सन् १९२७ सम्म विरलै पारि टेकेको नेपालीको खुट्टाले रक्सौल र जनकपुरको सानो फुच्चे रेल गुड्ने बाटोले भारतीय बजारसम्म काम, माम, दाम कमाउने चौरस्ता फेला पार्यो। रक्सौलदेखि अमलेखगञ्ज जोडेको त्यो रेलको लिकबाट हिंडने रेलले देशको राजधानी काठमाडौंलाई पनि औद्योगिक बजारमा मिल्ने नौला, मीठा, राम्रा चिज खाने र लगाउन पाउने बस्ती भेट्टाइदियो। त्यसपछि बनेको रोपवेले त सधैं जोडिन पाउने सुनिश्चितता बनाइदियो। मतलब त्यस बेलादेखि नेपालको गाउँ र राजधानीले मन मान्दा, जाँगर चल्दा र गोजी रित्तो हुँदा रोजीरोटी खोज्न जान पाउने ठाउँ मिलाइदियो।
गाउँ कसरी जोडियो त ?
त्यो बेलासम्म गाउँ–गाउँ बीचको सम्बन्ध र साथ सीमित थियो। एउटा गाउँको मान्छे अर्को गाउँको लागि नौलो बन्थ्यो। चाहना र स्वार्थ पनि सीमित नै थियो अर्थात् त्यसबेलाको गाउँले सीमित परिवेशमा जन्मने आवश्यकता पूरा गरिरहेकै थियो। बिस्तारै सीमा पारसम्म खनेको सडक गाउँको किनमेल गर्ने नजिक बजारसम्म जोडिन आइपुग्यो। गाउँ सोझिंदै आइरहेको सडक र सिमानामा गुड्न थालेको फुच्चे रेलले पश्चिमा समाजबाट सर्दै आएको जीवनशैली, कृषि बाहेक आयआर्जन गर्ने थलो पनि चिनाउन थाल्यो। जुन गाउँमा भोगिरहेको जीवन र पाउने ज्याला भन्दा फरक, सजिलो, स्वादिलो धेरै आम्दानी कृषिको तुलनामा भरपर्दो थियो।
गाउँको अर्थ समाजसँग यो कसरी रह्यो त ?
गाउँ र मुख्य शहर ताक्दै अगाडि बढेको पूर्व–पश्चिम राजमार्गले व्यापार र आम्दानीको नयाँ समाज निर्माण गर्यो। निर्मित नयाँ समाज क्षेत्रीय नयाँ शहर बन्न थाल्यो। त्यो समाजले स्वास्थ्य, शिक्षा, रोजगार अनि गाउँको कृषि उपजको बजार पनि मिलाइदियो। गाउँको आम्दानीमा भरथेग गर्ने आधार बन्यो। विशेष गरेर त्यसरी बन्दै गरेको नयाँ शहरले गाउँलाई गाउँको कृषि उपजको बजार सृजना गरिदिएर, गाउँका मानिसलाई मौसमी र अन्य रोजगार दिलाइदिएर र गाउँबाट त्यहाँ नै गएर व्यापार गर्ने अवसर दिलाएर आर्थिक रूपान्तरणमा टेवा दियो। शहरबाट आउने अर्थतन्त्र र रेमिट्यान्सले गाउँलाई शहर जस्तै बसाइ, रहनसहनमा अभ्यस्त हुने बानी पार्दै लग्यो भने शहरको रेमिट्यान्समा बाँच्ने घरपरिवार बढ्दै गयो। यस परिवारमा कृषि खेती र खेती गर्ने जमीन कम भएको, कृषि उत्पादन कम हुने र परिवारको वार्षिक खाद्यान्न सुरक्षाको विकल्प गैर कृषि क्षेत्रको आयबाट गर्नुपर्ने र कृषि क्षेत्रबाट मिलेको बचत समयलाई थप आम्दानीको स्रोत निर्माण गर्न शहरी श्रममा आउने श्रमिक थिए। शहर के गाउँलाई रेमिट्यान्स, रोजगार, शिक्षा र स्वास्थ्य आदिले जोड्यो।
यो सम्बन्धले के फरक ल्यायो त ?
