+
+

विवेकको अर्धशतकमा आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १३:०६

२० माघ, काठमाडौं – अलराउन्डर विवेक यादवको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भयो । आर्मीका विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन जोडे । अन्तिम ओभरको पाँचौं बलमा विवेक रन आउट भएका थिए । सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल कुशल भुर्तेलको ३९ औं ओभरको पाँचौं बलमा डीप स्क्वायर लेगमा शंकर रानाबाट क्याच आउट हुन पुगेका थिए ।

अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए । जितेन्द्र ११ बलमा २ रनमा नट आउट रहे ।

स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्यक्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । चोभार एन्डबाट आएका स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखेका थिए । पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे ।

भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो । दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए । करण केसीको बलमा उनी क्याच आउट भएका थिए ।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए । उनी सागर ढकालको बलमा एलबीडब्लू आउट भएका थिए । बसिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर अजुन साउदबाट १ रनमा क्याच आउट भएपछि आर्मी २०.४ ओभरमा ६०–६ को अवस्थामा पुगेको थियो ।

ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए । उनले ६६ बलमा १ चौका र १ छक्का हाने ।

पुलिसका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए । करण केसीले १० ओभरमा ६५ रन खर्चेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?