+
+

त्रिवि उपकुलपतिमा सही व्यक्ति छनोट हुनेमा आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १७:२७

७ फागुन, काठमाडौं । अहिले शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियालाई लिएर धेरै बहस र विवाद छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा गठन गरेको सिफारिस समितिले आइतबार ३ जनाको नाम दिएको छ । तर उपकुलपति छनोटको विधि नै बेठीक भएको कतिपय विज्ञहरुले बताएका छन् ।

सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । अब प्रधानमन्त्रीले यी तीन मध्ये एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् ।

त्रिविकी प्राध्यापक डा. सुशन आचार्य उपकुलपति छनोट प्रक्रिया नै बेठीक रहेको बताउँछिन् । ‘प्रक्रिया नै भएन भन्दै आएको हो । तर सिफारिस नै भइसकेपछि पर्खौं र हेरौं भन्नुको उपाय रहेन’, उनी भन्छिन् ।

त्रिभवुन विश्वविद्यालयको शासकीय संरचना परिवर्तन गरेर बोर्ड अफ ट्रस्टी मार्फत जानुपर्ने कुराको वकालत गर्दै आएका प्रा.डा. चैतन्य मिश्र पनि उपकुलपति छनोटको प्रक्रिया गलत भएको बताउँछन् ।

‘मुख्य कुरा मूल नै सफा छैन । बेठीक प्रक्रियाबाट निस्किएको ठीकै आउटकम हो भन्छु म’, उनले भने ।

समितिले उपकुलपति छनोट प्रक्रिया सुरु भइसकेपछि प्रधानमन्त्री प्रचण्डले मिश्रसहित पाँच जना प्राज्ञहरुसँग छलफल तथा सुझाव लिएका थिए । त्यसबेला पनि प्रधानमन्त्रीलाई त्रिवि सुधार गर्न बोर्ड अफ ट्रस्टी मार्फत जानुपर्ने, तत्कालको प्रक्रियाबाट जाँदा राजनीतिक हस्तक्षेप मुक्त बनाएर जिम्मेवारी पाएको व्यक्तिले काम गर्ने वातावरण बनाइदिनुपर्ने सुझाव दिएको मिश्र बताउँछन् ।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला पनि उपकुलपति छनोट प्रक्रियामा कुनै नौलो अनुभूति नभएको बताए । तर, उपकुलपतिले कसलाई नियुक्त गर्छन् र नियुक्त हुनेलाई काम गर्ने वातावरण कस्तो बनाउँछन् भन्ने कुराले फरक पार्ने बताए ।

उनी भन्छन् ‘छानिएको नामलाई लिएर विमति छैन । तर, छान्ने प्रक्रियामा विमति हो । सर्च कमिटी हो कि दल कमिटी भन्ने हो ।’

प्रा. डा. मनप्रसाद वाग्ले पनि उपकुलपति छनोटमा आशंका गर्ने ठाउँ रहेको बताउँछन् । त्रिवि उपकुलपतिको लागि कार्यविधि बनाएर खुला प्रतिस्पर्धा गराउने प्रक्रिया सकारात्मक भएको उनी बताउँछन् ।

‘पहिलो पटक अपनाएको यो प्रक्रियामा प्रश्न गर्ने ठाउँ छैन तर सिफारिस भएका नामहरुमा भने आंशका गर्ने ठाउँ देखियो’, उनी भन्छन् ‘दुई जना माओवादी र एक जना एमाले परेको र त्यसमा पनि पहिलो र दोस्रोमा माओवादी उम्मेदवार भएकाले घुमाई फिराई माओवादी नै बनाउन खोजेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?