+
+

कर्णालीमाथि फराकिलो जितले आर्मीको फाइनल सम्भावना बलियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १५:२६

१४ माघ, काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १६४ रनको फराकिलो अन्तरले हराएको छ । यस जितले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने आर्मीको सम्भाबना बलियो बनेको छ।

जितको लागि २८० रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अल आउट भयो । कर्णालीका हिमान्शु शाहीले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १९ रन बनाए ।

कप्तान रविन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावत १२–१२ रनमा आउट भए । विपिन शाही १० बलमा २ चौका र १ छक्कासहित १४ तथा दीवान पुन १४ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ६ ओभरमा २ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । साहब आलमको नाममा १ विकेट रह्यो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो। आर्मीको जितमा कप्तान विनोद भण्डारी १३२ बलमा ६ चौका र ३ छक्कासहित १०० रनको अविजित शतकीय इनिङ खेले ।

अलराउन्डर बसिर अहमद ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनमा नट आउट रहेका थिए । प्रकाश जैसीको अन्तिम ओभरको पाँचौं बलमा बसिरको क्याच छाडेका थिए । उनले दुई रन लिन खोजे पनि दोसो रन लिन विनोदले जोखिम लिएनन् ।

अन्तिम बलमा दुई रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । विनोद भण्डारीको यो प्रधानमन्त्री कप इतिहासमा तेस्रो शतक हो । उनी प्रधानमन्त्री कपमा तीन शतक हान्ने पहिलो खेलाडी बनेका छन् । उनीपछि पुलिसका दीपेन्द्रसिंह ऐरीले २०२२ मा एकै संस्करणमा दुई शतक हानेका थिए । विनोदको यो सिजनको दोस्रो शतक हो ।

गत हप्ता मधेशसँग ११३ रन बनाएका विनोदले गण्डकीसँग २०२१ मा १११ रन बनाएका थिए । छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको साझेदारी गरे । यो छैटौं विकेटका लागि उच्च साझेदारी हो । २०१९ मा पुलिसका कुशल भुर्तेल र दीलिप नाथले कर्णालीविरुद्ध १३९ रनको साझेदारी गरेका थिए ।

आर्मीको सुरुवात भने त्यति राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर प्रकाश जैसीको बलमा ओपनर इमरान शेख पहिलो ओभरको पाँचौं बलमा एज लागेर विकेटकिपर अर्जुन घर्तीबाट ५ रनमा क्याच आउट भए ।

स्पिनर दीपेन्द्र रावतलाई ठूलो सट खेल्ने धुनमा सन्तोष कार्की ११ रनमा आउट भएका थिए । रावतले भीम सार्कीलाई २५ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ३ चौका हाने । विवेक यादव ६ रनमा आउट भएपछि आर्मी १३ ओभरमा ७०–४ को अवस्थामा पुगेको थियो ।

कुशल मल्ल १८ बलमा २ छक्कासहित २१ रनमा आउट भए । त्यसपछि आर्मीलाई बसिर र विनोद भण्डारीले सम्हाल्लेका थिए । कर्णालीका दीपेन्द्र रावतले ९ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए ।

आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अव भोली सुदूरपश्चिम र बिहीबार गण्डकीसँग टियुमा खेल्नेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्द दुबै खेलमा जित आवश्यक छ ।

पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा हार र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोली इलिट ट्रफी खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?