+
+

आहारारा गोल्डकप : आज संकटा र आर्मी सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ८:३२

१४ माघ पोखरा । आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहारारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो ।

आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एक/एक जित निकालेका छन् ।

अघिल्लो संस्करणमा पनि क्वार्टरफाइनलमै आर्मी र संकटाबीच भेट भएको थियो । क्वार्टरफाइनलमा आर्मीलाई ३–१ ले स्तब्ध पार्दै संकटा सेमिफाइनल यात्रा तय गर्‍यो । आर्मीलाई क्वार्टरफाइनलमा रोकेको संकटा अन्ततः प्रतियोगिताकै उपाधि विजेता बन्यो ।

०७६ सालमा पनि दुवै टिम भिडेका थिए । जसमा ०७६ सालमा क्वार्टरफाइनलमा आर्मीले संकटालाई १–० ले पराजित गरेको थियो ।

आहारारा गोल्डकपको दुई दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले २ पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।

संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।

अघिल्लो संस्करण जिताउन महत्वपूर्ण भूमिका खेलेको गोल रक्षक टिकेन्द्र थापा यसपटक सहारादेखि खेलेका छन् । संकटाकै आयुष घलान सहाराको यसवर्षको वर्षोत्कृष्ट खेलाडी बनेका छन् भने अघिल्लो संस्करणमा चर्च ब्वाइजबाट खेलेका नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी अञ्जन विष्ट संकटाबाटै खेल्दैछन् ।

रवीन्द्र शिलाकारको प्रशिक्षणमा मैदानमा उत्रिन लागेको साविक विजेता संकटाले ३ जना विदेशी खेलाडीसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ, सुरजज्यू ठकुरी, लकेन लिम्बुलगायतलाई समावेश गरेको छ ।

यता त्रिभुवन आर्मी क्लबले हालसम्म आहाराराको उपाधि जित्न सकेको छैन । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा उपाधिविहीन हुँदै आएको छ ।

विभागीय टिम नेपाल आर्मीलाई भरत खवासको कप्तानी सम्हाल्नेछन् । यो टिम आहारारा पोखरा गोल्डकपमा १५औं सहभागिता हो ।

टिममा भरतसँगै राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जन, विमल पाण्डेलगायत आर्मीको टिममा छन् ।

आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि स्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?