+
+

कोरियाको भिसा नपाउँदा रजनीले गुमाएको अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० माघ १६ गते ८:११

१६ माघ, काठमाडौं । आफूले हराएको प्रतिस्पर्धीले स्वर्ण पदक जित्दा शारीरिक सुगठनकी खेलाडी रजनी श्रेष्ठसँग टुलुटुलु हेरेर बस्नुको विकल्प भएन ।

दुई महिनाअघि दक्षिण कोरियामा भएको १४औं वर्ल्ड बडिबिल्डङ तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा जाने तयारी गरेकी उनले भिसा नपाएका कारण जान पाइनन् ।

९ सेप्टेम्बरदेखि सुरु हुने प्रतियोगिताका लागि उनले १५ दिनअघि नै भिसाको आवेदन दिएकी थिइन् । आवेदन बुझ्ने कोरियन कन्सुलर कार्यालयका कर्मचारीले प्रतियोगिता नजिकै भएकाले तपाईंको आवेदन प्राथमिकतामा राखिदिन्छु पनि भनेका थिए ।

सेप्टेम्बर ५ तारिखमा कोरिया प्रस्थान गर्ने उनले हवाइ टिकट काटेकी थिइन् । तर भिसा आएन । त्यसपछि टिकट ८ तारिखलाई सारिन्, जुन दिन उनी पुग्नै पर्ने थियो । तर उनको न भिसा आयो न त कोरियन कन्सुलरबाट कुनै खबर नै । कोरियाको प्रतियोगिता सकिएपछि उनले भाइलाई पठाएर आफ्नो राहदानी फिर्ता लिइन् ।

कोरियामा भएको यो प्रतियोगितामा रजनीले भाग लिने ५५ किलो तौल समूहमा भियतनामकी दिन किम लोङले स्वर्ण, मलेसियाकी मिलाउरा दोरा जिम्मीले रजत र भारतकी सविता बनियाले कास्य पदक जिते ।

स्वर्ण जित्ने भियतनामकी दिन कम र रजत जित्ने भारतीय सवितालाई रजनीले २०२३ को सेप्टेम्बरमा नेपालमै भएको ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा हराएकी थिइन् । रजनीले स्वर्ण जितेको यो प्रतिस्पर्धामा सविताले रजत र दिन कमले कास्य जितेका थिए ।

‘मैले हराएको खेलाडीले स्वर्ण जितिन्, मैले भिसा नपाउँदा खेल्नै नपाइ हारें’, उनी भक्कानिइन् ।

त्यतिबेला ४५ दिनको तयारीले उनले स्वर्ण पदक जितेकी थिइन् । खेल हुने ४५ दिनअघि खबर पाएकी उनले १७ किलोग्राम तौल घटाएकी थिइन् ।

तौल घटाउन नुन खान छाडेकी उनले प्रतियोगितामा भाग लिन जानुअघि तौल नाप्दा ५५.९ केजीको थिइन् । उनको तौल बढी देखेर डिभाइन फिटनेस सेन्टरका उनका प्रशिक्षक रुजेश शाहीले तौल नाप्नु अघि उनलाई फनफनी घुमाएका थिए ।

‘म बेलाबेला ढलिरहेकी थिएँ । उहाँले मलाई फननन घुमाउनुभयो’ उनले भनिन्, ‘तौल नाप्ने मेरो पालो आएपछि उहाँले मलाई डोर्‍याएर लैजानुभयो, तौल ठिक्क ५५ केजी भयो, मैले खेल खेल्न पाएँ र देशको झण्डा फहराउन पनि ।’

चार महिनाअघिको यो अनुभवले उनी यसपटक वर्ल्ड स्टेजमा खेल्न तयार थिइन् । तर प्रतियोगिता खेल्न जान उनलाई दक्षिण कोरियाले भिसा दिएन । दुई महिनाको कडा मिहिनेत गरेर पनि प्रतियोगिता खेल्न वञ्चित भएकी उनी आफैंले हराएका खेलाडीले पदक जितेको थाहा पाएर स्तब्ध भइन् । ‘मैले वर्ल्ड च्याम्पियनसिपका लागि एसियन गेम्समा भन्दा पनि बढी मेहनत गरेको थिएँ, तर…।’ भावुक भएकी उनले वाक्य पूरा गर्न सकिनन् ।

