+
+
समयान्तर :

सामूहिक समृद्धि लत्याएर सीमित स्वार्थको दुश्चक्रमा सहकारी

सहकारीबाट सामूहिक समृद्धि र उन्नतिको लक्ष्य हासिल गर्न सकिन्छ । तर, नेपालमा सहकारीहरू जे-जसरी सञ्चालित छन्, यिनको सञ्चालन विधिलाई भने परिवर्तन गर्न जरूरी देखिन्छ ।

मनिकर कार्की मनिकर कार्की
२०८० माघ १७ गते ७:०५

लामो समयदेखि सरकारका नीति कार्यक्रम तथा वाषिर्क बजेटमा दोहोरिइरहने नारा हो- ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ । सरकारले अवलम्बन गरेको तीन-खम्बे अर्थनीतिको एउटा महत्वपूर्ण खम्बा हो, सहकारी । यसर्थ, जनस्तरमा त्यही सहकारिता प्रवर्द्धन गर्ने नीति अनुरूप सरकारले प्रत्येक वर्ष सहकारी प्रवर्द्धनको नारा ल्याउने गरेको छ ।

सरकारले सहकारिता प्रवर्द्धनका लागि जतिसुकै रणनीतिक योजना ल्याए तापनि जनस्तरमा सञ्चालित सहकारीहरूको कार्यसम्पादन भने सन्तोषजनक देखिंदैन । कृषि क्षेत्रमा आधारित केही कृषि सहकारीहरू बाहेक अन्य सहकारीहरूले जे-जसरी काम गरेका छन्, त्यसले आर्थिक समृद्धिको ‘खम्बा’को रूपमा पहिचान पाउन भने सकेको देखिंदैन । सैद्धान्तिक रूपमा सहकारीको प्रवर्द्धन ठीक हो, तर जीवन व्यवहारमा सहकारीहरूले त्यो विश्वास आर्जन गर्न सकेनन् ।

यसैको परिणतिस्वरूप विगत केही वर्ष र पछिल्ला केही सातामा सहकारीको संकटसँगै त्यसका सञ्चालकहरूको शृङ्खलाबद्ध ठगीका घटनाहरू सार्वजनिक भइरहेका छन् । खासगरी काठमाडौं, पोखरा, बुटवल, चितवन, वीरगञ्ज, नेपालगञ्ज लगायत ठूला शहरहरूमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूका सञ्चालकहरूले गरेका बचत अपचलनका घटनाहरू निरन्तर बाहिर आइरहेका छन् । यसले हामीले साझेदारी अर्थतन्त्रको खम्बा मानेको सहकारी क्षेत्रको संस्थागत जर्जरता प्रष्ट हुन्छ ।

केही वर्षअघि काठमाडौंका नाम चलेका ठूला सहकारी जसले वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरू समेतलाई चलाउने हैसियत बनाएका थिए, तिनमा देखिएको संस्थागत सुशासनको विद्रुप तस्बिरले हजारौं बचतकर्ताको अर्बौं बचत डुब्यो । अहिले पनि ती बचतकर्ताहरू बचत फिर्ताका लागि संस्थाको ढोकामा लाइन लाग्दैछन् ।

सहकारीका सञ्चालक तथा पदाधिकारीहरूले आफ्नो समूहगत वा निजी फाइदाका लागि बचत अपचलन गर्ने उपक्रम त्यतिबेलादेखि नै तीव्र देखिएको थियो । सञ्चालकहरूको अत्यधिक लोभका कारण हुने जोखियुक्त र निजी लगानी नै सहकारी संकटको मुख्य कारण हो । नियामकबाट हुने फितलो कागजी नियमनको फाइदा उठाउँदै तिनले आफ्नो वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले सहकारीहरू खोले । त्यही सहकारीले शहर-बजारमा हल्लाखल्ला गर्ने भएका कारण सर्वसाधारण पनि आकषिर्त भए र बचत गर्दै गए ।

