+
+

देश दुख्दा टेकु अस्पतालले भरोसा दिलायो, अब सरकारले दिलाओस्

ठूला-ठूला महामारी/प्रकोप फैलिएर देश दुख्दा टेकु अस्पतालले मल्हम लगायो । सबैमा आशा र भरोसा दिलायो । अब अस्पतालको स्तरोन्नती तत्काल गरिन्छ भनेर सरकारले भरोसा दिलाओस् ।

डा. शेरबहादुर पुन डा. शेरबहादुर पुन
२०८० माघ १२ गते ८:०७

सन् २०१९ को अन्त्यसँगै विश्व नै तरंगित हुने गरी ‘सार्स–कोभ–२’ भाइरसको उदय भयो । अज्ञात मानिएको यो भाइरसको नाम सुरुमा ‘२०१९ नोबेल कोरोना भाइरस’ राखियो भने पछि विश्व स्वास्थ संगठनले ‘सार्स–कोभ–२’ अर्थात् ‘सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम–२’ को नाम दिएको थियो । यो भाइरसबाट विकसित हुने रोगलाई भने ‘कोभिड–१९’ भनियो । सुरुमा छिमेकी देश चीनको वुहान शहरमा देखापरेको यो भाइरस अप्रत्यासित रुपमा मानवीय क्षति गर्दै छोटो समयमा विश्वभर फैलिएको थियो ।

नेपालसँग सीमा जोडिएको देश भएता पनि कोरोना भाइरसले पहिले युरोप र अमेरिकामा व्यापक मानवीय क्षति गर्यो भने नेपालमा यसको तीव्रता भारतमा फैलिएपछि भएको थियो । नेपालमा  कोभिड–१९ को पहिलो, दोस्रो र तेस्रो लहर विकसित भएको थियो । दोस्रो लहर सबैभन्दा घातक देखियो । कोभिड–१९ को दोस्रो लहरको समयमा बिशेषत अक्सिजनको व्यापक अभाव भयो ।

देश नै कोभिड–१९ को ठूलो मारमा परेको अवस्थामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल सबैको आशा र भरोसाको केन्द्र बनेको थियो । यस अस्पतालले पनि सीमित शय्या र आईसीयूको बाबजुत पनि अग्रपंक्तिमा रही सकेजति बिरामीको उपचार गरेको थियो । अस्पतालका सबै स्वास्थकर्मी तथा कर्मचारीले दिन–रात नभनेर उच्च घातक कोरोना भाइरस विरुद्ध एकजुट भई सामना गरेको थियो । यो कोभिड विरुद्धको लडाइँ अति प्रशंसनीय थियो ।

‘कलेरा’ अस्पताल नामले स्थापित यो अस्पताल हाल आएर ‘शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल’को नामले परिचित छ । यद्यपि सर्वसाधारण बिच ‘टेकु अस्पताल’को नामले बढी परिचित छ ।

एक दशक अगाडिसम्म पानीजन्य रोगबाट धेरै बिरामी हुने तथा मृत्युवरण गर्नु परेको तथ्यांक छ । सो समयमा पनि यस अस्पतालले खेलेको भूमिका प्रशंसनीय छ । त्यस्तै नेपालमा पहिलो पटक आधिकारिक रुपमा एचआईभी/एड्स विरुद्धको औषधी वितरण तथा बिरामीको उपचार सुरु पनि यही अस्पतालबाट भएको थियो ।  एचआईभी भाइरसको नाम सुन्दा मात्र पनि त्रसित हुने, लुकाउनु पर्ने समयमा पनि यो अस्पतालले संक्रमित बिरामीको उपचारमा कुनै कमी हुन दिएन ।

डा. शेरबहादुर पुन

अझ यसरी भनौं कि टेकु अस्पताल ‘एचआईभी/एड्स फ्रेन्डली’ अस्पताल थियो र अहिले पनि छ भन्दा अत्युक्ति नहोला । हाल संक्रमित/बिरामीकोलाई छुट्टै ‘एआरटी’ भवन मार्फत सेवा दिइरहेको छ ।

पछिल्लो समय किटजन्य रोगले अग्रता लिँदै आइरहेको देखिन्छ । डेंगु तथा स्क्रबटाइफसको ग्राफ बर्सेनि बढ्दै जानु यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।

