+
+

आकाश चन्द : नेट बलरदेखि विश्वकपमा नेपालको हिरोसम्म

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १३ गते १५:०१

१३ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए ।

दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो योगफल बनाउने लक्ष्य राखेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानको लागि आकाश ‘भिलेन’ बने । नेपालको त ‘सुपर हिरो’ ।

उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि अफगानिस्तान सुरुवातमै ११.३ ओभरमा ४३-६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसैको कारण अफगानिस्तानका ठूलो योगफलको सम्भावना सकिएको थियो । खेलको प्लेयर अफ द म्याच पनि उनी नै चुनिए । उनले सुरुआती ६ ओभरमा मात्रै १३ रन खर्चेर ५ विकेट लिएका थिए । ८ ओभरमा ३४ रन खर्चेर पाँच विकेट लिए ।

न्युजिल्यान्डसँग खेलमा तीन विकेट लिंदै आफ्नो लय समाएका थिए । उनको सुरुआत भने नेपाली यू-१९ क्रिकेटमा नेट बलरदेखि भएको हो । नेपाल क्रिकेट संघ (क्यान) २०१६ को निलम्बनमा परेपछि घरेलु प्रतियोगिता शून्य जस्तै थियो । २०१७ देखि सिनियर टोलीको प्रधानमन्त्री कप सुरु भएको थियो । उमेर समूह क्रिकेट नेपालमा कतै हुँदैन थियो ।

त्यसैले यू-१९ टोली निर्माण ट्यालेन्ट हन्टबाट आयोजना हुन्थ्यो । नेपालका वर्तमान टोलीका कप्तान रोहित पौडेल पनि यू-१९ ट्यालेन्ट हन्टबाटै आएका खेलाडी हुन् ।

कञ्चनपुर घर भएका आकाश चन्दले गाउँतिर राम्रो क्रिकेट खेलेका थिए । तर, उनले आफ्नो प्रदर्शन देखाउने अवसर भने पाएका थिएनन् । भीम सार्की नेपालको त्यो समय यू-१९ टोलीका प्रमुख सदस्य थिए ।

भीम आफ्नो गाउँ गएको बेला आकाशबाट प्रभावित भएका थिए । त्यसैको कारण भीम सार्कीले उनलाई नेट बलरको रुपमा हेर्दिन जगत टमाटालाई आग्रह गरेका थिए । त्यो समय टमाटा आईसीसीको छनोट समिति, राखेपको क्रिकेट प्रमुख प्रशिक्षक र सिनियर टोलीको मुख्य प्रशिक्षक थिए । त्यसैको कारण उनी कञ्चनपुरबाट नेट बलरको रुपमा काठमाडौं आएका थिए ।

‘उता गाउँतिर त्यसले राम्रो गरेको थियो । हामीले गुरुसँग कुरा गरेर नेटमा आएको थियो । खासमा त्यो ब्याटर थियो । तर पछि बलिङ गर्दा गर्दै बलर बन्यो । पहिला प्रतियोगिता हुँदैन थियो । त्यसैले गुरु यस्तो बलर छ नेटमा फाल्न भएपनि बोलाउनु न भनेर कुरा गर्दिएका थियौं’, भीमले त्यो दिन सम्झदै भने ।

त्यसै समयमा नेपालको यू-१९ प्रशिक्षण टीयुमै चलेको थियो । स्पिनर सन्दीप लामिछानेले पनि यू-१९सँगै अभ्यास गरेका थिए । यू-१९ को प्रशिक्षणमा नरहे पनि नेटमा ब्याटिङमा सन्दीप लामिछानेलाई आकाश चन्दले त्यो समय दुई छक्का हानेपछि तत्कालीन यू-१९ मुख्य प्रशिक्षक विनोद दासको नजर उनीमाथि गएको थियो ।

सन्दीपलाई हानेको एक छक्का र एक चौका हान्नु उनको करिअरको टनिङ प्वाइन्ट बन्यो । नेपालले २०१९ जुनमा हैदराबादमा भारतको ३ टोलीसँगै नेपाल यू-१९ च्यालेन्जर सिरिज खेलेको थियो । त्यो सिरिजमा उनले पहिलो पटक नेपालको यू-१९ खेल खेल्ने मौका पाएका थिए ।

२०१९ मा विश्वको चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल भ्रमणमा आउँदा उनले नेपाल ए बाट खेल्दै एक विकेट लिएका थिए ।

घरेलु क्रिकेटमा बेन्चमा

२०१९ मा दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा उनलाई पोखरा पल्टनले टोलीमा किनेको थियो ।

तर उनले एक खेल पनि खेल्न पाएनन् । २०२१ मा एभरेष्ट प्रिमियर लिगमा उनी काठमाडौं र गत वर्ष नेपाल टी-२० लिगमा लुम्बिनी टाइगर्सको टोलीमा थिए । तर एक खेल पनि खेल्ने अवसर पाएका थिएनन् ।

उनले २०२१ देखि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । आर्मीमा सोमपाल कामी, जितेन्द्र मुखिया र बिक्रम सोब पहिलो रोजाइमा खेल्दा उनी बेन्चमा बस्दै आएका थिए । २०२१ को पिएमकपमा तीन र २०२२ मा पूरै खेलमा बेन्चमा बसेका थिए ।