आखिर तिनै केही खराब नियत बोकेका सहकारी सञ्चालकहरूको बद्नियतका कारण समग्र सहकारी क्षेत्रले नै संकट बेहोर्नु परिरहेको छ । अहिले सहकारीका लाखौं बचतकर्ताको जीवनभरको कमाइ स्वाहा भएका घटनाहरू सार्वजनिक भइरहेका छन् । यसै क्रममा पछिल्लो समय देशका विभिन्न शहरहरूमा सञ्चालित ठूला भनिएका सहकारी संस्थाहरूमा बचतकर्ताले बचत गरेको अर्बौं बचत जोखिममा परेको समाचार सार्वजनिक भएका छन् । ती बचतकर्ताहरूले आफूले पचास-सय गरी जम्मा गरेको रकम फिर्ता पाउन नसक्ने अवस्था आएको छ । उनीहरू आफ्नो बचत फिर्ताका लागि राज्य गुहारिरहेका छन् । तर, राज्यको संयन्त्रले भने के गर्ने भन्ने कुराको अझै भेउ पाउन सकेको छैन ।

सहकारी के हो ? कसरी काम गर्छ ? कस्ता व्यक्तिहरूले सहकारीमा बचत गर्नुपर्छ ? संस्थागत सुशासन के हो ? यी र यस्तो विषयमा नियमित वित्तीय साक्षरता प्रदान गर्ने कार्यलाई पनि तीव्र बनाउनुपर्दछ

मुलुकको संविधान र कानुन अनुसार सहकारीको सञ्चालन तथा अनुगमन समेतको जिम्मेवारी पाएका स्थानीय तह हुँदै संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र त्यसअन्तर्गतका सहकारी विभागसम्मले सहकारी गडबडीको विकराल अवस्था पहिल्याउन सकेका छैनन् । उनीहरूसँग के-कति सहकारी संकटमा छन् ? तिनको वित्तीय अवस्था कस्तो छ ? उनीहरूको संस्थागत सुशासनको अवस्था के कस्तो छ ? भन्नेसम्मको जानकारी अद्यावधिक गर्न सकेका छैनन् ।

त्यस्तै संकटग्रस्त र संकटोन्मुख सहकारीहरूमा के-कति बचतकर्ताको कुल कति बचत जोखिममा परेको छ भन्नेसम्मको तथ्यांक देखिंदैन । रेकर्डमा आएका तथ्याङ्क त बचतकर्ताहरूले उजुरी दिएका घटनाका विवरण मात्रै हुन् । सहकारी विभागले जनाए अनुसार हालसम्म पुगनपुग ६३ लाख साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र निम्न आय भएका विपन्न परिवारका सदस्यहरू सहकारीमा आवद्ध रहेका छन् ।

विभागकै तथ्यांक अनुसार मुलुकका सबै प्रदेश, जिल्ला र नगरपालिका वा गाउँपालिकामा गरी कुल ३४ हजार बढी सहकारी संस्थाहरू सञ्चालित रहेका छन् । यति ठूलो संख्यामा उपस्थित सहकारीहरूले के कसरी काम गरेका छन् ? तिनको वित्तीय अवस्था कस्तो छ ? संस्थागत सुशासनको अवस्था के छ ? संस्थागत विकासको अवस्था के छ ? संस्थाका सदस्य र सञ्चालकहरूबीचको सम्बन्ध कस्तो छ ? समाजमा ती संस्थाहरूले कस्तो सम्बन्ध विकास गरेका छन् ? यी यावत् प्रश्नको यथोचित उत्तर भेटिंदैन ।

सैद्धान्तिक रूपमा न्यून आय भएका व्यक्तिहरूले सामूहिकतामा एक अर्कालाई वित्तीय सहायता प्रदान गर्ने र आफ्नो गर्जो टार्ने उद्देश्यका साथ सहकारी अभियान सुरु भएको हो । यो एक सामाजिक एवं आर्थिक सशक्तीकरणको आन्दोलन हो । सरकारले सहकारी संस्थाहरूलाई पनि गरिबी निवारणको वित्तीय सहजीकरण गर्ने माध्यमको रूपमा लिएको थियो ।

