+
+

अर्जुन कुमाल : नेपाली ब्याटिङको भविष्य

पाँच वर्षअघि यू-१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ८ गते ९:२१

८ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ को पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित हुन पुग्यो । नेपालले खेल हारे पनि १८ वर्षीय युवा ब्याटर अर्जुन कुमालले नेपाली समर्थक र शुभचिन्तकको मन जित्न सफल भए ।

कलिलो उमेर र परिपक्क प्रदर्शन अर्जुनको पहिचान हो । अझ त्यसमा ब्याटिङ क्लास र धैर्यता उनको खुबी पर्दछ ।

अर्जुनले विरलै मात्रै आफ्नो विकेट सहजै गुमाउने गर्दछन् । विपक्षी कुनै पनि बलरलाई अर्जुनको विकेट लिन धेरै मुश्किल पर्दछ । उनले त्यो कला विश्वकपमा न्युजिल्यान्डविरुद्ध पनि देखाए ।

नेपालले दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा बलिङ अपेक्षा गरेभन्दा केही कमजोर गर्यो । स्नेहित रेड्डीको १४७ रनको सहयोगमा नेपालले ३ सय ३ रनको विशाल लक्ष्य पाएको थियो ।

तेस्रो बलमै गल्लीमा दीपक बोहरा क्याच आउट भए । पहिलो ओभरको अन्तिम दुई बल खेलेका अर्जुनले कुनै जोखिम लिएनन् ।

चौथो ओभरमा अर्जुनले तीव्र गतिका बलर म्याट रवेलाई दुई चौका हाने । जसमा चौथो बलमा हानेको चौकाले उनको क्लास झल्किन्थ्यो ।

छैटौं ओभरमा आकाश त्रिपाठी २ रनमा आउट भएपछि अर्जुनले कप्तान देवलाई राम्रो साथ दिए । यी दुई खेलाडी मिलेर ५९ रनको साझेदारी गरे ।

म्याटको आठौं ओभरको चौथो शर्ट बललाई अर्जुनले पुल खेल्नेक्रममा व्यक्तिगत १७ रनमा फाइन लेगमा न्युजिल्यान्डका फिल्डरले क्याच छाड्दा जीवनदान पाएका थिए ।

अर्जुनले एकतर्फबाट आफ्नो नेचुरल क्रिकेट खेलिरहे । १६औं ओभरमा देव खनालले पनि उनको साथ छाडे ।

२१औं ओभरको दोस्रो बलमा गुलशन झा पनि आउट भए । नेपालले एक तर्फबाट विकेट गुमाइरह्यो । तर अर्को तर्फबाट अर्जुनले डटेर सामना गरे । उनले ७३ बलमा अर्धशतक प्रहार गरे । अर्धशतकपछि उनले आफ्नो ब्याटिङमा रनको गती बढाएका थिए ।

सिनियर टोलीबाट खेलेका देव र गुलशनले खराब सटमा आफ्नो विकेट फ्यालेर हिँडेका थिए । तर अर्जुनले कुनै पनि समय आफ्नो भूमिका बिर्सिएनन् ।

३४औं ओभरमा अर्जुनले स्नेहित रेड्डीलाई लगातार चार चौका हानेपछि शतकको सम्भावना ह्वात्तै बढेको थियो । उक्त चार चौकापछि अर्जुन ६९ रनबाट ८५ रनमा पुगे ।

तीव्र गतिका बलर एवाल्ड श्रेडरले ३६औं ओभरको पहिलो बलमा कट एन्ड बोल्ड गर्न चुकेपछि उनले ८६ रनमा जीवनदान पाए । अर्को ओभरमा उनले ८८ रनमा मिडअनमा पुनः जीवनदान पाएका थिए ।

२०१९ मा थाइल्याण्डमा सम्पन्न यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरेका अर्जुनको प्रदर्शन हेर्दा सिनियर टोलीमा पर्ने सम्भावना अब त्यति टाढा देखिँदैन

९० रन बनाएपछि धेरै ब्याटर शतकसम्म पुग्न धैर्य गरेर खेल्ने भएकाले ९० माथिको स्कोरलाई ‘नर्भस नाइन्टिज’ भनेर चिनिन्छ । एवाल्डको ३८औं ओभरको पहिलो बलमा उनले कुनै रन जोडेनन् ।

दोस्रो बलमा उनले अर्जुनलाई शर्ट बल गरे । अर्जुनले उक्त बललाई उपरकट हान्ने धुनमा थर्डम्यानमा सट खेलेका थिए । तर त्यो बल न्युजिल्यान्डका फिल्डर रोबी फाउल्केसको हातमा पुग्यो । अर्जुनको १०४ बलमा १२ चौकासहित ९० रनको इनिङ त्यहिँ समाप्त भयो । उनको लागि मात्रै होइन सारा नेपाली क्रिकेटका लागि त्यो नमिठो क्षण थियो ।

नेपालले २००० देखि यू १९ विश्वकप खेल्दै आएको छ । आठौं सहभागितासम्म शतक छैन । २०१२ को यू-१९ विश्वकपमा प्रदीप ऐरीले नामिबियाविरुद्ध बनाएको ९८ रन नै सर्वाधिक रहँदै आएको छ ।