विशेषतः सन् २०१९, २०२२ र २०२३ मा डेंगुले विशेष प्रभाव पारेको थियो । काठमाडौंमा सन् २०२२ मा देखिएको डेंगु महामारीले इतिहासमै सबैभन्दा धेरैको ज्यान लिएको तथ्यांक छ । नेपालमा डेंगु पुष्टि भएको २० बर्षमा लाग्दै गर्दा आगामी दिन यो भाइरस थप आक्रामक हुँदै जानेमा दुईमत देखिँदैन ।

हाल १०० शय्यामा सीमित यो अस्पतालले काठमाडौंको जनसंख्याको अनुपातमा आगामी वर्षमा बिरामी थेग्न सक्ने अवस्था देखिँदैन । यस्तो अवस्था अरु प्रकोप÷महामारीहरु देखिँदा नै अनुभव गरिसकिएको छ । तसर्थ अस्पतालको स्तरोन्नतिमा ढिलाइ गर्न हुँदैन ।

अस्पतालले अर्को महत्वपूर्ण अंग भनेको ‘अनुसन्धान विभाग’को विकास गर्नुपर्दछ । संक्रमण वा जिबाणु निरन्तर परिवर्तनशील छ । कोभिड–१९ महामारीमा भाइरसले आफूलाई निरन्तर स्वरुप परिवर्तन गरेर दुःख दिने गरेको सबैलाई थाहै छ । विभिन्न नामले चिनिने कोरोनाका भेरियन्टहरु यसका उदाहरणहरु हुन् ।

सो समय विश्वमा हरेक क्षण प्रकाशित हुने अनुसन्धानका नतिजाहरुप्रति सबै उत्सुक हुने र भाइरसको बारेमा जानकारी प्राप्त गर्ने विश्वनीय माध्यम हुने गर्दथे । सोही अनुसार हरेक देशले आ–आफ्नो निर्देशिका विकास गर्ने वा निर्देशिका परिमार्जनलाई निरन्तरता दिने गर्दथे । नेपाल पनि यसबाट अछुतो थिएन ।

अनुसन्धानका अथक प्रयासपछि मात्र कोरोना विरुद्धको खोप छोटो समयमा विकास हुन सम्भब भएको थियो । यसमा अनुसन्धानकर्ताहरुको दिन–रातको मिहिनेत प्रष्टै देखिन्छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल नेपाल सरकारको एकमात्र केन्द्रीय अस्पताल भएकाले ‘इमेरजिङ्ग तथा रि–इमेरजिङ्ग’ संक्रमणको जानकारी, प्रभावकारी उपचार तथा नवीनतम संक्रमणको जानकारीका लागि अनुसन्धान बिभागलाई थप विकास, सक्रिय र व्यापक गराउन जरुरी हुन्छ । दक्षिण एशियामा नै टेकु अस्पताललाई सरुवा रोग अनुसन्धानको क्षेत्रमा अग्रणी भूमिका खेल्न सक्ने अवस्थामा पुर्याउन सके यसले अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत आर्जन गर्न सक्नेछ ।

जब–जब महामारी/प्रकोप देखिन्छ, तब–तब सबैको आशा र भरोसाको अस्पताल ‘टेकु अस्पताल’ बन्दै आइरहेको छ । तर काठमाडौंमा बढ्दै गइरहेको जनसंख्या र आगामी दिनमा देखिन सक्ने अप्रत्यासित महामारीको भारलाई थेग्न अस्पताललाई कठिन हुनसक्नेछ । यसको लागि भौतिक संरचना, स्वास्थ/विज्ञ जनशक्ति तथा अनुसन्धान विकासमा बिशेष ध्यान दिन जरुरी हुन्छ ।

किनभने कोभिड–१९ अन्तिम प्यानडेमिक महामारी होइन/हुने छैन, भने २१ औ शताब्दीमा अप्रत्याशित रुपमा देखिन सक्ने नयाँ नयाँ घातक तथा तीव्र गतिमा फैलन सक्ने संक्रमणसँग लड्न यो अस्पताल सदैव तयार र सक्षम हुनुपर्नेछ ।

त्यसैले ठूला-ठूला महामारी/प्रकोप फैलिएर देश दुख्दा टेकु अस्पतालले मल्हम लगायो, सबैमा आशा र भरोसा दिलायो । अब अस्पतालको स्तरोन्नती तत्काल गरिन्छ भनेर सरकारले भरोसा दिलाओस् ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

लेखकको बारेमा
डा. शेरबहादुर पुन

लेखक सरुवा रोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?