वास्तवमा सहकारी हुनेखानेहरूका लागि हुँदै होइन, यो त समान हैसियत भएका र एउटा निश्चित समुदायमा बस्ने व्यक्तिहरूले आफूसँग भएको स-सानो रकम बचत गर्ने र त्यही बचत सहकारीमा आवद्ध सदस्यहरूलाई परिचालन गरी वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले स्थापित संस्था हो । तर, यसको मर्म र भावनाविपरीत हुने गरी जसरी ठूला शहरहरूमा अर्बौंको कारोबार गर्ने गरी सहकारीहरूलाई सञ्चालन गर्न दिइयो, त्यो नै सहकारी संकटको पहिलो त्रुटि थियो ।

सामूहिकताको भावनामा आधारित भएर सीमित वित्तीय कारोबार गर्ने संस्थालाई खुल्ला रूपमा विना नियमन ‘असीमित’ वित्तीय कारोबार गर्न दिइनु आफैंमा गलत थियो । सहकारी त्यसमा पनि बचत तथा ऋण सहकारीहरू केवल संस्था मात्र होइनन्, ती आम बचतकर्ताको भरोसा र विश्वास आर्जन गर्ने संस्थाहरू हुन् । जब ती संस्थाहरूलाई सर्वसाधारणबाट बचत संकलन गर्न इजाजत दिइन्छ भने तिनको नियमन पनि त्यस्तै प्रभावकारी हुनुपर्दथ्यो । अन्यथा संख्यात्मक उपस्थितिलाई कडाइ गर्नुपर्दथ्यो ।

जब कुनै पनि संस्थाले सर्वसाधारणबाट बचतको रूपमा रकम उठाउने इजाजत प्राप्त गर्दछ भने त्यस्तो संस्थालाई इजाजत दिने, अनुगमन र नियमन गर्ने तालुकवाला छुट्टै केन्द्रीय मन्त्रालय समेतको आवश्यकता महसुस नगर्नु निःसन्देह सर्वसाधारणको धनको बेवास्ताको पराकाष्ठा नै हो । किनकि अहिलेको तालुकवाला मन्त्रालयले सहकारीको मर्म र भावना अनुरूप न कार्य गर्न सक्छ, न त यसको दृष्टि नै पुगेको छ । प्रेषित कागजातका आधारमा दर्ता र नवीकरण गरी संख्यात्मक उपस्थितिलाई अद्यावधिक गर्ने बाहेक सहकारी विभागबाट अरू अपेक्षा पनि गर्न सकिंदैनथ्यो र भएन पनि । परिणामस्वरूप ६३ लाख सर्वसाधारण जोडिएका संस्थाहरूको यथोचित अवस्थाबारे जानकारी छैन ।

सहकारीको मूल उद्देश्य नै आर्थिक सबलीकरण र समुदायको सामूहिक आवश्यकता र हित प्रवर्द्धन गर्नु हो भने शहरबजारमा बैंक तथा वित्तीय संस्थाहरू भन्दा ठूला सहकारीहरूलाई किन बेलगाम वित्तीय कारोबार गर्न दिइयो ? के नियामक निकायलाई थाहा थिएन ? त्यसरी सर्वसाधारणबाट उठाइएको बचतको परिचालन के कसरी भएको छ ? भनेर बेलैमा चासो राख्न सकिंदैनथ्यो ?

खासमा नियमनको दायराबाट बाहिर रहेकै कारण धेरै चलाख बिचौलियाहरूले सहकारीलाई आफ्नो वित्तीय आवश्यकता पूरा गर्ने माध्यम बनाएका थिए । जुन कुरा नियामक निकायले बेलैमा महसुस गर्न सक्नुपर्दथ्यो । अनि शहरबजारका शिक्षित र सचेत वर्गले समेत धेरै ब्याजको लोभमा हैसियत बेगरका अपारदर्शी सहकारीहरूमा ठूलो रकम बचतको रूपमा राखिदिंदा ब्याजको लोभमा सावाँ नै गुम्ने खतरा उत्पन्न भएको छ ।

