+
+

टेकु अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन- मेडिकल शिक्षा दिने तयारी गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १३:१०

१० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् ।

आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औं वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘के-के पढाउन सक्नुहुन्छ तयारी गर्नुस् । आगामी शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने तयारी गर्नुस् । अब आउने सत्रबाट पढाउन सुरु गर्ने हो भने नयाँ आयाम थपिन्छ ।’

मेडिकल शिक्षामा क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताउँदै उनले मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता हटाउनु पर्ने बताए ।

कतिपय व्यक्तिले चाहेर पनि मेडिकल शिक्षा पढ्न नपाएको भन्दै मन्त्री बस्नेतले पढ्न नपाएकै कारण मानसिक रोगीहरु थपिएको समेत बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रोसँग सुधार गर्ने हो भने ७५ प्रतिशत मानसिक रोगी समाप्त हुने जिकीर गर्दै उनले भने, ‘जुन टिम यो अस्पतालमा हुनुहुन्छ तपाईंहरू भिड्नुस् । चाँडोभन्दा चाँडो यो काम फत्ते गर्नुपर्छ ।’

डर भन्ने शब्द आफ्नो शब्दकोषमा नभएको भन्दै उनले भने, ‘राम्रो काम गर्नका लागि किन ढिला गर्ने ? किन डराउने ? किन तर्सिने ?’

यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका पदाधिकारीले हाल एक सय शय्यामा सन्चालन हुँदै आएकोमा अब ३०० शय्यामा विस्तार गर्न चाहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?