गुलशन नखेल्ने भएपछि यू-१९ मा पुनरागमन

२०१९ मा भारत भ्रमणपछि नेपालको यू-१९ को अन्तर्राष्ट्रिय खेल परेन । २०२१ को यू-१९ एसिया कपमा उनी नेपालको टोलीमा पर्न सकेनन् ।

गत वर्ष यूएईमा सम्पन्न आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र डिभिजन एकको छनोटमा उनी सुरुआतमा नेपालको टोलीमा थिएनन् ।

तीव्र गतिका बलर गुलशन झा सिनियर टोलीबाट आईसीसी विश्वकप लिग-२ खेल्ने भएपछि उनले यू-१९ मा मौका पाएका थिए । त्यो अवसरलाई भने उनले खेर फालेनन् । त्यसपछि पहिलो रोजाइमा खेल्दै आएका छन् ।

विश्वकप छनोट २०२३ एसिया अन्तर्गत यूएईमा ४ खेलमा ११ विकेट लिंदै विश्वकपमा स्थान पक्का गरेका थिए । जसक्रममा उनले कुवेतविरुद्ध ६ विकेट लिंदै सनसनी मच्चाएका थिए । त्यसपछि उनले नेपाललाई एसीसी यू-१९ प्रिमियर कपको उपाधि दिलाउन २०२३ मा ८ विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए ।

हेमन्तसँग छुटेको जोडी

२०२२ को डिसेम्बरमा सुदूरपश्चिमलाई यू-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सानदार प्रदर्शन गरेका हेमन्तले १९ र आकाशले १५ विकेट लिएका थिए ।

यू-१९ विश्वकप छनोट, यू-१९ प्रिमियर कप र यू-१९ एसिया कपमा यी दुई जोडी मज्जाले जमेका थिए । हेमन्तले नयाँ बलका साथ इनस्वींग र आकाशले बाउन्सका साथ विकेट लिंदै आएका थिए । तर खुट्टामा चोटका कारण हेमन्त विश्वकप टोलीमा छैनन् ।

सिनियर टोलीको पनि नेट बलर

आकाश २०२१ देखि लगातार सिनियर टोलीको नेट बलरको रुपमा प्रभाव जमाउँदै आएका छन् । नेट बलरबाट नै बायाँ हाते प्रतिश जि.सीले नेपाली टोलीमा खेलिसकेका छन् । आकाश र प्रतिश नेपालको लगातार नेट बलरको रुपमा रहँदै आएका थिए ।

घरेलु प्रतियोगितामा प्लेइङ-११ मा मौका नपाए पनि उनले टीयुमा नियमति प्रशिक्षण गर्दै आएका थिए । नेपालको सिनियर टोलीसँग बन्द प्रशिक्षणमा नेट बलरको रुपमा आफूलाई निखार्दै लगे । त्यसैको कारण उनीमा निखारपन बढ्दै आएको हो ।

गत वर्ष तत्कालीन मुख्य प्रशिक्षक मनोज प्रभाकरले उनलाई सिनियर टोलीमै राख्नुपर्ने तर्कसमेत राखेका थिए । यू-१९ टोलीले गत वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताअघि आफ्नो तयारीको रुपमा सिनियर टोलीसँग अभ्यास खेल खेल्दै आएको छ ।

सिनियर टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक मोन्टी देशाई पनि उनीबाट प्रभावित भएका थिए ।

नेपाल ए को ढोका सहज

क्यानले यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपाल ए मा समेट्ने जनाइसकेको छ । आकाशले यू-१९ विश्वकपमा सानदार प्रदर्शन गर्दै नेपाल ए को यात्रा सहज बनाएका छन् । प्रधानमन्त्री कप र यू-१९ विश्वकपमा राम्रो गर्ने खेलाडी नेपाल ए को टोलीमा हुनेछन् ।

आकाश भन्छन् – गुरुले करिअरकै उत्कृष्ट बलिङ गर्नु भन्नुभएको थियो 

बुबा धनी र आमा जानकी चन्दकोको कान्छो छोराका रुपमा महनेद्रनगरमा जन्मिएका आकाश झण्डै क्रिकेट छोडिसकेका थिए ।  सात वर्षअघिदेखि क्रिकेट सुरु गरेका उनी यसपटक सम्किए । र, उनले अफगानिस्तानविरुद्ध नेपाललाई जिताउन भूमिका खेलेर ‘हिरो’ बने ।

बलिङ गर्न जानुअघि गुरुले आफूलाई एक्लै राखेर करिअरकै उत्कृष्ट बलिङ गर्न भनेको आकाशले बताए । ‘गुरुले मलाई बलिङ जानुअघि आज कै दिन हो । आज करिअरकै उत्कृष्ट बलिङ गर्नु भन्नु भएको थियो ।  बलिङमा गुरुले ममा बढी विश्वास गर्नु भएको थियो । मलाई एक्लै राखेर त गर्न सक्छस् भन्नु भएको थियो ।’, उनले भने, ‘म चौका र छक्का जे खाए पनि बल योर्कर र फुलर प्रयास गर्छु सोचेको थिएँ,’ आकाशले भने ।

पाँच विकेट लिन्छु भनेर नसोचेको उनले बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मैले जति विकेट लिए पनि टिमलाई जित्ने गरी लिन्छु सोचेको थिए । त्यसपछि विकेट लिंदै गए र अब हुन्छ जस्तो लाग्यो ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?