+
+

झडप भएपछि एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ९:३६

२१ माघ, काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन बन्द सत्र सुरु हुनुअगावै स्थगित भएको छ ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन् ।

अध्यक्ष ढुंगेलका अनुसार अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्‍य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो,’ अध्यक्ष ढुंगेलले भनेका छन्, ‘पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो ।’

उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकां‌क्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् ।

अधिवेशन अध्यक्ष मण्डका अध्यक्ष धर्मदत्त देवकोटाले भने  स्थगित नभएकाे बताएका छन् । केहीबेरमा बन्दसत्र सुरु हुने उनले बताए  ।

आफ्ना गुटका व्यक्तिले चुनाव हार्ने देखेपछि प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर अधिवेशन स्थगित गरेको आरोप अर्को पक्षको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?