+
+

कर्जा ‘रिकभरी’ दबाबमा विकास बैंक, ब्याज आम्दानी घट्दा निष्क्रिय कर्जा बढ्यो

विकास बैंकहरूले चालु आर्थिक वर्ष पहिलो ६ महिनामा २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाए पनि गत आव सोही अवधिको दाँजोमा १०.९९ प्रतिशत कम हो ।

विजय पराजुली विजय पराजुली
२०८० माघ ९ गते १५:१०

९ माघ, काठमाडौं । कर्जा ‘रिकभरी’ दबाब विकास बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठ विकास बैंकमध्ये तीनले सञ्चित नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफा घट्दा विकास बैंकको नाफा भने गिरावट आएको छ ।

विकास बैंकले चालु आव पहिलो ६ महिनामा २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । तर, यो गत आव सोही अवधिको दाँजोमा १०.९९ प्रतिशत कम हो ।त्यस्तै खुद ब्याज आम्दानी संकुचन भएको र सम्भावित कर्जा नोक्सानीको लागि गरिएको ‘प्रोभिजनिङ’ घट्दा बैंकहरूको नाफामा गिरावट आएको हो ।

गत आव दोस्रो त्रैमाससम्म विकास बैंकहरूले निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको औसत अन्तर पाँच प्रतिशतसम्म कायम गर्न पाउनेमा यसपालिबाट ४.६ प्रतिशतसम्म मात्रै कायम गर्न पाइने व्यवस्था छ । त्यस्तै ‘स्प्रेड रेट’ घटाउँदा त्यसको प्रभाव बैंकहरूको खुद ब्याज आम्दानीमा देखिएको हो । अर्कातर्फ, कर्जा रिकभरी हुन नसक्दा निष्क्रिय कर्जामा वृद्धिसँगै सम्भावित कर्जा नोक्सानीका लागि गरिएको प्रोभिजनिङ पनि बढेको छ । जसले उनीहरूको नाफा प्रभावित भएको हो ।

आठमध्ये पाँच बैंकको नाफा घट्यो

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा आठमध्ये पाँच विकास बैंकको नाफा घटेको छ । गरिमा विकास बैंकले ५१ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको दाँजोमा २.०९ प्रतिशत बढी हो । यस्तै कामना सेवाको नाफा ३२.१६ प्रतिशत बढेर २५ करोड ८९ लाख पुगेको छ । ज्योति विकासको नाफा पनि गत आव दोस्रो त्रैमासमा ३ करोड ४८ लाख मात्रै थियो । यसपालि १० करोड १० लाख पुगेको हो ।

गत आव दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गरेको मुक्तिनाथको नाफा यसपालि ३२.९३ प्रतिशत घटेर ४२ करोडमा सीमित भएको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्टको नाफा १३.६१ प्रतिशत घटेर ३७ करोड १२ लाखमा झरेको छ ।

खुद ब्याज आम्दानी घट्दा नाफा ओरालो

चालु आव दोस्रो त्रैमासमा पाँच विकास बैंकको खुद ब्याज आम्दानी घटेको छ । मुक्तिनाथ र सांग्रिला डेभलमेन्टको खुद ब्याज आम्दानी सामान्य बढ्दा गरिमाको भने १४.४ प्रतिशत बढेको हो । अन्य आठको भने घटेको छ ।

मुक्तिनाथको खुद ब्याज आम्दानी २.१२ प्रतिशत बढेर २ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस्तै गरिमाको १४.४ प्रतिशत बढेर १ अर्ब ८० करोड ५० लाख पुग्दा सांग्रिला डेभलपमेन्टको ३.५९ प्रतिशत बढेर ९४ करोड ६४ लाख पुगेको छ । महालक्ष्मीको खुद ब्याज आम्दानी सर्वाधिक १५ प्रतिशतले घटेर ८९ करोड २४ लाखमा झरेको छ ।

आठ प्रतिशत बढ्यो प्रोभिजनिङ

विकास बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजनिङ गत आव दोस्रो त्रैमासको तुलनामा चालू आवमा ८.०२ प्रतिशत बढेर २ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

उनीहरूले गत आव दोस्रो त्रैमासमा २ अर्ब ६० करोड ८३ लाख प्रोभिजनिङ गरेका थिए । महालक्ष्मी, लुम्बिनी, कामना सेवा र ज्योतिले प्रोभिजनिङ गरे पनि मुक्तिनाथ र गरिमाको प्रोभिजनिङ उल्लेख्य वृद्धि हुँदा समग्रमा बढेको हो ।

त्यसैगरि मुक्तिनाथको प्रोभिजनिङ ७८ प्रतिशत बढेर कर्जा ६३ करोड पुगेको छ । गरिमाको ५३.५ प्रतिशत बढेर ५४ करोड २ लाख र सांग्रिला डेभलमेन्टको ५६.१ प्रतिशत बढेर ३९ करोड ३३ लाख पुगेको छ । शाइन रेसुङ्गाको प्रोभिजनिङ ३.१३ प्रतिशत बढेर १४ करोड ५२ लाख पुगेको छ ।

