+
+

६१ किलो सुनबारे राजश्व अनुसन्धान विभागका प्रमुखसँग उच्चस्तरीय समितिको सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १५:५२

१७ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग सोधपुछ गरेको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरुसँग सुन प्रकरणबारे सोधपुछ गरेको समितिका एक अधिकारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन २ साउनमा विभागले बरामद भएको थियो ।

१९ दिनसम्म विभागले अनुसन्धान गरेपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाइएको थियो । ‘घटनाको सुरुवाती अनुसन्धान विभागले गरेकाले त्यसबारे केही विषयहरु बुझ्न उहाँहरुलाई बोलाएका थियौं’, समितिमा एक सदस्यले भने ।

समितिले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालसँग पनि सोधपुछ गरेको समितिले जनाएको छ ।

समितिले चुडामणि उप्रेती गोरे मुछिएको ३३ किलो सुन प्रकरणदेखि विद्युतीय सिगरेट (भेप) मा लुकाएर भएको सुन तस्करीसहितका घटनाहरुलाई जोडेर छानबिन गरिरहेको छ ।

गृह मातहतको निकायमार्फत अनुसन्धान अघि बढाउँदा राजनीतिक नेक्सस नखुलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाइरहेका बेला सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो ।

तीन महिनाको अवधिमा काम नसकिएपछि समितिको म्याद पुनः थप भएको छ । यो अवधिमा समितिले आफ्नो कामलाई निष्कर्षतिर लगिरहेको छ । त्यसक्रममा विभिन्न निकायका पदाधिकारीसँग समितिले सोधपुछ गरिरहेको समितिका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?