+
+

शतप्रतिशत बढ्यो शंकास्पद वित्तीय कारोबार

गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाइमा करिब ६ हजार शंकास्पद कारोबार रिपोर्टिङ भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:४३

९ माघ, काठमाडौं । एक वर्षमा शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ शतप्रतिशत बढेको छ ।

गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाइमा करिब ६ हजार शंकास्पद कारोबार रिपोर्टिङ भएको छ ।

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

२०७८/७९ मा २ हजार ७ सय ८० कारोबार रिपोर्टिङ वित्तीय जानकारी इकाइमा भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा बढेर ५ हजार ९ सय ३५ पुगेको हो । २०७७/७८ मा १ हजार ५ सय ३३ शंकास्पद कारोबार वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएका थिए ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १ माघ २०७६ देखि अनलाइनमार्फत नै बैंक शंकास्पद कारोबार र गतिविधि रिपोर्ट वित्तीय जानकारी इकाइमा गर्न सक्ने प्रणाली (गो–एएमएल) कार्यान्वयनमा ल्याएको थियो ।

त्यसपछि २०७७/७८ देखि यस्तो कारोबारको रिपोर्ट उल्लेख्य बढेको वित्तीय जानकारी इकाइको वार्षिक प्रतिवेदनले देखाउँछ ।

२०७६ माघबाट वाणिज्य बैंकमा सुरु भए पनि त्यसपछि बिस्तारै विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त सहकारी, बीमा, मनिचेन्जर, क्यासिनोमा समेत गो–एएमएल प्रणाली लागु भएको छ ।

आव २०७९/८० मा वित्तीय जानकारी इकाइमा रिपोर्ट भएका शंकास्पद कारोबार विवरणमध्ये ९५.०८ प्रतिशत गो–एएमएलमार्फत आएका छन् ।

२०७८/७९ मा ९०.६१ प्रतिशत शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ गो–एएमएलमार्फत भएकोमा गत आवमा उल्लेख्य बढेको हो ।

गत आवमा कुल गो–एएमएल लागु भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण प्रणालीबद्ध हुँदै गएको छ। आपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम घटाउन उक्त प्रणाली कार्यान्वयनमा आएको थियो । आपराधिक तथा अवैधानिक बाटोबाट आर्जित पैसा बैंकिङ कारोबार हुनबाट रोक्न उक्त प्रणालीले काम गर्ने गर्छ ।

राष्ट्र बैंकले विकास बैंकबाट सुरु गरेको गो–एएमएल हाल १ हजार ३ सयभन्दा बढी वित्तीय कारोबार गर्ने संस्थामा कार्यावन्यन भइसकेको छ ।

पछिल्लो पटक २०७८ साउनबाट सहकारी संस्थासहित वित्तीय कारोबार गर्ने अन्य गैरबैंक तथा वित्तीय संस्थामा पनि गो–एएमएल कार्यान्वयनमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?