+
+

काठमाडौं उपत्यकामा वर्षा, प्रदूषण घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते २०:४३

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको छ । यसले प्रदूषण कम गर्न सहयोग गरेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम हुन थालिसकेको बताए ।

उनले भने, ‘वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन् ।’

केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेकोमा यो समाचार तयार पार्दासम्म १५८ मा झरेको छ । मौसमविदले काठमाडौंमा पानी अझै केहीबेर पर्ने भएकाले प्रदूषण अझै घट्ने पनि बताएका छन् ।

अहिले गण्डकी प्रदेशमा विकसित भएको स्थानीय वायुको प्रणाली गोर्खा हुँदै काठमाडौं उपत्यकातिर सरिरहेको छ । गण्डकी, बागमती र कोशी भेगका पहाडी क्षेत्रतिर यसको प्रभाव रहने छ । त्यसले गर्दा केहीबेर अझै पानी पर्ने सम्भावना रहेको मौसमविद झाले बताए ।

‘फेरि अर्को प्रणाली पोखरातिरबाट गोर्खा हुँदै काठमाडौंतिर आइरहेको छ । यो काठमाडौंतिर आइपुग्दा अलिकति कमजोर त होला तर अझै केहीबेर पानी पर्ने सम्भावना छ,’ उनले भने । तराई मधेशका भागमा भने पानी नपरेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ । यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोलि र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् । महाशाखाले आज साँझ जारी गरेको बुलेटिनमा भोलि पनि कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?