यता, लुम्बिनीको प्रोभिजनिङ ६४ प्रतिशत घटेर ९ करोड ९४ लाखमा सीमित भएको छ । महालक्ष्मीको ५२ प्रतिशत घटेर ९ करोड ३६ लाखमा झरेको छ । कामना सेवाको ३० प्रतिशत घटेर २१ करोड २० लाख र ज्योतिको १६ प्रतिशत घटेर ५४ करोड ७५ लाखमा सीमित भएको छ ।

नाफा प्रभावित र ब्याज नउठ्दा पाँच बैंक सञ्चित नोक्सानीमा

चालु आव पहिलो ६ महिनामा आठ बैंकले उठाउन नसकेको ब्याज १ अर्ब ७५ करोड ३६ लाख पुगेको छ । नाफा घटेको र नियामकीय व्यवस्थाअनुसार नाफाबाट २० प्रतिशत साधारण जगेडा कोशसाथै ऋणपत्र जारी गरेका बैंकले ‘डिबेन्चर रिडेम्प्सन रिजर्भ’ मा पनि रकम छुट्ट्याउनुपर्छ ।

यस्तै कर्मचारी तालिम र संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कोशसहित नियामकीय कोशमा छुट्ट्याउनुपर्छ । त्यसपछि नउठेको ब्याज नियामकीय रिजर्भमा छुट्ट्यउँदा पाँच बैंक सञ्चित नोक्सानीमा पुगेका हुन् । समग्रमा आठ विकास बैंक ४३ करोड ७ लाखबराबर सञ्चित नोक्सानीमा छन् । गत आव दोस्रो त्रैमासमा ७४ करोड २३ लाख सञ्चित नाफामा थिए ।

सबैभन्दा धेरै सञ्चित नोक्सानी मुक्तिनाथको ३१ करोड ७२ लाख छ । यस्तै ज्योतिको २४ करोड ८५ लाख छ । गत आव सोही अवधिमा ज्योति ३३ करोड ३ लाख सञ्चित नोक्सानीमा थियो । सांग्रिला डेभलपमेन्टको सञ्चित नोक्सानी २१ करोड ३७ लाख छ ।

सबैभन्दा धेरै सञ्चित नाफा भने कामना सेवाको १७ करोड ४५ लाख छ । महालक्ष्मीको ६ करोड ८४ लाख, शाइन रेसुङ्गा ६ करोड ७५ लाख, गरिमा २ करोड ३२ लाख र लुम्बिनीको सञ्चित नाफा १ करोड ५१ लाख छ ।

मुक्तिनाथले उठाउन सकेन ४८ करोड ब्याज

चालु आव पहिलो ६ महिनामा विकास बैंकहरूले उठाउन नसकेको ब्याज १ अर्ब ७५ करोड ३६ लाख पुगेको छ । गत आव सोही अवधिमा १ अर्ब ५४ करोड ४५ लाख ब्याज उठेको थिएन । यो चालु आव दोस्रो त्रैमासमा १३.४५ प्रतिशत बढेको हो ।

त्यसमध्ये मुक्तिनाथले सबैभन्दा धेरै ४८ करोड ३५ लाखबराबर ब्याज उठाउन सकेको छैन । ज्योति ३० करोड ८१ लाख, गरिमा २७ करोड ८२ लाख र शाइन रेसुङ्गाले २३ करोड ६६ लाखबराबर ब्याज उठाउन सकेका छैनन् ।

तीन बैंकको निष्क्रिय कर्जा चार प्रतिशतमाथि

चालु आव दोस्रो त्रैमासमा कर्जा रिकभरी प्रभावित हुँदा विकास बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढेको छ । पुस मसान्तमा आठमध्ये तीनको निष्क्रिय कर्जा चार प्रतिशत नाघेको हो । गत आव सोही अवधिमा महालक्ष्मीको मात्रै ४.५७ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवमा ४.२१ प्रतिशत भएको छ ।

पुसमा सबैभन्दा धेरै निष्क्रिय कर्जा अनुपात सांग्रिला डेभलपमेन्टको ४.८९ र ज्योतिको पनि बढेर ४.८८ प्रतिशत पुगेको छ । यसैगरी कामना सेवाको निष्क्रिय कर्जा भने ३.७ बाट ३.४२ प्रतिशतमा झरेको छ । गरिमा १.८९ बाट २.९५ प्रतिशत, मुक्तिनाथ ०.९८ बाट २.५१, शाइन रेसुङ्गा १.३१ बाट २.६२, लुम्बिनी ३.२४ बाट बढेर ३.५५ प्रतिशत पुगेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?