+
+

‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १२:१७

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले १३ माघ देखि गर्ने ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तय गरेको छ ।

१३ माघदेखि २६ सम्म हुने अभियानमा खटिने केन्द्रीय नेताको भूमिका समेत खुलाएर कार्यक्रमको प्रारुप बनाएको छ ।

खुला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन वडा कार्यालय भ्रमण र संवाद गरी पाँच प्रकृतिका अभियानको प्रारुप बनाइएको छ ।

समुदायमा कांग्रेस अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरुलाई प्रतिनिधि बनाएर पठाउन लागिएको छ । अभियानको उद्देश्यमा तीनै तहका सरकारसंगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने/बुझ्ने राखिएको छ ।

जनताबाट प्राप्त सुझावलाई तत् तत् तहका सरकारमा पुर्‍याउने, सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीको तर्फबाट समाधानका लागि पहलकदमी लिने लगायतका उद्धेश्य बनाइएको छ ।

केन्द्रबाट खटिएका प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र अभ्यासको अवलोकन गर्ने उद्देश्य राखिएको छ ।

अभियानबाट राम्रा पक्षको ग्रहण र सुधार गर्नुपर्ने विषयमा नीतिगत रुपमा पहलकदमी लिने सहयोग पुग्ने कांग्रेसले उद्देश्य लिएको छ ।

जनताबाट आएका सल्लाह, सुझाव, गुनासाहरू सुन्ने, पार्टीले गरेका प्रयास र उपलब्धि बताउने, भ्रमहरू चिर्ने कांग्रेसले अभियानबाट अपेक्षा राखेको छ ।

पार्टीले लिएका उद्धेश्य पूर्ति गर्ने गरी केन्द्रीय नेतालाई जिम्मेवारी दिइएको छ । जिल्लास्थित स्थानीय तहहरूमा पुगी सेवा प्रवाह लगायतको अवस्था अवलोकन गर्ने, पार्टी र स्थानीय सरकारबीच संवाद गर्ने जिम्मेवारी दिइएको छ ।

जनताबाट स्थानीय तहका लागि आएका सुझाव त्यही हल गर्ने प्रयास गर्ने, अन्य सुझाव पार्टी केद्रमा उपलब्ध गराउने भूमिकामा केन्द्रीय प्रतिनिधि हुनेछन् ।

अभियानकै विचमा १६ माघमा शहीद दिवसको अवसरमा ६ हजार ७४३ वडामा कांग्रेसले विविध कार्यक्रम गर्ने भएको छ । उक्त दिन सरसफाइ, श्रमदान, स्वास्थ्य शिविर, रक्तदानलगायतका कार्यक्रम गरिने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?