+
+

यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ७:१४

१७ माघ, काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । बंगलादेश भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।

अफगानिस्तानलाई हराउन नेपालका आकाश चन्दले ५ विकेट र कप्तान देव खनालले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

अर्जुन कुमाल र गुलशन झा पनि नेपालका प्रमुख हतियार हुन् । अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । गुलशन भने तीनै खेलमा सस्तैमा आउट भएका छन् । सिनियर टोलीबाट खेलिसकेका गुलशनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ता घाइते छन् । तिलक भण्डारीको हातमा टाँका लगाइएको थियो । तिलक खेल्न नसकेको अवस्थामा नेपालले दीपक बोहरालाई मौका दिने सम्भावना रहन्छ । नेपालले विशाल विक्रम केसीलाई आज आकाश त्रिपाठीको स्थानमा मौका दिनसक्छ । आकाश र गुलशनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नुपर्ने हुन्छ ।

स्पिनर सुवास भण्डारीले बलिङसँगै तीनै खेलमा अन्त्यमा राम्रो ब्याटिङ पनि गरेका छन् । शीर्षक्रमका ब्याटर अर्जुन, विपिन रावल र आकाश त्रिपाठीले राम्रो सुरुवात दिन आवश्यक छ । भारतविरुद्ध ५ विकेट लिएका बंगलोदशका तीव्र गतिका बलर मरुफ मृधाको बलमा भने नेपाल सम्हाल्लिनु पर्ने हुन्छ ।

अरिफुल इस्लाम बंगलादेशका प्रमुख ब्याटर हुन् । अमेरिकाविरुद्ध यस विश्वकपमा शतकीय इनिङ खेलेका थिए । गत डिसेम्बरमा भारतलाई एसिया कपमा हराउन उनले ९४ रनको इनिङ खेलेका थिए । उनलाई समयमै आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ ।

नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू १९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?