+
+

आयोजनाको लागत र म्याद थप्दा नियतमै प्रश्न उठ्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:०४

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामा पटकपटक म्याद र लागत थप्दा प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताए ।

निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिंदै उनले भने,‘हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ । समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन ।’ उनले पटकपटक समय र दायित्व थप्ने कुराले देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्ने बताए ।

प्रधानमन्त्रीले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशितसमेत गरे । ‘हाम्रो कार्यशैली पनि बदल्नुपर्छ । जहाँ अप्ठ्याराहरू छन्, त्यसको समाधान पनि हामीले नै खोज्ने हो, त्यसको उत्तरदायित्व नै हामीले लिनुपर्छ,’ उनले भने,‘अग्रसरता लिएर समस्याको गाँठो फुकाउने गर्नुपर्छ। त्यसका लागि हाम्रो कार्यशैली बदलौँ, जवाफदेहिता बढाऔं ।’

अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए ।

एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए । सो क्रममा शेर्पाले आयोजनाको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै थप दायित्व नबढाई निर्धारित समयमै आयोजना सम्पन्न गर्न आफूहरू गम्भीर भएको बताए । उनले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?