आफूले कारोबार गर्ने सहकारीको पूँजी कति छ ? बचत कति छ ? ऋण कति छ ? कस्तो क्षेत्रमा ऋण प्रवाह गरेका छन् ? यी यावत् विषयहरूमा सूक्ष्म अध्ययन जरूरी हुन्थ्यो । केवल ठूला भवन र बैंकका कार्यालय जस्ता काउन्टर खोलेकै भरमा सहकारीमा जति पनि पैसा जम्मा गर्नुहुँदैनथ्यो । जुन गल्ती शहर-बजारका बुझक्कड बचतकर्ताहरूले गरे ।

सहकारिताको नतिजामुखी कार्यसम्पादनका लागि सरकारले वित्तीय परिचालन बाहेक कृषि, पर्यटन, उद्योग, व्यापारहुँदै पूर्वाधारजन्य क्षेत्रमा समेत सहकारिता प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नु जरूरी देखिन्छ

अहिले बचत जोखिममा परेका बचतकर्ताहरूको बचत फिर्ताकै सवालमा पनि आवश्यकता भन्दा बढी राजनीतीकरण गरेको दखिन्छ । कतिपय राजनीतिक नेतृत्व समेतले सरकारले बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने तर्क गरिरहेका छन् । त्यसो त बैंक र लघुवित्तको ऋण पीडितहरूका माझमा पुगेर पनि सरकारले ब्याज मिनाह गर्नुपर्ने तथा लघुवित्तको ऋण मिनाह गर्नुपर्नेसम्मका माग राखेको देखिन्छ ।

यस्ता कुरा भने बेफ्वाँकका फन्डा मात्रै हुन् । किनकि बैंक वा वित्तीय संस्थाहरूले ब्याज मिनाह गर्न सरकारले उक्त रकम फिर्ता भुक्तानी गरेर मात्रै संभव हुन्छ । अनि सरकारसँग सहकारीका बचतकर्ताको बचत फिर्ता, बैंकको ब्याज फिर्ता, लघुवित्तको ऋण मिनाह गर्ने अथाह धनराशि चैं कहाँबाट आउँछ ? उही करदाताले चुनदाम गरी तिरेको करबाट संकलित राजस्वको उपयोग यस्ता खर्चका लागि गर्न सम्भव पनि हुँदैन । फेरि ठूलो र दिगो राजस्वको स्रोत समेत नभएको मुलुकको अर्थतन्त्रमा वित्तीय संकट गहिरिंदै गर्दा आफ्नो नियमित खर्च धान्न समेत सरकारलाई धौ-धौ छ भने यी यावत् वित्तीय आवश्यकता पूरा हुनसक्ने कुनै गुञ्जायसै रहँदैन ।

त्यसैले यस्ता सवालमा जनतालाई अनावश्यक अपेक्षा सिर्जना गरिदिने गरी अनेकन् फन्डा गरेर राज्यविरुद्ध विश्वासको संकट पैदा गर्न खोज्नु दुर्नियतपूर्ण राजनीति हो । यो आफैंमा गलत त हुँदै हो, एक प्रकारको सामाजिक अपराध पनि हो । हो, सरकार र नियामक निकायले जोखिममा परेका सहकारीका बचतकर्ताहरूको बचत सुनिश्चित गराउन भने केही पहल लिनै पर्छ । एकैचोटि सबैका बचतफिर्ता सम्भव हुँदैन तर, बचतको सुरक्षण गर्न भने ढिला गरिनुहुँदैन । यसका लागि निम्न कुराहरूलाई ध्यान दिन आवश्यक देखिन्छ :

पहिलो, मुलुकभरका बचत तथा ऋण सहकारीहरूको स्थलगत एवं गैरस्थलगत निरीक्षणलाई तीव्र बनाएर संकटग्रस्त एवं संकटोन्मुख सहकारी, बचतकर्ता र तिनको बचतको यकिन विवरण निकाल्नुपर्छ । समस्याग्रस्त सहकारीहरूको कर्जा सापटीको विवरण र धितोको अवस्था मूल्यांकन गरी कर्जा असुरउपर गर्ने कामलाई तीव्र पार्न जरूरी छ ।

