+
+
क्रिकेट :

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १६:१०

२० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।

पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले ।

जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल अन्त्य गरेका थिए । आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे ।

पुलिसले ओपनर दीलिप नाथलाई ७ र कुशल भुर्तेललाई १४ रनमै गुमाएको थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र अमित श्रेष्ठले ५९ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । अमित ५१ बलमा २ चौकासहित २८ रनमा आउट भए ।

अमितको ८ रनमा विवेक यादवले क्याच छाडेका थिए । अर्जुन ५८ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भएको थियो । आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए । जितेन्द्र ११ बलमा २ रनमा नट आउट रहे ।

स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्यक्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । चोभार एन्डबाट आएका स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखेका थिए । पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे ।

भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो । दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए । करण केसीको बलमा उनी क्याच आउट भएका थिए ।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए । उनी सागर ढकालको बलमा एलबीडब्लू आउट भएका थिए । बसिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर अजुन साउदबाट १ रनमा क्याच आउट भएपछि आर्मी २०.४ ओभरमा ६०–६ को अवस्थामा पुगेको थियो ।

ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए । उनले ६६ बलमा १ चौका र १ छक्का हाने ।

पुलिसका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।

प्रधानमन्त्री कपको उपाधि पुलिसले तेस्रो पटक जितेको हो । यसअघि सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो  र २०१९ मा उपाधि जितेको थियो ।

पुलिस लिग चरणमा सबै ९ खेलमा विजयी भएको थियो । आर्मीले भने प्रधानमन्त्री कपमा लगातार छैटौं पटक फाइनल खेलेको हो । आर्मीले २०१७ मा पुलिससँग बाँडेको थियो । २०२१ मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?