 
																			१८ माघ, काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका पदम लामाले विमानस्थलबाट कटाउनुपर्ने युवाको सूची अध्यागमनका कर्मचारीलाई ह्वाट्स एपमार्फत पठाउने गरेको बयान दिएका छन् ।
सिनामंगलको निमा छिरिङ टुर एण्ड ट्राभल्सका कर्मचारी लामाले सञ्चालक मनोज तामाङले भनेअनुसार आफूले ह्वाट्स एपमा युवाको सूची पठाउने गरेको बयान दिएका हुन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष दिएको बयानमा उनले भनेका छन्, ‘भिजिट भिसामा युवालाई पठाउनु परे मनोज तामाङले नरवीर खड्कालाई भन्ने गर्थे, त्यसपछि उनले भने अनुसार मैले नरवीर खड्कालाई भन्ने गर्थें ।’
ह्वाट्स एपमार्फत कुराकानी गरेर आफूले विदेश जान लागेका मानिसहरुको सूची पठाउने गरेको उनले भनेका छन् ।
‘नरवीर र मनोज पुरानो चिनजानको साथी भएकाले उनीहरुबीच के कुन समझदारीमा कति रकम लिएर नक्कली कागजातबाट भिजिट भिसामा पठाउने गर्थे, त्यसबारे थाहा भएन’, उनले भने, ‘मैले मनोज तामाङले भने बमोजिम रकम लगेर एयरपोर्ट नजिक रहेको होटल बाल्टिक इनको काउन्टरमा छाड्ने गर्थें ।’
२६ कात्तिक २०८० मा बिहान आफूलाई ट्राभल एजेन्सीका सञ्चालक मनोजले एक÷एक लाखको दुई वटा गड्डी दिएर काउन्टरमा छाडिदिनु भनेको उनले भनेका छन् । त्यो रकम लिन जाँदा उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको थियो ।
त्यसपछि ह्वाट्स एपमा विदेश जाने युवाहरुको सूची फेला परेको थियो । उनीहरुमध्ये अधिकांश खड्का पक्राउ पर्नु केहीदिन अगाडि विदेश गएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौं गरेको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल काठमाडौंले शुक्रबार २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूर गरेको अभियोग लगाइएको छ ।
प्रतिवादी बनाइएकामध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरु हुन् । कर्मचारीमध्ये नरवीर मात्र पक्राउ परेका छन्, अरु सबै फरार छन्।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4