइनलमा ४ विकेटले हराउदै पाँचौ पटक उपाधि जित्यो ।

कोभिड-१९ पान्डेमिकले परभावित भएको यस विश्वकपमा न्युजिल्याण्डले नाम फिर्ता लिएको थियो । जसको सट्टा स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पायो ।

यस विश्वकपबाट श्रीलंकाका डुनिथ वेलालेज, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस, बंगलादेशका तान्जिम हसन शकिब र इंग्ल्याण्डका रेहान खहमेद नयाँ स्टारको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा उदाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?