+
+

राष्ट्रिय सभाको घट्दो गरिमा, गठबन्धनले साना दललाई लाभ

राष्ट्रियसभाको अहिलेसम्म चार वटा चुनाव भएको छ र सबै चुनावमा गठबन्धन गर्दा साना दलहरुले लाभ लिएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० माघ ११ गते २२:१४

११ माघ, काठमाडौं । बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो ।

बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य निर्वाचित भए । बिहीबार निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित (हुन बाँकी) एक जनाको कार्यकाल २१ फागुनदेखि सुरु हुनेछ ।

कोको निर्वाचित भए ?

  • कोशी : कृष्णप्रसाद सिटौला (कांग्रेस), रुक्मिणी कोइराला ( एमाले)
  • मधेश : आनन्दप्रसाद ढुंगाना (कांग्रेस), पूजा चौधरी (जसपा)
  • बागमती : जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (कांग्रेस), श्रीकृष्ण अधिकारी (माओवादी), घनश्याम रिजाल (एकीकृत समाजवादी)
  • गण्डकी : किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (कांग्रेस), मनरुपा शर्मा ( माओवादी)
  • लुम्बिनी : विष्णुकुमारी सापकोटा (कांग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी)
  • कर्णाली : सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णु विक (माओवादी), कृष्णबहादुर रोकाया (कांग्रेस)
  • सुदूरपश्चिम : नारायण भट्ट र बलदेव बोहरा (कांग्रेस), रेणु चन्द (माओवादी)

बदलिएको अंकगणित

बुधबारको चुनावी परिणामसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा दलहरुको आकार हेरफेर भएको छ ।

सबभन्दा ठूलो पार्टी रहेको एमाले तेस्रोमा झरेको छ । राष्ट्रियसभामा हाल एमालेका १७ सदस्य (राष्ट्रपतिबाट मनोनित डा. विमला पौडेल राई बाहेक) छन् । उनीहरुमध्ये ८ जनाको पदावधि २० फागुनमा सकिने छ । बुधबार निर्वाचित भएकी रुक्मिणी कोराइला थपिँदा एमालेसँग १० सांसद मात्र हुनेछन् ।

माओवादी केन्द्र सबभन्दा ठूलो दल बनेको छ । अहिले दोस्रो दल माओवादीसँग १५ सांसद छन् । ३ जनाको कार्यकाल सकिँदा ५ जना थपिने भएका छन् र २१ फागुनबाट १७ सांसदसहित राष्ट्रियसभाको सबभन्दा ठूलो दल हुनेछ ।

कांग्रेस दोस्रोमा उक्लिने छ । अहिले कांग्रेस १० सांसदसहित तेस्रो दल छ । चार सांसदको कार्यकाल सकिँदा १० जना थपिने छन् र १६ सिटसहित दोस्रो ठूलो दल बन्ने छ ।

कर्णालीबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादी केन्द्रका विष्णु बिक

एकीकृत समाजवादीका ८ सांसद छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदा बिहीबार निर्वाचित भएकी पूजा चौथरी थपिने छन् ।

राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको एक सांसद छन् । सत्ता गठबन्धनमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको स्थानमा दुर्गा पौडेललाई ल्याउने सहमति भएको छ । त्यसो भएमा जनमोर्चाका पनि दुई सांसद हुनेछन् ।

लोसपाको एक सांसद राष्ट्रिय सभामा छन् ।

गठबन्धनले साना दललाई लाभ

राष्ट्रियसभाको चार वटा चुनाव भएको छ र सबै चुनावमा गठबन्धन गर्दा साना दलहरुले लाभ लिएका छन् ।

पहिलो पटक ५६ सिटका लागि भएको चुनावमा एमाले र माओवादी केन्द्रले तालमेल गरे र, ३९ सिट जिते । एकल संक्रमणीय मतका आधारमा कांग्रेसले १३ सिट जित्यो भने तत्कालीन संघीय समाजवादी र राजपाले २–२ सिट जिते ।

१८ सिटका लागि भएको दोस्रो चुनावमा पनि एमाले र माओवादीले तालमेल गरे । दुई दलले १६ सिट जित्दा उनीहरुको समर्थन पाएको राजपाले २ सिट पायो । तर कांग्रेस र संघीय समाजवादीले सबै सिटमा हार व्यहोरे ।