अर्जुन मात्रै होइन विश्व क्रिकेटका धेरै महान् खेलाडी नर्भस नाइन्टिजको धेरै पटक शिकार बनेका छन् । भारतका सचिन तेन्दुलकर ओडीआईमा सर्वाधिक १८ पटक नर्भस नाइन्टिजको शिकार बनेका थिए । न्युजिल्याण्डका केन विलियम्सन ९ र भारतका विराट कोहली ७ पटक ओडीआईमा नर्भस नाइन्टिजको शिकार बनिसकेका छन् ।

टेस्ट टोलीविरुद्ध कुनै पनि खेलमा नेपालबाट शतक छैन । सिनियर टोलीबाट कुशल भुर्तेल केही महिनाअघि विश्वकप छनोटमा जिम्बावेविरुद्ध ९९ रनमा पुगेर बोल्ड आउट भएका थिए । यू-१९ एसिया कप २०१६ श्रीलंकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले ९० र अर्जुनले २०२३ मा अफगानिस्तानविरुद्ध ९१ रन बनाएका थिए ।

डिसेम्बरमा यूएईको आईसीसी एकेडेमी ओभलमा अर्जुन एज लागेर विकेट किपरबाट क्याच भएपछि ९१ रनमा पेभेलिएन फर्केका थिए ।

अर्जुन यू-१९ राष्ट्रिय प्रतियोगितामा पनि २०२२ मा शतक नजिक पुगेर आउट भएका थिए । गण्डकी प्रदेशबाट वागमतीविरुद्ध यू-१९ राष्ट्रिय प्रतियोगितामा टियुमा ९८ रन खेलिरहँदा उनी डिप मिडविकेटमा सट खेल्न खोजे पनि टप एज लागेर कभरमा क्याच आउट हुन पुगेका थिए ।

कलिलो उमेरमै कीर्तिमानी अर्जुन

अर्जुन नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । एसिसी यू-१९ प्रिमियर कप २०२३ अक्टोबरमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए ।

उनले सिनियर टोलीका कुशल मल्लको उक्त कीर्तिमान तोडेका हुन् । कुशल मल्लले सेप्टेम्बरमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा अविजित इनिङ खेलेका थिए । कुशललाई पछि पारेर नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान कायम गरेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन पनि बनाएका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो र एक्लो खेलाडीसमेत हुन् । यू-१९ क्रिकेटमा सर्वाधिक शतक देव खनालको नाममा ३ छ । सिनियर टोलीमा सर्वाधिक शतक पूर्वकप्तान पारस खड्काले ५ पटक प्रहार गरेका छन् ।

अर्जुनलाई नेपाली क्रिकेटमा आगामी दिनमा ब्याटिङको भविष्य मानिएको छ । २०२१ मै उनी १५ वर्षको उमेरमा नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा परिसकेका छन् ।

अर्जुनको बाल्यकाल

अर्जुनको घर गुल्मीको छत्रकोट-५ खर्ज्याङ्ग हो । उनको जन्म भने भारतको नयाँदिल्लीमा भएको हो । गरिबीका कारण उनका बुबा मेघबहादुर र आमा मनिषा रोजगारीको कारण भारतमा रहँदै आएका छन् ।

त्यसैले भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् । भारतमै बाल्यकालदेखि नै क्रिकेट सिकेको हुँदा अन्य नेपाली खेलाडीभन्दा उनको ब्याटिङ शैली धेरै फरक छ । अर्जुन अहिले पनि नेपालमा खेल नहुँदा भारतमा गएर सिक्ने गरेको बताउँछन् ।

अर्जुनको खेल्ने शैलीले विश्वस्तरीय ब्याटरको झल्को दिने गर्दछ । अझ उनको कभर ड्राइभले पाकिस्तानका बाबर आजमको झल्को दिन्छ ।

उनले भारतमा गण्डकीका राहुल शर्माको प्रशिक्षणमा क्रिकेट सिक्दै आएका छन् । राहुलको आग्रहमै उनी पोखरा आएको हुँदा सुरुवात नै गण्डकीबाट गरे । पाँच वर्ष अघि उनी यू-१६ छनोटमा सहभागी हुन भनेरै दिल्लीबाट पोखरा आइपुगेका थिए ।

१३ वर्षकै उमेरमा यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए । त्यो उमेरमै ब्याटिङमा क्लास देखाएपछि उनले धेरैको ध्यान तानेका थिए । २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।

पाँच वर्षअघि यू-१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । २०१९ मा थाइल्याण्डमा सम्पन्न यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे । अर्जुनको प्रदर्शन हेर्दा सिनियर टोलीमा पर्ने सम्भावना अब त्यति टाढा देखिँदैन ।

शतक बनाउँछु भनेको थिएँ दुर्भाग्य भयो : अर्जुन

‘९० बनाएपछि एक/एक बनाएर शतक बनाउँछु सोचेको थिएँ । तर, मेरो लागि त्यो दुर्भाग्य रह्यो । म थर्डम्यानमा होइन म प्वाइन्टमा सट खेल्न चाहन्थे । तर, टप एज लागेर थर्डम्यानमा गर्‍यो’, दक्षिण अफ्रिकाबाट अनलाइनखबरसँग कुराकानी गर्दै अजुर्नले भने ।

त्यसैमा उनले थपे, ‘शतक चुकेपछि एकदमै नराम्रो राम्रो । गुरु (जगत टमाटा) ले पनि भन्नुभयो त पहिलो शतक हान्ने नेपाली खेलाडी बन्थिस । यो सुन्दा झनै नराम्रो लाग्यो । एसिया कपमा अफगानिस्तानसँग पनि त्यस्तै भयो ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?