+
+

पोखरेलको फेसबुक पोस्टप्रति खतिवडाले सभामुखसँग राखे असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १९:३८

७ माघ, काठमाडौं । एनसेल बिक्री प्रकरणमा प्रतिनिधि सभाका एक भन्दा बढी विषयगत समितिले छलफल चलाइरहेको विषयले सभामुखसँगको सामूहिक छलफलमा प्रवेश पाएको छ ।

सभामुख घिमिरेले आइतबार प्रतिनिधि अन्तर्गतका विषयगत समितिका सभापतिहरुलाई छलफलमा बोलाएका थिए । उक्त छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले एनसेलको शेयर खरिद बिक्रीको विषयमा एकभन्दा बढी समितिले छलफल चलाइरहेको र सभामुखले यसमा ठोस पहल नलिएको भनी विषय प्रवेश गराएका थिए ।

यो विषयमा सभामुख र राज्य व्यवस्था समिति सभापति खतिवडाबीच सामान्य रुपमा सवालजवाफ समेत भएको थियो । सभापति खतिवडाले एनसेल बिक्री प्रकरणमा राज्य व्यवस्था समितिले गरेको छलफललाई लिएर सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सामाजिक सञ्जालमा गरेको टिप्पणीको पनि आलोचना गरे ।

उनले प्रश्न गरे, ‘लेखा समितिको असन्तुष्टि के थियो ? कुनै असन्तुष्टि थियो सार्वजनिक रुपमा पेजमा (फेसबुकमा) लेख्ने कुरा थिएन । सभामखुसँग आएर भन्नुपर्छ ।’ आफूले कुनै पनि विषयमा चासो रहेको खण्डमा सभामुखलाई भन्ने गरेको खतिवडाले बताए । ‘म मेरो असन्तुष्टि छ भने सभामुखसँग भन्छु । अरुले पनि यही गर्नुपर्छ होइन र ?’ खतिवडाले भनेका छन् ।

एनसेलको शेयर खरिदबिक्रीको विषयमा प्रतिनिधि सभाको अर्थ समिति र सार्वजनिक लेखा समितिले छलफल चलाएपछि राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल गरेको थियो । राज्य व्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाएर छलफल चलाएपछि सार्वजनिक लेखा समितिका सभापति पोखरेलले असन्तुष्टि जनाएका थिए ।

पोखरेलले लेखा समितिले गरिरहेको छानबिन प्रभावित बनाउन सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका थिए ।
‘आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरु मार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेल व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु’, पोखरेलले ४ पुसमा फेसबुकमा लेखेका थिए ।

पोखरेलको टिप्पणीलाई लिएर कांग्रेस महामन्त्री गगन थापाले राज्य व्यवस्था समितिको बैठकमा आपत्ति जनाएका थिए । उनले यो विषय सभामुखसँग राख्न पनि सभापति खतिवडालाई आग्रह गरेका थिए । आइतबार सभापति खतिवडाले सभामुखसँग राखेका थिए । तर लेखा समिति सभापति पोखरेल भने उक्त छलफलमा अनुपस्थित थिए ।

राज्य व्यवस्था समिति सभापति खतिवडाले एनसेलको विषयमा चार/चार वटा समितिमा छलफल हुनु उचित नरहेको भन्दै समन्वय गर्न सभामुखलाई आग्रह गरे । ‘सभामुखले यो विषयमा चार वटै समितिका सभापतिलाई एक चोटी बोलाउनुपर्छ र क्षेत्राधिकारको विवाद छ भने पनि टुंगो लगाउनुपर्छ’ खतिवडाले भने ।

जवाफमा सभाुमखले ‘तपाईंहरु आफैं बस्नुहोस्’ भने । खतिवडाले तुरुन्तै जवाफ दिए, ‘यस्तो हुँदैन, सभामुखले बोलाउनुपर्छ र निकास निकाल्नुपर्छ ।’ यसअघि सभामुख घिमिरेले प्रतिनिधि सभाका चार वटै विषयगत समितिका सभापतिहरुलाई बोलाएर एनसेलको शेयर खरिद बिक्रीको विषयमा भएको छलफल र क्षेत्राधिकारको विषय सम्झाएका थिए । सभामुखको सचिवालयका अनुसार चार वटै समितिका सभापतिसँग सभामुखको सामूहिक छलफल भने भएको छैन ।

हाल एनसेलको विषयमा प्रतिनिधि सभाको अर्थ समिति, सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल गरिरहेका छन् ।

यी चारवटै समिति एक चरणको छलफल गरेर यस सम्बन्धमा भएका कागजात मगाएर प्राप्त कागजातमाथि अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?