+
+

आहारारा पोखरा गोल्डकप : पहिलो सेमिफाइनलमा आज थ्रीस्टार र जावलाखेल भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ६:४८

१७ माघ, पोखरा । पोखरामा जारी २३औं आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । जसअन्तर्गत पहिलो दिन आज थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन् ।

दिउँसो साढे २ बजेबाट सुरु हुने खेलको विजेता फाइनलमा पुग्नेछ । र, माघ २० गते उपाधिका लागि भिड्नेछ ।

आहारारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि २०६८ सालको क्वार्टरफाइनलमा दुवै टिम पहिलोपटक भेट भएका थिए । उक्त खेलमा जावलाखेलले थ्रीस्टारलाई ३-१ ले जित निकालेको थियो ।

तत्कालीन समयमा आहारारामा पहिलो पटक सहभागी भएको जावलाखेलले डेब्यू प्रतियोगितामै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्न पुग्यो । फाइनलमा मनाङमर्स्याङ्दीसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

त्यस्तै, २०६९ को ११औं संस्करणको सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक भिडेका थिए । उक्त खेल भने थ्रीस्टारले अघिल्लो संस्करणको हारको बदला लिँदै २-१ ले जावलाखेललाई रोक्न सफल रह्यो ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन् ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जित्दा जावलाखेल भने उपाधिविहीन छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

थ्रीस्टारको कप्तानी राष्ट्रिय टिमबाट खेलिसकेका योगेश गुरुङले सम्हाल्दैछन् । क्लबकै पूर्वकप्तान विक्रम लामाको प्रशिक्षणमा विराज महर्जन, आशिष चापागाईं, आदित्य शाक्य, दीपेश आले, अभिशेषक बराललगायत खेलाडी टिममा छन् ।

यता, जावलाखेल नरेश थापाको प्रशिक्षणमा मैदान उत्रिएको छ । जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । त्यस्तै, विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउलाले टिमविरुद्धको गोल रक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?