+
+

खुद ब्याज आम्दानी घट्नु र प्रोभिजन बढ्दा एनएमबी बैंकको नाफा घट्यो

बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्दा बैंक सञ्चित नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ९:३१

७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा एनएमबी बैंकको नाफामा गिरावट आएको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको  थियो । समीक्षाा अवधिमा बैंकको नाफा २५.४५ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी घट्नु र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) मा वृद्धि हुँदा नाफामा गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब २६ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाखमा झरेको छ । यस्तै खुद फी तथा कमिसन आम्दानीमा भने समान्य सुधार भएर ८२ करोड ९७ लाखबाट ८६ करोड ९० लाख पुगेको छ ।

सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ६२ करोड २० लाख रुपैयाँबाट बढेर ९५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँबाट २७.९८ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

एफपीओ र बार्गेन पर्चेज गेनको करले सञ्चित नोक्सानीमा

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्दा पनि बैंक सञ्चित नोक्सानीमा गएको छ । सरकारले आर्थिक ऐनमा ल्याएको व्यवस्था अनुसार बैंकले मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियमबाट लाभांश वितरण गरेवापत करिब १ अर्ब ८४ करोड ३४ लाख  रुपैयाँ कर भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफा १ अर्ब ८४ करोड ८ लाख रुपैयाँ भएपनि चालु आर्थिक वर्षमा बैंकको १ अर्ब १ करोड ७७ लाख रुपैयाँ ब्याज उठ्न नसक्दा  वितरणयोग्य नाफा २९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ । जसमा कर भुक्तानी समायोजन गर्दा ९९ करोड ४८ लाख रुपैयाँ सञ्चित नोक्सानी देखिन्छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुबैमा सुधार भएको छ । असार मसान्तमा २ खर्ब १० अर्ब ३० करोड रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर २ खर्ब ३१ अर्ब ३२ करोड २७ लाख पुगेको छ । यस्तै बैंकको कुल कर्जा  रकम १ खर्ब ८९ अर्ब ३ करोड ९४ लाख रुपैयाँबाट बढेर पुस मसान्तसम्म १ खर्ब ९४ अर्ब १८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

नाफा घटेसँगै वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसाबाट १४ रुपैयाँ ९८ पैसामा घटेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसाबाट १५२ रुपैयाँ ६ पैसामा पुगेको छ । यस्तै बैंकको पूँजीकोष १३.३८ प्रतिशतबाट १२.७३ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.२४ प्रतिशतबाट २.८६ प्रतिशत पुगेको छ । पुसमा बैंकको सीडी रेसियो ७६.०३ प्रतिशत, दोस्रो त्रैमासको औसत आधार दर ९.९५ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?