+
+

अष्ट्रेलियामा सुष्मा कार्कीलाई प्रश्न : यतै घरजम गर्न लाग्नुभएको हो ?

राजन घिमिरे राजन घिमिरे
२०८० माघ १० गते १७:००

सिड्नी । अभिनेत्री सुष्मा कार्की सधैं चर्चामा हुन्छिन् । कहिले फिल्म र कहिले सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले उनलाई चर्चामा ल्याएका हुन्छन् ।

जे जसरी भएपनि फिल्ममा लागेदेखि सुष्मा गुमनाम हुनुपरेको छैन । यो मेसोमा उनको विदेश दौडाहा पनि चलिरहेको छ ।

यतिबेला उनी अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा यतिबेला गर्मीयाम छ । सिड्नीको यो गर्मीमा सुष्मा एक्कासि भेटिइन् । भेटमा उनले भनिन्, ‘म चरी हो, कहिले कहाँ त कहिले कहाँ उडिरहन्छु । उड्ने क्रममा कहिले कहाँ त कहिले कहाँ पुगिन्छ । अहिले सिड्नी आइपुगेकी छु ।’

एक कार्यक्रममा सहभागी हुन सिड्नी पुगेकी सुष्माले यहाँ आफ्ना थुप्रै फ्यानलाई भेटिन् । ‘यही त हो नि हामीले कलाकारितामा लागेर कमाएको धन । नेपालमा रहँदा होस् या नेपाल बाहिर जाँदा होस्, मैले सधैं माया र साथ पाइरहेकी छु,’ उनले प्रसन्नता व्यक्त गरिन् ।

मनमा कुरा नराख्ने अनि स्पष्ट विचार राख्ने उनको स्वभाव छ । उनको यो बानीलाई मनपर्ने सिड्नीमा धेरै रहेछन् । ‘म जे हो त्यही हो । नौटंकी गर्न आउँदैन मलाई । स्पष्ट बोल्दा मलाई धेरै पटक विवादमा पनि पारियो । तर मलाई केही फरक परेन । ढाँट्नु, धम्क्याउनु, पेल्नु वा अरूलाई मूर्ख बनाउनु मेरो पहिचान होइन । म हिजो पनि स्पष्ट, आज पनि र भोलि पनि यस्तै हो,’ उनले भनिन् ।

तीन साताअघि सिड्नी टेकेकी सुष्माले त्यहाँ आफूले पाएको माया, साथ र सम्मानका लागि अष्ट्रेलियाली डायस्पोराका नेपालीप्रति नतमस्तक छिन् । भन्छिन्, ‘सहर जस्तै सुन्दर मन हुनु हुने नेपालीलाई नमन गर्न चाहन्छु । यहाँ खुसी र सुखी देखें नेपालीलाई । एकले अर्कोलाई साथ र सहयोग गर्ने हामी नेपालीहरूको विशेषता यहाँ पनि पाए । धेरै खुसी लागेको छ । यहाँ नेपाली सांस्कृतिक कार्यक्रम र चलचित्रको बजार बिस्तार गर्न यहाँका आयोजकहरूले खेल्नु भएको भूमिकाको तारिफ गर्नैपर्छ ।’

सिड्नीमा यतिबेला उनी साथीभाइ र आफन्तहरूको भेटमा व्यस्त छिन् । सिड्नी आएको समयमा सुष्माले कतै यतै घरजम गर्ने विचार त गरेकी छैनन् ? सिड्नीमा चलेको चर्चाको बारेमा उनले यसो भनिन्, ‘त्यो सोच र उद्देश्यले म यहाँ आएको होइन । तर त्यसो भन्दैमा मेरो मनले खाएको पुरूष यहाँ नहोला पनि भन्न सकिन्न । त्यो पुरूष नेपालमा, सिड्नीमा वा अन्य देश जहाँ पनि हुनसक्छ । उड्दै जाँदा परिपक्व र बलियो गुँड जहाँ पाइन्छ, त्यहीं बास बस्न सक्छु ।’

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?