+
+

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा वर्षाको सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ९:३३
जुम्लामा परेको हिउँ । फोटो : रासस

१८ माघ, काठमाडौं । पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । काठमाडौंमा भने वर्षाको कम सम्भावना रहेको उनले सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिए अनुसार आगामी २४ घण्टा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने छ । सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

जुम्लामा हिमपात, किसान खुसी

राष्ट्रिय समाचार समिति (रासस)का अनुसार जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको समाचारमा उल्लेख छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले बताएकी छन् ।

माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने चिन्तामा किसानहरु थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?