+
+

प्रहरीले हत्कडीसहित ठमेल घुमाएका गुण्डा फेरि कुटपिटमा संलग्न, ७ जनाविरुद्ध जाहेरी

सानुभाइ समूहका एक सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:२०

९ माघ, काठमाडौं । गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ भन्दै ठमेल क्षेत्रमा हत्कडीसहित घुमाइएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङविरुद्ध फेरि प्रहरी कहाँ जाहेरी परेको छ ।

शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले अर्को समूहलाई कुटपिट गरेको थियो । यो घटनालाई लिएर प्रहरी वृत्त, दरबारमार्गमा सानुभाइसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको छ ।

ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।

अहिलेको फेरि सानुभाइ फरार छन् भने उनको समूहका एक जना विश्व लामा पक्राउ परिसकेका छन् । काठमाडौं प्रहरीका एक अधिकृतले घटनामा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको बताएका छन् भने झगडाको कारण स्पष्ट भइनसकेको बताइएको छ ।

प्रहरी अधिकृतहरुका अनुसार, कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । त्यहाँ पुगेपछि एक्कासी दुई पक्षबीच हानाहान भएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

जाहेरी आएपछि दरबारमार्ग प्रहरी पार्किंङ लटको क्लोज सर्किट (सीसी) टीभी फुजेट समेत मगाएको छ । त्यसमा पनि कुटपिट भइरहेको दृश्य देखिन्छ ।

१० हजार धरौटीमा छुटेलगत्तै गुण्डागर्दी

सानुभाइले यसअघि १५ असारमा क्लब ओम्यिनामा बसिरहेका बेला त्यसका सञ्चालक राजेन्द्र गुरुङलाई राति २ बजे कुटपिट गरेका थिए । क्लबमा काम गर्ने अन्यलाई पनि कुटपिट गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।

भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको सञ्चालकको आरोप थियो । पक्राउ परेपछि उनलाई काठमाडौं प्रहरीले हत्कडीसहित ठमेल घुमाएको थियो । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रशासनले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएको भन्दै कारागार पठाइएको थियो । पछि छुटेलगत्तै उनी गुण्डागर्दीमा संलग्न भएको देखिएको अधिकृतहरु बताउँछन् ।

प्रशासनमा बयान दिँदै उनले बाउन्सरले अपशब्द बोलेपछि रिसको झोँकमा हातपात गरेको जिकिर गरेका थिए ।

कुमार घैंटे समूहका सदस्य

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका यसअघिका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?