बिरामीले देखाएको बाटो

घाँटीमा मासुका डल्ला पलाएपछि उनी निकै पीडामा थिइन् । नेपालका प्रायः सबै अस्पताल धाइसकेकी रजनीले भारतमा पनि उपचार गराइन् । उनको स्वास्थ्य जाँच गरेका धेरैजसो डाक्टरले क्यान्सर भएको भने । ‘प्रायः सबै ठाउँमा देखाएँ सबैले क्यान्सर भएको भन्नुभयो । भारत पनि पुगें तर त्यहाँ पनि क्यान्सर भन्नुभयो’, उनी सम्झिन्छिन् ।

डाक्टरले क्यान्सर भएको भने पनि यकिन नहुँदा उनी डेढ दुई वर्ष शारीरिकसँगै मानसिक पीडामा रहिन् । उनी डिप्रेसनको शिकार भइन् ।

उनको अवस्था देेखेर श्रीमान र छोरासमेत चिन्तित भए । एक दिन उनका श्रीमान समीर श्रेष्ठले सबै खालका शारीरिक समस्यालाई समाधान गर्न व्यायाम र कसरत निकै महत्वपूर्ण हुने सुनाए ।

‘म निकै तनावमा थिएँ । शारीरिकसँगै मानसिक पीडा पनि थियो । म गलिसकेकी थिएँ । त्यही बेला श्रीमानले मलाई जिम जान सुझाव दिनुभयो,’ श्रीमानको सल्लाहमा उनी पहिलो पटक मित्रपार्कमा रहेको जिमखानामा जान थालिन् ।

जिमखानामा उनले अञ्जन शाहीको प्रशिक्षणमा व्यायाम थालिन् । जिम धाएको २ महिनामै घाँटीका गाँठागुँठी हराए । ‘मेरो रोग त सञ्चो भयो भयो, मेरो शरीरको आकार पनि परिवर्तन भयो’, उनले हौसिँदै सुनाइन्, ‘त्यसपछि मैले कसरत र व्यायाममा झनै नै ध्यान दिन थालें ।’

आफूलाई बडी बिल्डिङमा लाग्ने बाटो देखाउन नै घाँटीमा गाँठागुँठी आएका रहेछन् भन्ने उनलाई लागेको छ । ‘त्यस्तो बिरामी भएको मान्छे भगवानले नै मलाई फिटनेसमा जाऊ अनि यो क्षेत्रमा लाग भन्नुभएको जस्तो भान भयो’, रजनी भन्छिन् ।

पहिलो सहभागितामै स्वर्ण

व्यायमबाट शरीर नै परिवर्तन भएपछि उनलाई जिमका ट्रेनर र श्रीमानले बडी बिल्डिङ प्रतिस्पर्धामा भाग लिन सुझाए ।

पारिवारिक माहोलबाट बिकिनीमा स्टेजमा उक्लिन उनलाई सहज थिएन । बुहारी त्यहीमाथि एक सन्तानको आमा भन्ने सामाजिक दृष्टिकोणलाई चिर्न उनका श्रीमान् समीरले सहयोग गरे ।

जिम जान थालेको ८ महिनामै उनले सन् २०१७ मा मिस्टर काठमाडौंमा प्रतिस्पर्धा गरिन् । १२ जना महिला प्रतिस्पर्धी पाएकी उनले पहिलो सहभागितामै स्वर्ण जितिन् ।

‘पहिलो पटक नै स्वर्ण जितेपछि मलाई राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि देशको झण्डा फहराउनुपर्छ भन्ने लाग्यो र अझ मेहनत गर्न जोश आयो’, उनी सुनाउँछिन् ।

