+
+

फाइनल जिङ्क्स तोड्ने लक्ष्यमा आर्मी

पाँच वर्षपछि फेरि पोखरा रंगशालामा आहाराराको उपाधिका लागि आर्मी र थ्री स्टार भिड्दा २०७५ सालको फाइनलको पुनरावृत्ति हुनेछ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १९ गते ७:५८

१९ माघ, काठमाडौं । आहारारा पोखरा गोल्डकपमा फाइनल पुग्ने तर उपाधि जित्न नसक्ने टोलीको रुपमा रहेको त्रिभुवन आर्मी क्लबले २३ औं संस्करणमा भने त्यो परम्परालाई तोड्ने लक्ष्य राखेको छ ।

१५ औं पटक आहारारा खेलिरहेको आर्मीले बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पाँचौ पटक फाइनलमा स्थान बनाएको छ ।

आर्मीले अब उपाधिका लागि आउने शनिवार थ्री स्टार क्लबविरुद्ध खेल्नेछ । आर्मीले यसअघि चार पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।

फाइनल पुगेर सधैँ उपविजेता बन्ने ट्याग लागेको आर्मीले यस पटक भने त्यो जिङ्क्स तोड्ने लक्ष्य राखेको छ । ‘म पहिला आउँदा पनि आर्मी उपविजेता बनेको थियो । यसपटक हामी इतिहासलाई दोहोरिन दिनेछैनौं,’ चर्च ब्वाइजलाई हराएपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पोष्ट म्याच कन्फ्रेन्समा भने ।

चर्च ब्वाइज भने लगातार दोस्रो पटक आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाटै बाहिरियो । गत वर्ष पोखरामा डेब्यु गरेको चर्च ब्वाइज अमेरिकाको बिवाईएससीसँग पराजित हुँदै बाहिरिएको थियो ।

आर्मी फुटबल क्लबका प्रशिक्षक मेघराज केसी

पाँच वर्षपछि आहारारामा फाइनल पुगेको आर्मी यस पटक भने नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ ।

अहिलेसम्म ६ टोलीले मात्र आहारारा पोखरा गोल्डकपको उपाधि जितेका छन् । नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ६–६ पटक उपाधि जित्दा थ्री स्टारले ५ पटक, संकटाले २ तथा अफ्रिकन रुट्स, सहारा र एपीएफले १–१ पटक उपाधि जितेका छन् ।

आहारारामा आर्मीको इतिहास

आर्मीले २०६० सालको तेस्रो संस्करणदेखि आहारारा गोल्डकप फाइनल खेल्न थालेको थियो । ६० को दशकमा आर्मीको टिम राम्रो थियो । तर त्यो समयमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब घरेलु फुटबलमा बलियो थियो । यस्तै मनाङ मर्स्याङ्दी र थ्री स्टार पनि बलियो क्लबको रुपमा थिए ।

त्यही समयमा आर्मीको टिमले राम्रो हुँदाहुँदै पनि शहीद स्मारक ए डिभिजन लिग जित्न सकेन । ठिक त्यस्तै आहारारा गोल्डकपमा पनि भयो ।

आर्मी पहिलो सहभागिता सेमिफाइनलसम्म पुगेको थियो । जहाँ आर्मीको भेट अघिल्लो दुई संस्करणको विजेता पुलिससँग भयो । उक्त खेलमा आर्मी पुलिससँग ३–० ले पराजित भयो ।

त्यसपछि आर्मी पाँच वर्षपछि २०७५ सालमा सेमिफाइनल पुगेको थियो । जहाँ सहारा युकेलाई ४–० ले हराएर फाइनलसम्म पुगेको थियो । तर त्यस वर्ष आर्मीको फाइनलमा भेट पुलिससँग नै भयो । यस पटक पनि नतिजा उही आर्मी पुलिससँग पराजित भयो ।

२०६५ मा पहिलो पटक फाइनल पुग्दा आर्मी पुलिससँग ५–० ले पराजित भएको थियो । पुलिसलाई जिताउन जुमानु राईले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए भने पहिलो हाफमा भोला सिलवाल र चेतन घिमिरेले गोल गरेका थिए ।

आहारारामा आर्मीका लागि धेरै समय पुलिस नै बाधक बन्यो । लगत्तै अर्को वर्ष फाइनल पुग्दा पनि आर्मी पुलिससँग नै पराजित भयो । यसपटक अन्तर १–० मात्रै थियो ।

त्यसपछि आर्मी २०७२ सालमा फाइनल पुगेको थियो । यस पटक पनि आर्मी पराजित भयो । नतिजा उही १–० नै थियो ।

पाँच वर्षपछि थ्री स्टारसँगै फाइनल

आर्मीले पछिल्लो पटक २०७५ सालमा आहाराराको फाइनल खेलेको थियो । संयोगबस आर्मीले त्यो वर्ष पनि थ्री स्टारसँग नै फाइनल खेलेको थियो । त्यो खेलमा आर्मी पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामै सीमित बन्दा थ्री स्टारले पाँचौ पटक उपाधि जितेको थियो ।

पाँच वर्षपछि फेरि पोखरा रंगशालामा आहाराराको उपाधिका लागि आर्मी र थ्री स्टार भिड्दा २०७५ सालको फाइनलको पुनरावृत्ति हुनेछ ।

त्यस फाइनल खेलेका अधिकांश खेलाडीहरु अहिले टिममा छैनन् । कप्तान भरत खवास विकेश कुथु र जितेन्द्र कार्की विमल पाण्डे लगायत केही खेलाडीसँग मात्र त्यो फाइनलको अनुभव छ ।

त्यस खेलमा आर्मीले निर्धारित समयमा र अतिरिक्त समयमा गरी दुई पटक अग्रता लिए पनि १२० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो र पेनाल्टीसुटआउटमा ५–४ ले पराजित हुँदै चौथो पटक उपविजेतामा चित्त बुझाएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?