+
+

अम्पायर बाबुका क्रिकेटर छोरा

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १८ गते १८:४६
सञ्जय र मिर्नल गुरुङ ।

१८ माघ, काठमाडौं । सञ्जय गुरुङ नेपाली क्रिकेटमा १६ वर्ष लामो अनुभव बटुलेका अन्तर्राष्ट्रिय अम्पायर हुन् ।

सन् २००८ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका उनले गत अप्रिलमा एसीसी प्रिमियर कपमा माथिल्लो मूलपानी क्रिकेट मैदानमा युएई र ओमानसँगको खेलबाट ओडीआई अम्पायरमा डेब्यू गरेका थिए । त्यो मूलपानी मैदानमा भएको पहिलो ओडीआई खेल पनि थियो ।

उनको परिचय यतिमा मात्रै सीमित हुँदैन । सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसीसी ट्रफी खेल्न मलेसिया जाँदा सञ्जय नेपाली क्रिकेट टोलीका सदस्य थिए ।

उनै सञ्जयका छोरा मिर्नलले छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता लुम्बिनी प्रदेशबाट खेले । प्रमुख खेलाडी बिनाको लुम्बिनीको प्रदर्शन सम्झनलायक रहेन । उसले एउटा मात्र गण्डकी प्रदेशसँगको खेल ४ विकेटले जित्यो ।

मिर्नलले आफ्नो डेब्यू राष्ट्रिय प्रतियोगिताका ९ खेलमा १६८ रन बनाएका छन् । लुम्बिनी प्रदेशबाट जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

बायाँ हाते २३ वर्षीय उनले केही खेलमा राम्रो सुरुवात गरे पनि ठूलो इनिङमा परिणत गर्न सकेनन् । प्रधानमन्त्री कपको डेब्यू खेलमै सिद्धार्थ रंगशालाको रन बनाउन कठिन पिचमा उनी ४७ रन बनाएर आउट भएका थिए । त्योक्रम प्रतियोगिताका अन्य खेलमा पनि जारी रह्यो । उनले कर्णालीसँग २२ तथा एपीएफसँग ३४ रन बनाए । मूलपानीमा मधेश प्रदेशविरुद्ध उनले २१ रन बनाएका थिए ।

‘छोराले खेल्दा हरेक बुबालाई खुसी लाग्छ । म अम्पायर वा जे भए पनि छोरोले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेल्दा स्वभाविक रुपमा खुसी लाग्छ । तर उसमा अनुभवको कमी देखिन्छ । धेरै खेलमा सुरुवात पाए पनि ठूलो रनमा परिणत गर्न सकेको छैन । त्यसको लागि उसले अझै धेरै मिहिनेत गर्नुपर्छ’, उनले भने ।

मिर्नलले अन्य सबै कामहरु दायाँ हातले गर्छन् । तर सानैदेखि ब्याटिङ भने बाबु सञ्जयकै आग्रहमा बायाँ हातले गर्दै आएका छन् ।

सञ्जयले चार वर्षको उमेरदेखि मिर्नललाई टेनिस र प्लास्ट्रिक बल फ्याँलेर लेफ्टी ब्याटर बनाए । ‘उसले अहिले पनि बलिङ, थ्रो सबै राइट ह्यान्डले नै गर्छ । तर लेफ्टी हुँदा थोरै फाइदा हुन्छ भनेर मैले उसलाई चार वर्षदेखि अभ्यास गराएको हो’, सञ्जयले भने ।

‘उसले जसरी विकेट फालेको छ । त्यसैले म धेरै उत्साहित छैन । उसले यो स्तरमा खेल्न धेरै मिहिनेत गर्नुपर्छ । चार वर्षअघि मैले बेंगलोरमा अभ्यास गर्न पठाएको थिएँ । बीचमा नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेटमा प्रतिस्पर्धा गर्दा एक वर्ष क्रिकेटदेखि टाढा रह्यो । उता असफल भएपछि पुन क्रिकेटमा फर्किएको हो’, सञ्जयले भने ।

