+
+

चन्द्रमामै निदायो जापानी यान, सूर्यको प्रकाश पाउँदा जाग्नेआशा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते ७:४४

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको छ । ‘The Smart Lander for Investigating Moon’ अर्थात् स्लिम नामक उक्त यान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको हो ।

चन्द्रमाको सतहमा शनिबार ऐतिहासिक अवतरण भएको तीन घण्टापछि नै उक्त यान बन्द भएको थियो ।

यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन पाएको छैन । शनिबार राति ब्याट्री सकिने बताइएको थियो । तर, जापानी अन्तरिक्ष एजेन्सी जाक्सालाई भने यो निदाएको ल्याण्डरलाई जगाउन सकिने आशा छ । यदि सूर्यको प्रकाश सही ठाउँमा पर्‍यो भने यसको ब्याट्री चार्ज भएर स्वीच अन हुनसक्ने अपेक्षा जाक्साले गरेको छ ।

इन्जिनियरहरुका अनुसार यो यानमा जडित सोलार प्यानलहरु पश्चिमतर्फ फर्किएका थिए, जुन सूर्यको प्रकाश आएको दिशाबाट विपरीत हो । त्यसैले सौर्यऊर्जा उत्पादन हुन सकेन र ब्याट्रीको चार्ज सकिएपछि यान बन्द भयो ।

तथापि प्रकाशको अवस्था परिवर्तन हुँदा अवस्थामा सुधार आउने आशा मिसन टोलीको छ ।

जाक्साले एक विज्ञप्तिमा भनेको छ- यदि सूर्यको प्रकाश भविष्यमा चन्द्रमामा पश्चिमतर्फबाट लाग्यो भने ऊर्जा उत्पादन हुने सम्भावना हुन्छ भन्ने हामीलाई विश्वास छ । अहिले हामी यसको पुनर्स्थापनाका लागि तयारी गरिरहेका छौं ।

स्लिम मिसन, अर्थात् मून स्नाइपरको चन्द्रमामा सटिक अवतरणपछि जापानले चन्द्रमामा आफ्नो अन्तरिक्षयान सफ्ट ल्यांडिंग गराउने पाँचौँ देशको कीर्तिमान बनाएको थियो ।

तर अवतरणपछि भने यसको ऊर्जा रित्तिंदा यसले थप काम गर्न नसक्ने अवस्था भएको छ ।

तथापि जापनी अन्तरिक्ष एजेन्सी जाक्साले ब्याट्रीको चार्ज पूरै नरित्तिंदै यसलाई बन्द गर्ने निर्णय गरेको थियो ताकि भविष्यमा यसलाई पुनः जगाउन सकियोस् ।

जाक्साले भनेको छ- भविष्यमा रिस्टार्ट गर्न नसकिने अवस्था नआओस् भन्नका लागि हामीले १२ प्रतिशत ब्याट्री चार्ज छँदै ब्याट्रीलाई डिस्कनेक्ट गरी यानलाई बन्द गरेका थियौं । जसका कारण जापानी समय अनुसार शनिबार करिब ३ बजे उक्त यान स्वीच अफ भएको थियो ।

बन्द हुनुअघि मिसन कन्ट्रोलले यानको अवतरणका डाटा तथा तस्वीरहरु लगायतका विवरणहरु सफलतापूर्वक संकलन गरेको थियो ।

जापानी अन्तरिक्ष एजेन्सीका प्रमुख हितोशी कुनिनकाका अनुसार चन्द्रमामा सौर्यकोण परिवर्तन हुन ३० दिन लाग्दछ । अर्थात् जब सौर्यकोण परिवर्तन हुन्छ तब प्रकाश विपरीत दिशाबाट आउँछ । यस्तो अवस्थामा पश्चिम दिशामा फर्किएका यानका सोलार प्यानलहरुले प्रकाश प्राप्त गर्नेछन् र यानको ब्याट्री रिचार्ज हुनेछ । यसबाट ल्यान्डरले पुनर्जिवन पाउने आशा जाक्साको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?