 
																			१७ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ ।
राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक’ मा संशोधन गर्दै प्रतिनिधि सभा सदस्यको भूमिका थप्नुपर्ने रास्वपाको प्रस्ताव छ ।
संघीय सरकार मातहतका विकास आयोजना र संघीय बजेटमा आधारित प्रदेश र स्थानीय तहले सञ्चालन गरेका आयोजनाको अनुगमन र मुल्यांकन गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विधेयक ल्याएको थियो । २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।
रास्वपाका सांसदद्वय गणेश पराजुली र हरि ढकालले यो विधेयकमा एउटा दफा थप गरेर प्रतिनिधि सभाको भूमिका राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
‘प्रतिनिधि सभा सदस्यले सम्बन्धित निर्वाचन क्षेत्रको विभिन्न तहका अनुगमन संयन्त्रले गरेको अनुगमनको निरीक्षण गर्न सक्नेछ’ उनीहरुको संशोधन प्रस्ताव छ ।
प्रतिनिधि सभा सदस्यले निरीक्षण पश्चात प्रतिवेदन बनाएर संसद सचिवालयमा पेस गर्नुपर्ने उनीहरुको प्रस्ताव छ । ‘कमजोर तथा लापरबाहीको कारणले भएको अनुगमनबाट सरकारी हानी नोक्सानी भएको आशंका लागेमा निरीक्षणको प्रतिवेदन संघीय संसद सचिवालयमा पेस गर्न सकिनेछ’ उनीहरुको संशोधन प्रस्ताव छ ।
त्यस्तो निरीक्षण प्रतिवेदन संसद सचिवालयले सम्बन्धित विषयगत समितिमा पठाउनुपर्ने हुन्छ । विषयगत समितिमा छलफल भएर प्रतिनिधि सभामा समेत उक्त प्रतिवेदन पुग्न सक्ने परिकल्पना संशोधन प्रस्तावमा गरिएको छ ।
प्रस्तावमा अगाडि भनिएको छ, ‘…सम्बन्धित समिति मार्फत प्राप्त प्रतिवेदन प्रतिनिधि सभाको बैठकले अनुगमन समितिका पदाधिकारीहरुको हेल्चेक्र्याँइ तथा लापरबाहीको कारणबाट भएको हानी नोक्सानी सरकारी बाँकी सरह असुलउपर गर्ने लगायतका आवश्यक विभागीय कारबाही गर्न तोकिए बमोजिम हुनेछ ।’
बुधबार यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल थियो । छलफलका क्रममा रास्वपाका सभापति रवि लामिछानेले सम्बन्धित निर्वाचन क्षेत्रमा हुने हरेक काम कारबाहीमा मतदाताले प्रतिनिधि सभा सदस्यको भूमिका अपेक्षा गरेको बताए ।
पार्टीको तर्फबाट सल्लाह गरेर गणेश पराजुली र हरि ढकालले संशोधन प्रस्ताव राखेको भन्दै उनले विकास आयोजनाको अनुगमनका सम्बन्धमा निरीक्षण गनुपर्ने दायित्व प्रतिनिधि सभा सदस्यहरुलाई दिनुपर्ने बताए ।
संशोधन प्रस्तवमाथि थप ब्याख्या गर्दै रास्वपाका सांसद पराजुलीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–७ का विकास आयोजनाहरुको अवस्थाको चित्रण गरे । सडक निर्माणदेखि अन्य विकास आयोजनाका फोटोहरु समेत समिति सदस्यहरुलाई देखाउँदै उनले भने, ‘भद्रगोल अवस्था प्रतिनिधि सभा सदस्य हेरिरहने अवस्था रहन हुँदैन । त्यसकारण कानुुनतः विकास आयोजना निरीक्षणमा संघीय सांसदको भूमिका राखिनुपर्छ ।’
रास्वपाका अर्का सांसद हरि ढकालले प्रतिनिधि सभा सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा भएका गतिविधिबारे चासो राख्ने अधिकार भएको बताए । काम सही भएको छ वा छैन भनी हेर्ने र गलत भएको छ भने खबरदारी गर्ने अधिकार प्रतिनिधि सभा सदस्यलाई हुनुपर्ने उनको माग रहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4