सञ्जय लुम्बिनी प्रादेशिक क्रिकेट संघका अध्यक्ष पनि हुन् । प्रदेश छनोटमा च्याम्पियन टिम बाँकेका तीन खेलाडी मात्रै परेको भन्दै बन्द प्रशिक्षणमै सहभागी भएनन् । त्यसैले गर्दा सञ्जय केही आलोचित पनि हुन पुगे । तर उनी मिर्नल प्रदर्शन गरेर टिममा परेको प्रष्ट पार्छन् ।

‘उसले राम्रो खेलेन भने अध्यक्षको छोरा भएको कारण खेलेको मान्छेहरुले आरोप लगाउन सक्छन् । म पछिल्लो पटक सचिव हुँदा नै भनेको थिएँ, जबसम्म राम्रो प्रदर्शन गर्दैनौैं तबसम्म पर्दैनौ । प्रदर्शन गरेर पर्ने हो मेरो नामले होइन । त्यही अनुसार अहिले टिममा परेको हो । केही हदसम्म प्रमाणित पनि गरेको छ’, सञ्जयले भने ।

सुरुवाती समय शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीबाट सुरुवात गरेका उनले तिलोत्तमा हुँदै पछिल्लो समय वेस्टर्न क्रिकेट एकेडेमीमा अभ्यास गर्दैै आएका छन् ।

मिर्नङ सुरुवातलाई ठूलो इनिङमा लैजान नसकेको खुसी भने छैनन् । ‘सुरुवात पाएको छु । तर त्यसलाई ठूलो इनिङमा परिणत गर्न नसक्दा म पूर्ण खुसी छैन । यो कुरालाई मैले छिटो बुझेर जानुपर्छ जस्तो लाग्छ’, मिर्नलले भने । उनी आफूले राम्रो गर्दा वा नगर्दा दुबैमा बुबाको नाम आउने बताउँछन् ।

‘मैले राम्रो गर्दा सञ्जयको छोरा हो भनेर सबैको आँखामा पर्छु । नराम्रो गर्दा पनि सञ्जयको छोराले गरेन भनेर म पर्छु । त्यही भएर सकारात्मक रुपमा लिन्छु । बाबाले यत्रो वर्ष लगाएर नेपाली क्रिकेटमा जुन विरासत बनाउनुभएको छ । त्यसलाई म आफ्नो मिहिनेतमा राम्रो प्रदर्शन गर्दै अगाडि बढाउन चाहन्छु’, उनले भने ।

सानैदेखि बुबाको ट्रफीहरु देखेर क्रिकेटमा आकर्षित भएको उनी बताउँछन् ।

‘बाबाले मलाई यस्तो उस्तो बनाउछु केही भन्नुभएको थिएन । सानैदेखि ट्रफी र मेडल देख्दा मलाई पनि क्रिकेटप्रति इच्छा बढ्दै गयो । त्यसैमा लागेँ, सानोमा बज्यै (हजुरआमा) ले फुटबल ल्याइदिँदा लठ्ठीले हानेको थिए । त्यसले गर्दा घरमा पनि क्रिकेट नै खेल्न खोजेको हो भनेर बुझेका थिए’, उनले भने ।

लुम्बिनीको मुख्य प्रशिक्षकमा बसन्त शाही छन् । बसन्त नेपाली सिनियर टोलीका सहायक प्रशिक्षक समेत हुन् । नेपालले १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा बसन्त र सञ्जय साथी थिए । खेलाडी जीवनपछि बसन्त प्रशिक्षक र सञ्जय अम्पायरतर्फ लागे । उनले आफ्नै साथीको छोरालाई प्रशिक्षण दिएका छन् ।

‘बाबुको जुन करिअर थियो क्रिकेटमा छोराले पनि त्यही पछ्याएको छ । क्षमता भएको खेलाडी हो । अहिले मिहिनेत गरेको छ । भविष्यमा गर्न सक्छ’, शाहीले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?