+
+

सेयर लगानीमा एभरेष्ट बैंक राम्रो कि स्ट्यान्डर्ड चार्टर्ड ?

स्ट्यान्डर्ड र एभरेष्ट दुवै बैंकको वित्तीय स्थिति मजबुत छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएका यिनै दुई बैंक हुन् । प्रतिसेयर आम्दानीमा एभरेष्टभन्दा स्ट्यान्डर्ड माथि देखिन्छ ।

कमल नेपाल कमल नेपाल
२०८० माघ १२ गते १७:२४

१२ माघ, काठमाडौं । सेयर बजारमा सबैभन्दा धेरै मूल्य रहेका वाणिज्य बैंक हुन्– स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक । मूल्यका आधारमा कहिले स्ट्यान्डर्ड त कहिले एभरेष्ट माथि पर्ने गरेका छन् ।

बिहीबार बजार बन्द हुँदा स्ट्यान्डर्डको सेयर मूल्य कित्ताको ५३८ रुपैयाँ छ भने एभरेष्टको ५३० रुपैयाँ छ । वाणिज्य बैंकमा ५०० भन्दा माथि मूल्य भएका यी दुई बैंक मात्रै हुन् । अबको बजारमा यिनै दुई बैंक अरूभन्दा माथि रहनेछन् । यसका केही कारणहरु छन् ।

वित्तीय स्थितिमा अब्बल कुन ?

स्ट्यान्डर्ड र एभरेष्ट दुवै बैंकको वित्तीय स्थिति मजबुत छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएका यिनै दुई बैंक हुन् । प्रतिसेयर आम्दानीमा एभरेष्टभन्दा स्ट्यान्डर्ड माथि देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार स्ट्यान्डर्डको वार्षिक प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६० पैसा छ भने एभरेष्टको २९ रुपैयाँ १२ पैसा छ । स्ट्यान्डर्ड चार्टर्डको सूचीकृत सेयर संख्या न्यून रहेकाले प्रतिसेयर आम्दानी बढी भएको हो । दुवै बैंकको खुद नाफा भने करिब उस्तै छ ।

स्ट्यान्डर्ड चार्टड बैंकले दोस्रो त्रैमासमा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने एभरेष्टले १ अर्ब ७१ करोड । खुद नाफा दुवै बैंकको उस्तै रहे पनि एभरेष्टले पहिलेको तुलनामा नाफा सामान्य बढाएको हो भने स्ट्यान्डर्डको थोरै खस्किएको हो ।

गत वर्ष दोस्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा स्ट्यान्डर्ड चार्टर्डको खुद नाफा १.७ प्रतिशत घटेको हो, तर एभरेष्टको खुद नाफा ७.८ प्रतिशत बढेको हो ।

बैंकको मुख्य व्यापार भनेकै ब्याजवापत आम्दानी हो । कर्जा प्रवाह रकम नै एभरेष्टको बढी भएकाले ब्याजवापत आम्दानीमा पनि स्ट्यान्डर्डभन्दा एभरेष्ट अब्बल देखिएको छ ।

सेयर लगानीकर्तालाई वितरण गर्न मिल्ने (वितरणयोग्य) नाफामा पनि एभरेष्ट अगाडि देखिएको छ । दोस्रो त्रैमाससम्म स्ट्यान्डर्डको वितरणयोग्य नाफा १ अर्ब १३ करोड छ भने एभरेष्टको २ अर्ब ४० करोड रुपैयाँ छ ।

यसले आगामी वर्ष लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता एभेरेस्टको बढी रहेको जनाउँछ । प्रतिसेयर नेटवर्थमा पनि स्ट्यान्डर्डभन्दा एभरेष्ट अगाडि देखिन्छ । मूल्य आम्दानी अनुपातका आधारमा एभरेष्टभन्दा स्ट्यान्डर्ड चार्टर्ड राम्रो छ । यसले एभरेष्टभन्दा स्ट्यान्डर्डमा सेयर लगानी गर्दा हुने आम्दानी उच्च रहेको जनाउँछ ।

