+
+

आवेदकभन्दा बाहिरका उपकुलपति बनाउन सम्भव छ ?

नुनुता राई नुनुता राई
२०८० माघ १२ गते २१:३६

१२ माघ, काठमाडौं । देशकै जेठो विश्वविद्यालय तीन महिनादेखि निमित्त उपकुलपतिको भरमा छ । १६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा रेक्टर प्रा.डा.शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गरेको थियो ।

निमित्त उपकुलपति भुषालको कार्यकाल पाँच दिन मात्रै बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट प्रक्रियाले आमरुपमा विश्वास जित्न सकेको छैन ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनेको छ । समितिले २० पुसमा आवेदन मागेको थियो, तर अमूक व्यक्तिलाई उपकलुपति बनाउने गरी योग्यता तोकेको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञापन रद्द गराए ।

२३ पुसमा नयाँ सूचना निस्कियो, जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । तर यसमा पनि प्रश्न उठेको छ । किनकी आवेदन दिनेहरुमध्ये अधिकांश सत्तारुढ नेपाली कांग्रेस र माओवादी निकट प्राध्यापक छन् ।

१० माघमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पूर्व उपकुलपति केदारभक्त माथेमा लगागायतका प्राज्ञिक व्यक्तित्वहरुले उपकुलपति छनोट प्रक्रियामा असन्तुष्टि जनाए । उनीहरुले प्रमुख दलहरुले विश्वविद्यालयमा दलीयकरण नगर्ने प्रतिवद्धता जनाउनुपर्ने र सर्च कमिटीले आवेदन माग्ने मात्र होइन, योग्य व्यक्तिहरुको रोष्टर बनाएर उपकुलपति सिफारिस गर्नुपर्ने बताएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आवेदक बाहिरको नाम दिन समेत प्रस्ताव गरेका छन् । यससँगै आवेदक बाहिरबाट पनि उपकुलपति बनाउन सकिन्छ भने बहस सुरु भएको छ ।

पूर्व उपकुलपति केदारभक्त माथेमा त्रिवि सुधार गर्नको लागि आवेदक भन्दा बाहिरबाट पनि बनाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘अहिले बनेको सर्च कमिटी हो । जसले गर्दा उसले उपयुक्त व्यक्ति नभेटेसम्म खोज्नुपर्छ, आवेदनबाट पनि खोज्ला अथवा अरु उपायबाट पनि खोज्ला ।’

तर सर्च कमिटीले भने त्यस्तो संकेत गरेको छैन । कुलपति समेत रहेका प्रधानमन्त्रीले उपकुलपति पद रिक्त हुनु ३/६ महिना अघि देखाउनुपर्ने चासो अहिले देखाएको भन्दै मन्त्रालय स्रोतले भन्यो, ‘कसैलाई चित्त बुझेर वा नबुझेर अर्को विधि अपनाउन सकिन्न । जत्ति आवेदन परेको छ, त्यहीँबाट उत्कृष्ट छनौट गरेर जाने हो ।’

मन्त्रालयका अधिकारीहरुका अनुसार सर्च कमिटीको कार्यविधिअनुसार पनि आवदेक ४३ भन्दा बाहिर जान सम्भव छैन ।

किनकि कार्यविधिमै आवेदन आह्वान गर्ने, त्यसअनुसार आवेदन दिएकाहरु मात्र उम्मेदवार हुने उल्लेख छ ।

र, त्यसरी आवेदन दिएकाहरुको मूल्यांकन गरेर एक तिहाइको सर्ट लिस्ट (अल्पसूची) निकाल्नुपर्ने उल्लेख छ । सर्ट लिस्टमा परेकाहरुको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिनुपर्नेछ । यसमा सबभन्दा धेरै अंक पाउने तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्ले पनि आवेदकमध्येबाटै कुशल नेतृत्व छनोट गर्नुपर्ने बताउँछन् । अहिलेको सूचनालाई रद्द गरेर वा समय थप गरेर जाने ठाउँ र समय दुवै नभएको उनको जिकिर छ । वाग्लेले भने, ‘अब आवेदक आइसकेकाले थप सिफारिस खोज्नु आवश्यक छैन, यही मध्येबाट योग्य छनौट गर्नुपर्छ ।’

त्यसका लागि हालका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको मूल्यांकनमा केही फरक विधि अपनाउनुपर्ने उनको सुझाव छ । उनीहरुको योजना मात्र होइन, पदमा हुँदा गरेको कामको पनि मूल्यांकन गरेमात्रै निष्पक्ष हुने उनी बताउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?