दोस्रो, दुर्नियत भएका सहकारी सञ्चालकहरूलाई बेलैमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । यस्ता व्यक्तिहरू सधैं शक्ति र सत्ताको पहुँचका कारण उन्मुक्त हुन्छन् वा सधैं फरार रहिरहन पाउँछन् । तर, यस्तो वित्तीय अपराधमा संलग्नहरूलाई राज्यले उन्मुक्ति दिने कुनै स्पेश दिनुहुँदैन । ती व्यक्तिहरूका व्यक्तिगत एवं पारिवारिक सम्पत्ति विवरण संकलन गरी कानुनी प्रक्रियाबाट स्रोत यकिन नभएका त्यस्ता सम्पत्तिहरूको बिक्री गरी संस्थागत रूपमा सहकारीको आम्दानी लेखांकन गरी बचत फिर्ताका लागि कोष खडा गर्नुपर्दछ ।

तेस्रो, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई पनि वित्तीय संस्थाको रूपमै व्यवहार गरी त्यसको इजाजत दिने, नियमन तथा निरीक्षण गर्ने निकायलाई प्रभावकारी र प्रविधिमैत्री बनाएर अनुगमन र निरीक्षणलाई प्रभावकारी बनाउनुपर्दछ । सर्वसाधारणको बचत संकलन गर्ने जुनसुकै संस्थालाई वित्तीय संस्थाको रूपमा व्यवहार गरी नियमनलाई प्रभावकारी बनाउनुपर्छ ।

चौथो, सहकारीहरूको संख्यात्मक उपस्थिति र कारोबारमा हुने दोहोरोपनालाई मध्यनजर गरी सहकारी मर्जर गर्ने अभियानलाई पनि तीव्रताका साथ सञ्चालन गर्न जरूरी देखिन्छ । त्यस्तै सहकारी के हो ? कसरी काम गर्छ ? कस्ता व्यक्तिहरूले सहकारीमा बचत गर्नुपर्छ ? संस्थागत सुशासन के हो ? यी र यस्तो विषयमा नियमित वित्तीय साक्षरता प्रदान गर्ने कार्यलाई पनि तीव्र बनाउनुपर्दछ ।

पाँचौं, संस्था सञ्चालनको तौरतरिका र संस्थागत सुशासनका लागि सदस्यहरूको सहभागिता, निगरानी र उपस्थितिलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ । सहकारीलाई हरेक सदस्यले आफ्नो अपनत्व हुने गरी कार्य सञ्चालन गर्ने परिपाटी निर्माण गर्नु जरूरी हुन्छ ।

अन्त्यमा सहकारी भनेको समुदायको प्रतिनिधित्व हुने क्षेत्र हो । यसलाई अर्थतन्त्रको आधार बनाउनु अत्यन्तै सकारात्मक पक्ष हो र यसबाट नै सामूहिक समृद्धि र उन्नतिको लक्ष्य हासिल गर्न सकिन्छ । तर, नेपालमा सहकारीहरू जे-जसरी सञ्चालित छन्, यिनको सञ्चालन विधिलाई भने परिवर्तन गर्न जरूरी देखिन्छ । खासगरी बचत तथा ऋण सहकारी सञ्चालकका बदमासीका कारण सहकारीहरू बदनाम हुन पुगेका छन् ।

अहिले बढ्दो वित्तीय पहुँचका कारण बचत तथा ऋणका लागि अन्य धेरै बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीहरू छन् । त्यसैले सहकारीलाई बचत तथा ऋणको क्षेत्रमा भन्दा पनि अन्य उत्पादनमूलक क्षेत्रको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकियो भने मात्रै सहकारी साँच्चिकै अर्थतन्त्रको खम्बा ठहरिनेछ । सहकारिताको नतिजामुखी कार्यसम्पादनका लागि सरकारले वित्तीय परिचालन बाहेक कृषि, पर्यटन, उद्योग, व्यापारहुँदै पूर्वाधारजन्य क्षेत्रमा समेत सहकारिता प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नु जरूरी देखिन्छ ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?