कर्जा गुणस्तरमा एभरेष्ट अब्बल

बैंकहरूले गरेको कर्जाको गुणस्तर निष्क्रिय कर्जाले जनाउँछ । बैंकले दिएको कर्जामध्ये पनि समयमै उठ्न नसकेको कर्जाको अंशलाई निष्क्रिय कर्जाले जनाउँछ । निष्क्रिय कर्जा धेरै हुनुले धेरै ब्याज र सावाँ रकम बैंकले उठाउन नसकेको अवस्था छ भनेर जनाउँछ ।

कुल कर्जामा एभरेष्टको निष्क्रिय कर्जा ०.७७ प्रतिशत छ भने स्ट्यान्डर्डको १.६० प्रतिशत छ । अर्थात्, स्ट्यान्डर्डले कुल कर्जामा समयमै उठाउन नसकेको ब्याज र साँवा रकम उच्च छ । अरू बैंकभन्दा तुलनात्मकरूपमा यी बैंकको निष्क्रिय कर्जा भने न्यून हो ।

दोस्रो त्रैमाससम्म एभरेष्ट बैंकको सम्भावित ‘लोन लस प्रोभिजन’ (इम्पेरिमेन्ट चार्ज) ४३ करोड २३ लाख रुपैयाँबराबर छ भने स्ट्यान्डर्डको ५ करोड १३ लाख रुपैयाँ छ ।

कुल निष्क्रिय कर्जामा स्ट्यान्डर्डको लोन लस प्रोभिजन १ सय ५३ प्रतिशत हो भने एभरेष्टको २ सय ६३ प्रतिशत हो । आगामी समय लोन लस प्रोभिजन रिकभर हुँदा एभरेष्टको नाफामा उच्च वृद्धि हुने सम्भावना यसले देखाउँछ ।

दुवै बैंकको लाभांशमा १० वर्षे इतिहास

दुवै बैंकले प्रायः नगद लाभांशमा जोड दिने गरेका छन् । एभरेष्ट र स्ट्यान्डर्डकै तुलना गर्दा भने स्ट्यान्डर्डले नगद बढी र एभरेष्टले बोनस सेयर बढी दिएको देखिन्छ । चुक्ता पूँजी बढाउनुपर्ने बाध्यताका कारण २०७३ र २०७४ मा दुवै बैंकले उच्च बोनस सेयर दिएका छन् ।

यो वर्ष पनि दुवै बैंकले सेयरधनीलाई अन्य बैंकको तुलनामा राम्रो लाभांश दिएका छन् । एभरेष्टले १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनससहित २०.५३ प्रतिशत लाभांश दियो भने स्ट्यान्डर्डले १९ प्रतिशत नगद लाभांश दिएको थियो ।

सेयर बजारमा उस्तै मूल्य प्रतिस्पर्धा

सेयर बजारमा पनि यी दुई बैंकको मूल्य प्रतिस्पर्धा उस्तै देखिन्छ । अहिले प्रतिकित्ता मूल्य ५ सयभन्दा माथि भएका वाणिज्य बैंक यी दुई मात्रै हुन् । अरू सबै वाणिज्य बैंकको सेयर मूल्य ५ सयभन्दा तल छ ।

बिहीबार बजार बन्द हुँदा यी कम्पनीको सेयर मूल्यमा जम्मा ७ रुपैयाँ ९० पैसाको अन्तर छ । स्ट्यान्डर्डको प्रतिकित्ता मूल्य ५ सय ३८ छ भने एभरेष्टको ५ सय ३० रुपैयाँ १० पैसा छ । पछिल्लो एक वर्ष हेर्दा स्ट्यान्डर्डभन्दा एभरेष्टको मूल्य उतारचढाव बढी देखिन्छ ।

मूल्यमा कहिले एभरेष्ट माथि हुने त कहिले स्ट्यान्डर्ड माथि हुने गरेका छन् । स्ट्यान्डर्डभन्दा एभरेष्टको मूल्य उतारचढाव अलि बढी देखिने गरेको छ । एक वर्षको हेर्दा एभरेष्टको अधिकतम मूल्य प्रतिकित्ता ६ सय ३३ रुपैयाँसम्म पुगेको छ भने स्ट्यान्डर्ड चार्टडको ५ सय ८२ रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै विगत १ वर्षलाई हेर्दा एभरेष्टको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ४८ रुपैयाँसम्म झरेको छ भने स्ट्यान्डर्डको ४ सय ८८ रुपैयाँसम्म मात्रै झरेको छ ।

विगत १ वर्षको मूल्य ट्रेन्ड

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?