+
+

कालीमाटीमा महिलाको हत्या गरेर भारत भागेका व्यक्ति समातिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:०५

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्यापछि भागेर भारत पुगेका व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई पक्राउ गरेको हो ।

शोभाभगवतीस्थित सरिता गिरीको दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । त्यसपछि काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त, स्वयम्भुको टोलीले हत्याको घटनाको अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा उक्त शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको भएको यकिन भएको थियो । उनको साथमा अर्का एक जना पुरुष पनि बस्ने गरेको खुलेपछि खोजी गर्ने क्रममा उनी भारतसम्म पुगेको खुलेको थियो ।

काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलका अनुसार, हत्यापछि उनी भागेर बाहिर निस्किएको खुलेको छ ।

‘हत्यापछि वीरगञ्ज जाने सुमो चढेर गएको देखिन्छ, त्यसपछि रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा करिब २ महिनासम्म लुकिछिपी बसेको देखिन्छ’, उनले भने, ‘त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटनाबारे निरन्तर सूचना लिइरहेका थिए ।’

प्रहरीका अनुसार, घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुनः १०/११ पुसतिर काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । त्यहीबेला खोजी गरिरहेको प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको एसपी ढुंगेलले बताए ।

हत्यापछि खाटमुनि शव लुकाएर फरार

प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८÷९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि मृतक सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए ।

त्यसक्रममा करिब ३ महिनादेखि उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको प्रहरीको भनाइ छ ।

‘पछिल्लो समय इकरामले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ, त्यसपछि दुईबीचको सम्बन्धमा थप तिक्तता आएको थियो’, ढुंगेलले भने, ‘त्यसपछि कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको देखिन्छ ।’

वादविवादका क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि बिहान अन्दाजी ३÷४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्यांङमा फ्याँकेर भागेका थिए । यस विषयमा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?