+
+

चन्द्रमामा ब्युँझियो जापानी यान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते ११:३५

काठमाडौं । चन्द्रमामा अवतरण गरेसँगै ऊर्जा आपूर्तिमा आएको समस्याका कारण एक हप्तादेखि बन्द अवस्थामा रहेको जापानी यान अन्ततः पुनः सञ्चालनमा आएको छ ।

जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार उसले उक्त मून ल्याण्डरसँगको सम्पर्क आइतवार पुनःस्थापित गरेको छ, जसले त्यसमा देखिएको प्राविधिक समस्या समाधान भएको संकेत गर्दछ ।

एजेन्सीका अनुसार सूर्यको प्रकाशको दिशामा परिवर्तन सँगै यानमा जडित सोलार प्यानलले सौर्यप्रकाश प्राप्त गरेपश्चात् यानमा ऊर्जा आपूर्ति भएर चालु भएको हो ।

गत जनवरी २० मा चन्द्रमामा अवतरण पश्चात् यसका सोलार सेलहरु सूर्यको दिशाभन्दा विपरीत फर्किएसँगै ऊर्जा उत्पादन नहुँदा यानले काम गर्न छाडेको थियो । त्यसअघि कैयन् घण्टासम्म उक्त ल्याण्डर ब्याट्रीको ऊर्जाबाट चलेको थियो । त्यसपछि जाक्साका वैज्ञानिकहरुले सौर्यप्रकाशको दिशा परिवर्तन भएसँगै पुनः जगाउन सकिने आशामा उक्त यानलाई बन्द गरिदिएका थिए ।

आफ्नो एक्स अकाउन्टमा एक पोस्ट गर्दै जाक्साले उक्त यानले खिचेको नजिकैको चट्टानको तस्वीर शेयर गरेको छ । त्यसको नाम ‘टोए पूडल’ राखिएको छ ।

ल्याण्डरले उक्त चट्टानको संरचनाको बारेमा अध्ययन गर्नेछ जसबाट चन्द्रमाको उत्पत्तिको बारेमा थप तथ्य पत्ता लगाउन सघाउ पुग्ने एजेन्सीको विश्वास छ ।

स्मरण रहोस् स्मार्ट ल्याण्डर फर इन्भेस्टिगेटिङ मून अर्थात् स्लिम नामक उक्त यान चन्द्रमामा सफल अवतरण गराएसँगै जापान चन्द्रमामा आफ्नो यानको सफ्ट ल्याण्डिङ गराउने पाँचौँ मुलुक बनेको थियो । यसअघि अमेरिका, सोभियत संघ, चीन र भारतले त्यस्तो सफलता प्राप्त गरेका थिए ।

स्लिम यानले चन्द्रमामा कति दिनसम्म काम गर्ने छ भन्ने बारेमा एजेन्सीले केही पनि बताएको छैन ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?