यो परिणामसँगै राष्ट्रिय सभामा एमाले–माओवादी गठबन्धनको सांसद संख्या ४९ सिट पुग्यो भने कांग्रेस ६ र तत्कालीन राष्ट्रिय जनता पार्टी दुई सिटमा सिमित भयो ।

तेस्रो चुनावमा दलहरु गठबन्धन गरे, गठबन्धन गर्ने दलहरु फेरिए । १९ सिटका लागि भएको निर्वाचनमा कांग्रेस– माओवादी गठबन्धनले साझा उम्मेदवार उठाए । त्यसबेला एमालेलाई क्लिनस्वीप गर्ने गठबन्धनको दाबी थियो, फ्लोर क्रस भएका कारण कोशीमा एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भए ।

यो पटक १९ सिटका लागि भएको निर्वाचनमा दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए कोशी बाहेक सबै प्रदेशमा कांग्रेस निर्वाचित हुने सम्भावना प्रबल थियो । कोशी प्रदेशमा भने एमाले उम्मेदवार जित्ने अवस्था थियो ।

तर सत्तारुढ दलहरुले गठबन्धन गरे, जसको लाभ माओवादी, एकीकृत समाजवादी र जसपालाई भयो ।

मधेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्दप्रसाद ढुंगाना ।

सातै प्रदेशमा न्यून मतभार रहेको एकीकृत समाजवादीका दुई उम्मेदवार निर्वाचित भए । बागमती प्रदेशमा एकीकृत समाजवादीको मतभार जम्मा ३४५ छ । तर गठबधनको बलमा घनश्याम रिजाल निर्वाचित भए ।

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका एक जना प्रदेश सांसद मात्रै छन् । जम्मा मतभार ५३ रहेपनि एकीकृत समाजवादीका उम्मेदवार सावित्री मल्ल विजयी भए ।

पुरानै प्रवृत्तिको निरन्तरता

गठबन्धन गरेका सत्तारुढ दलहरुले राष्ट्रियसभा सदस्य छनोटमा भने पुरानै प्रवृति दोहोरिएका छन् ।

अघिल्ला तीन चुनावमा प्रतिनिधिसभा, प्रदेश सभा मात्र होइन, स्थानीय तहका चुनाव लडेर जनताले अस्वीकृत गरेका पात्रहरु राष्ट्रिय सभामा ल्याएका थिए । अनुभवी राजनीज्ञ र विज्ञहरुलाई ल्याउनुपर्नेमा दलहरुले नेता व्यवस्थापन गर्ने थलो बलाउँदा राष्ट्रियसभाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

तर दलहरुले यो पटक पनि पुरानै प्रवृतिको निरन्तरता दिएका छन् । २०७९ को प्रतिनिधि सभा चुनावमा झापा–३ मा पराजित कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभामा आएका छन् । २०७९ को प्रदेशसभा सदस्यको चुनावमा रौतहट–३(क) मा पराजित पूजा चौधरी मधेश प्रदेशबाट विजयी भएकी छन् ।

कोशी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएपछि प्रमाणपत्र लिँदै कांग्रेस नेता कृष्णप्रसाद सिटौला ।

लुम्बिनी प्रदेशबाट निर्वाचित उम्मेदवार सावित्री मल्ल २०७९ को स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् । लुम्बिनीबाटै राष्ट्रिय सभा सदस्य निर्वाचित झक्कुप्रसाद सुवेदी ०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–६ मा पराजित भएका थिए ।

संविधानविद तथा संविधानसभाका सदस्य खिमलाल देवकोटा राष्ट्रिय सभा नेताहरुले चाहेको व्यक्तिको व्यवस्थापन गर्ने थलो बनेको बताउँछन् । पछिल्लो ६ वर्षको अनुभवका आधारमा दिइएको सुझावलाई दलहरुले यो पनि पालना नगरेको उनको गुनासो छ ‘राष्ट्रिय सभामा पाँडे पजनी जस्तो, जसलाई जे मन लाग्यो त्यही जिम्मेवारी दिने प्रवृत्ति देखियो, राइट म्यान राइट प्लेस होइन, च्वाइस म्यान च्वाइस प्लेस भयो ।’

गठबन्धनले पनि यसलाई प्रश्रय दिँदा राष्ट्रियसभाको गरिमा जोगाउन गाह्रो भएको उनी बताउँछन् । ‘गठबन्धन संस्कृतिका कारण नेता कार्यकर्ता व्यवस्थापन गर्ने मिसन चल्यो । यसैको निम्ति बनाएको हौं हामीले राष्ट्रिय सभा ?’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?