+
+

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले र राप्रपाले गरे तालमेल 

अन्यतर्फका उम्मेदवार राप्रपाको, महिला उम्मेदवार एमालेको

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १४:५३
राष्ट्रियसभामा एमाले उम्मेदवार रुक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेल ।

८ माघ, विराटनगर ।  राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् । सोमबारको छलफलपछि दुई दल तालमेल गर्न सहमत भएका हुन् ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्नेछन् । उनले सहमतिको लिखित रुप भने केही समयपछि सार्वजनिक गर्ने बताए ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने राष्ट्रिययसभा चुनावलाई लिएर एमाले र राप्रपाबीच तालमेलको छलफल अन्तिम चरणमा पुगेको बताए । उनले पनि आजै सहमति सार्वजनिक गर्ने बताए ।

११ माघमा कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ । कोशीमा नेकपा एमालेले  अन्यतर्फ परशुराम  अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले  अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।

सत्तारुढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

कोशी प्रदेशमा एमालेको भन्दा सत्ता गठबन्धनको मतभार एक हजार १८८ ले बढी छ । राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले  र राप्रपा तालमेल गरेमा ४ हजार ६४२ मतभार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?