+
+

पूर्वाञ्चलमा सर्टलिस्ट ननिकाली उपकुलपति सिफारिस गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १९:१९

१७ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि पदका परेकोे आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कन भइरहेको जनाएको छ ।

छनोट तथा सिफारिस समितिका सदस्य रमेशचन्द्र पौडेलको अनुसार विज्ञहरुले आवेदकहरुको सोचपत्र र कार्ययोजनाकोे मूल्याङ्कन गरिरहेका छन् । विज्ञहरुले सोचपत्र र कार्ययोजनाको मूल्यांकन गरिसकेपछि प्रस्तुतिकरण तथा अन्र्तवार्ता हुने र त्यसको मूल्याङ्कनको आधारमा तीन जनाको नाम सिफारिस हुनेछन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० मा मूल्याङ्कनको औषत अंकको आधारमा जम्मा प्राप्ताङ्क कायम गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको अल्पसूची प्रकाशन गर्ने भनिए पनि समितिले आवेदक कम रहेको भन्दै अल्पसूची सार्वजनिक नगरी तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

सदस्य पौडेलले भने ‘अहिले विज्ञहरुले कार्ययोजना तथा अनुसन्धानमूलक लेखको मूल्यांकन सक्नुभएपछि प्रस्तुतिकरण र अन्र्तवार्ता हुन्छ त्यसको आधारमा तीन जना सिफारिस गर्ने तयारी छ ।’ समितिले ९ फागुनमा १८ जना आवेदकको नामावली सार्वजनिक गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने रमेशचन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समितिले २३ माघमा उपकुलपति पदका लागि आवेदन माग गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव कोइरालाको कार्यकाल शुक्रबार (भोलि) सकिने भए पनि १४ गते नै उनको बिदाइ भैसकेको विश्वविद्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?