२०१७ मा मिस्टर काठमाडौंको उपाधि जिते पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यतिले पुग्दैन भन्ने भएपछि उनले थप मेहनत गर्न थालिन् । उनी २०१९ मा मिस्टर हिमालयमा सहभागी भइन् ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेकी उनले १३ औं दक्षिण एसियाली खेलकुद -साग) मा पनि प्रतिस्पर्धा गरिन् । गलत समूहमा प्रतिस्पर्धा गरेका कारण उनी रजतमा सीमित भइन् ।

‘मेरो जिउ अत्याधिक मेहनतका कारण फिजिक बडीबाट परिवर्तन भएकाले बडिबिल्डिङतर्फको तौल समूहमा खेल्नुपर्ने नियम हुँदो रहेछ’, उनले भनिन्, ‘तर मलाई थाहा थिएन, पछि अन्तर्राष्ट्रिय जजहरुले आएर सरी हामीले दोस्रो बनाउनुपर्‍यो भन्नुभयो ।’

सन् २०१९ मा भएको एसियन गेम्समा पनि उनले भाग लिइन् । इन्डोनेसियामा भएको उक्त खेलमा उनले दुईवटा विधामा प्रतिस्पर्धा गरिन् । जसमा ३० वर्ष उमेर समूहमाथिको र ५५ केजी तौल समूहमा उनले प्रतिस्पर्धा गरिन् ।

उनी नेपालको लागि तौल समूहबाट बडी बिल्डिङमा प्रतिस्पर्धा गर्ने पहिलो महिला खेलाडी थिइन् । उनीलाई त्यसबेला बडी बिल्डिङको पोजहरुको खासै जानकारी थिएन । ५५ केजीमा दोस्रो र ३० वर्षमाथिको महिलाको प्रतिस्पर्धामा उनी तेस्रो भइन् ।

त्यसपछि उनले एकै चोटी राष्ट्रिय प्रतिस्पर्धा नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाइन् । नेपाली खेलकुद जगतमा त्यसभन्दा अघि शारीरिक सुगठनलाई नेपालको राष्ट्रिय खेलकुदमा समावेश गरिएको थिएन ।

तर प्रतियोगिताकै बेला रजनीलाई डेंगु लाग्यो र उनी थलिइन् । २५ दिनसम्म सुतेकी उनले लगत्तै भएको नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएर कास्य जितिन् । ‘म बिरामी थिएँ र पनि अरु सबै कुरा छोड्न सक्दा पनि खेल भने छोड्न सकिनँ’, उनी सम्भिmन्छिन्, ‘बिना तयारी नै मैले प्रतिस्पर्धा गरेको थिएँ ।’ बिरामीले थलिएकी रजनी ब्याक स्टेजमा कमजोरीले बेहोस नै भएकी थिइन् ।

खर्चिलो खेलमा आम्दानी शून्य

बडी बिल्डिङ खेलमा नदेखिने पाटो हो यसको खर्च । धुलाबारी झापाकी रजनीलाई खेल्न भन्दा पैसाको बन्दोबस्त गर्न समस्या छ ।

‘एउटा प्रतियोगिता खेल्न कम्तीमा पनि ५ देखि ६ लाख रुपैयाँ खर्च लाग्छ । डाइट खानुपर्‍यो, ट्रेनिङ गर्नुपर्‍यो’, खर्चको लेखाजोखा राख्दा खेलकुदमा नलागेको भए निकै सहज हुने जस्तो अनुभव उनलाई बारम्बार हुन्छ ।

तर श्रीमान समिर श्रेष्ठसँग मिलेर सञ्चालन गरेको डाइट सप्लिमेन्टको होलसेल व्यवसायले जेनतेन खर्च चलेको छ ।

शरीर सन्तुलन राख्न खानुपर्ने सप्लिमेन्टहरु महँगो हुँदा र सम्बन्धित निकायबाट कुनै पनि सहयोग नभएकाले शारीरिक सुगठनमा लागेका सबै खेलाडीलाई गाह्रो पर्ने रजनीले बताइन् ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

 

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?