यसको सम्बन्ध सीधै गाउँको कृषि, कृषि श्रमिक र जमिन माथि पर्यो। यसले गाउँलाई उत्पादनमा अप्ठ्यारो पर्यो। कृषि जमीन फरक–फरक प्रयोजनका लागि उपयोग भए जुन आजसम्म पनि निरन्तर छ। पहिलो कृषि जमीन उद्योग, शहरी आवास निर्माण, सडक निर्माण, सेवा क्षेत्रका भवन निर्माणका लागि प्रयोग भयो।
दोस्रो विकासका लागि चाहिने पूर्वाधारहरु हवाई विमानस्थल निर्माण, जलविद्युत् आयोजना निर्माण, ठूला सडक निर्माण, व्यापारिक स्थल, सिंचाइ नहर जस्ता भौतिक पूर्वाधार बनाएर, तेस्रो जनसंख्या वृद्धिसँगै परिवार संख्यामा आएको वृद्धिका कारण घर, अन्य प्रयोजनका लागि भएको जमिनको उपयोग जस्ता कारण कृषि जमिनको क्षेत्रफलमा संकुचन ल्यायो। अर्कोतर्फ कृषि र गैर कृषि क्षेत्रको ज्याला र आम्दानी अन्तरले कृषि पेशा गर्ने कम भयो। जसले गर्दा गाउँको कृषि उत्पादन घट्दै गयो। यसका पछाडि जलवायु परिवर्तनको पनि प्रभाव रह्यो नै। साथै आधुनिक कृषिसँगै गरिब घरपरिवारले फाइदा उठाउने क्षमता राखेन।
फाइदाको क्षेत्र कृषि बन्न नसक्दा र व्यावसायिक क्षमता कृषिले गुमाउँदा कृषि पेशामा पुस्ता अन्तर आयो मतलब आजको एउटा परिवारको कृषि पेशा उसको नयाँ सन्तानको पेशा बन्न र बनाउन सकिएन। यसका पछाडि नेपालले अंगीकार गरेको शिक्षा प्रणाली, राज्यको नसुहाउँदो कृषि रणनीति र यसको आधारमा बन्दै आएको कृषि नीतिको कमजोरी, भौगोलिक परिस्थिति, विभिन्न राजनीतिक घटनाको सम्बन्ध, समाजले लिएको परिवर्तनको गतिसँग सामञ्जस्य मिलाउन नसक्ने परिस्थितिको कारण केही दशकअघिसम्म अर्थतन्त्रको आधार बनेको कृषि सिद्धिने तरखरमा पुगेको छ।
हाल गाउँको गाँस र बास जुटाइदिने आधार उही शहरको रेमिट्यान्स बनेको छ भने रोजगारी खोज्ने युवा देशको सिमाना पार गर्दै विश्व श्रम बजारमा छरिन पुगेको छ। यसले समग्र विकासकै लागि चाहिने श्रम शक्ति गुमाएको छ भने अर्कोतिर ग्रामीण जनसंख्यामा कमि हुन जाँदा गाउँको विकास नै रोकिने अवस्था छ। गाउँ कुनै पनि समय भोक र रोगले तड्पिएर मर्नेवाला बनिरहेको छ।
त्यसो भए के गर्ने त ?
गाउँ र शहर एकअर्काका परिपूरक हुन्। गाउँको अर्थतन्त्र शहरसँग जोडिएको हुन्छ। अर्थात् शहरको आम्दानी बढ्दा गाउँको अर्थतन्त्र चल्छ। गाउँको बचेखुचेको कृषिलाई जोगाउन सकिए शहरको जीवन केही हद सस्तो बन्छ। भने जति गाउँको विकास गर्न लगानी र श्रम चाहिन्छ। अहिले नेपालले यो गुमाएको छ र पनि गाउँलाई जोगाएर शहर धान्नु छ। यसको लागि शहरमा आय बढ्ने उपाय खोज्नुपर्यो। शहरमा आय बढेपछि बचत हुने गरी बजार मूल्य निरन्तरता गर्ने अर्थतन्त्रको अनुभव र उपाय लगाउनुपर्यो। त्यो बचतलाई गाउँसम्म गएर खर्चने ठाउँ गाउँमा बनाउनुपर्यो।
यसको लागि सस्तो पर्यटन र सुरक्षित कृषिलाई अपनाउनुपर्यो। त्यसको लागि पर्यटनलाई चाहिने मानव स्रोतको विकासमा लाग्नुपर्यो।
आवश्यक पूर्वाधार बनाउन सुरु गर्नुपर्यो। त्यसको लागि स्थानीय सरकारलाई जिम्मेवार बनाई तीनै तहको सरकारसँग सहकार्य गर्नुपर्यो भने कार्यान्वयनको गति तीव्र बनाउँदै पर्यटन विकास गर्न वित्तीय संस्थालाई पनि जिम्मेवार बनाउनुपर्यो। पर्यटनको अवधारणालाई भारत र चीनसँग पनि जोड्न बसन्त समयलाई पर्यटन आकर्षण गर्ने आधार बनाई सस्तो बनाउनुपर्यो। यसका लागि नीतिगत सुधार र रणनीतिमा व्यापक विचार पुर्याएर परिमार्जन र थप के गर्नुपर्छ गर्दै जानुपर्यो। ग्रामीण सडक सुरक्षित र समय किफायती बनाउनुपर्यो। गाउँको बसाइ लम्ब्याएर बसाइ सस्तो बनाउन पहल गर्नुपर्छ। समग्रमा ग्रामीण पर्यटनलाई विकास गरी देशको शहरी जनसंख्या र विदेशीलाई गाउँ घुम्न जान सक्ने बनाउँदै यसका लागि देशको प्रमुख शहरको आम्दानी बढ्ने वातावरण बनाउन आवश्यक छ।
अहिले सबै युवा गाउँ नै रित्तिने गरी रोजगारीका लागि देश छोडिरहँदा र यसबाट निम्तिने सक्ने देशकै अर्थतन्त्रको संकट गुजार्न पनि सहयोग गर्न सक्छ भने गाउँको अर्थतन्त्र सुधार्न पनि सहयोग गर्छ। साथै हाम्रो देशमा प्रत्येक वर्ष बढ्दै गइरहेको बुढ्यौली जनसंख्याको सामाजिक, आर्थिक र दैनिकी गुजार्नमा भरथेग गर्छ।
यसका लागि गाउँमा रहेको सबै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, परम्पराको उपयोग गर्दै यसको दिगो विकास र संरक्षणमा सजिलो हुन गई दिगो विकासको लक्ष्य र गाउँले जनताको जीविकोपार्जन र कृषिमा बढ्दै गएको महिलाकरण र यसले सृजना गरेको महिला माथिको बोझ र समस्यालाई पनि समाधान गर्न मद्दत मिल्न जाने देखिन्छ। त्यस कारण अहिले समस्या बनिरहेको कृषि क्षेत्रको विकास गर्न, गाउँको युवालाई गाउँमै अड्याउन र दिगो समाधानको उपाय निर्माण गर्न पक्कै पनि सजिलो र छिटो हुने देखिन्छ ।
प्रतिक्रिया 4